म्याग्दीमा ट्रयाक खुलेको १२ वर्षमा पनि सञ्चालनमा आएन सडक

पोखरा न्यूज । म्याग्दीको  बेनी नगर कार्यपालिकादेखि वडा नं २ भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्रयाक खुलेको १२ वर्ष बितिसक्दा अझै सञ्चालनमा आउन सकेको छैन । स्तरोन्नति हुन नसक्दा सो सडकखण्ड उपयोगविहीन बन्दै गएको हो ।

विसं २०६६ मा ट्र्याक खुलेको साढे ७ किमी दूरीको सो सडक खण्ड मर्मतका लागि अहिलेसम्म लाखौँ रुपैयाँ खर्च भइसकेको जनाइएको छ । सडकमा यातायातका साधन सञ्चालन हुन नसकेपछि मर्मतका नाममा खर्च भएको लाखौँ रकम बालुवामा पानी हाले जस्तै भएको स्थानीयवासीको गुनासोे छ ।

सो सडकको ट्र्याक खुलेदेखि अहिलेसम्म ट्र्याक्टर, साना जीप र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । साना सवारी साधन पनि वर्षका चार महिना मात्र मुस्किलले सञ्चालन हुने गरेका स्थानीयले बताएका छन् । सडकमा मोटरसाइकलसम्म गुड्ने बनाउनका लागि स्थानीय प्रतिभा युवा क्लबमा आबद्ध पदाधिकारी र स्थानीयवासीले श्रमदान गरेर ढुङ्गा, गेगर पन्छाउने गरे पनि पानी पर्दाबित्तिकै सडकको अवस्था कामै नलाग्ने हुने गरेको प्रतिभा युवा क्लब ज्यामरुककोटका सल्लाहकार याम कार्कीले जानकारी दिनुभयो ।

सडकखण्डको कन्थराजथान क्षेत्र र रोहोटे क्षेत्रमा पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेटसक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाको भनाइ छ ।

“नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो, बाटोको स्थायित्व भएन”, स्थानीयवासी दिलबहादुर कार्कीले भन्नुभयो ।

उहाँका अनुसार बेनीदेखि भकुण्डेसम्म जानका लागि सल्लेनधारासम्म चार बाटा बनाइएको भए काम लाग्ने अवस्थामा छैनन् । बेनी–ठूलोगैरा–रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदासमेत बाटो बिगँ्रने गरेको छ । विसं २०६७ सालयता बेनी भकुण्डे सडकमा करिब ८० लाखको हाराहारीमा बजेट खर्च भइसकेको छ । बजेट त सकियो तर सडकको अवस्था भने ज्यूँकात्यूँ रहनुले स्थानीय सरोकारवालासँग यो सडकको अवस्था कहिले सुध्रन्छ भनेर प्रश्न गरिरहेका छन् ।

गत आर्थिक वर्षमा बेनी–वौर–ठूलोगैरा–खबरा (बिरायचौर)–भकुण्डे सडक उपभोक्ता समिति, बाङ्गघरा–पीपलडाँडा–भीरकुना–भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा–खबरा–भकुण्डे सडक उपभोक्ता समितिको गरी कूल २६ लाख ५० हजार रुपैयाँ खर्च गरी मर्मत गरिएको बेनी–खबरा–भकुण्डे सडकमा पनि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सामान्य पानीपर्दा पनि सडक पानीले बगाउने गरेको छ ।

“कुखुरालाई चारो हाले जस्तो गरी वर्षैपिच्छे थोरै थोरै मात्र बजेट आउने र सो बजेटले सडक मर्मतको थोरै पनि काम नहुने समस्याले गर्दा पनि सडक सवार चल्न लाएका बन्न नसकेको हो । ” बेनपा– २ भकुण्डेका समाजसेवी भीमबहादुर पौडेल भन्नुभयो ।

बेनी – २ ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वनक्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि वर्षामा काम लाग्ने अवस्थामा नरहने बताउनुभयो ।

सडकको स्तरोन्नतिका लागि ठूलै बजेटको आवश्यकपर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button