डेढ महिनासम्म हाकिमको बेवास्ता र धम्की, समाचार लगतै ५० केभिएको ट्रान्सफर्मर 

६ वर्षसम्म नपाएको पूर्ण क्षमताको ट्रान्सफर्मर पाएको भन्दै उपभोक्ता हर्षित

पोखरा न्यूज । स्याङ्जाको फेदीखोला स्थित सेती दोभान बिद्युत् उत्पादन तथा वितरण सहकारी (सामुदायिक) अन्तर्गतको ट्रान्सफर्मर जलेको डेढ महिनापछि फेरिएको छ ।

ट्रान्सफर्मर जलेको डेढ महिना बित्दा पनि ट्रान्सफर्मर फेर्न र बनाउन सक्दिन भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्ने गरेका नेपाल विद्युत् प्राधिकरण, स्याङ्जा वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले सोमबार र मंगलबार पोखरा न्यूजले लगातार समाचार सामाग्री प्रकाशन गरेसँगै बुधबार ट्रान्सफर्मर उपलब्ध गराएका हुन् ।

उक्त सामुदायिक संस्थाका सचिव महेन्द्रप्रसाद ढकालले जेठको अन्तिम सातामा ट्रान्सफर्मर जलेपछि पटक पटक प्राधिकरण धाउने र  निवेदन दिने गरेको भए पनि समाचार प्रकाशन हुनासाथ बुधबार प्राधिकरणले ५०  केभिएको ट्रान्सफर्मर उपलब्ध गराएको बताउनुभयो ।

‘हाम्रोमा शुरुमा ५०  केभिएको ट्रान्सफर्मर थियो, पछि उपलब्ध गराउने सर्तमा प्राधिकरणले चलिरहेको ५०  केभिएको ट्रान्सफर्मर लगेर २५ केभिए क्षमताको ट्रान्सफर्मर हालेको थियो’, सचिव ढकालले भन्नुभयो त्यसपछि २५ केभिए क्षमताका ट्रान्सफर्मर जल्ने क्रम शुरु भयो, अहिले बल्ल लामो समयपछि ५०  केभिए कै ट्रान्सफर्मर हामीले पाएका छौँ ।’

प्राधिकरणले ६ वर्ष भन्दा बढी समयपछि सामुदायिकलाई ५०  केभिएको ट्रान्सफर्मर उपलब्ध गराएको सामुदायिकका पूर्व कर्मचारी समेत रहनुभएका उपभोक्ता डिल्लीराम पौडेलले बताउनुभयो । ‘प्राधिकरणले चलिरहेको ५०  केभिएको ट्रान्सफर्मर झिकेर २५ को हाल्दा वर्षेनी फेदीखोला गाउँपालिका १, ३ र ४ का एक सय बढी घर परिवारले  दुःख पाएका थिए’ पौडेलले भन्नुभयो ‘६ वर्षपछि ५० केभिए कै ट्रान्सफर्मर पाएका छौँ , राहतको महशुस भएको छ ।’

बुधबार साँझ प्राप्त भएको ट्रान्सफर्मर ठुलो पानी परेपछि उपभोक्ता र कर्मचारीको सहयोगमा बिहीबार बिहानै जडान गरिएको उहाँले बताउनुभयो ।

बिहीबार ट्रान्सफर्मर फेरिएसँगै  बिजुली बाल्न, बालबच्चाहरूले अनलाइन पढ्न  देखि तथा कुटानी पिसानीका कार्यहरू सञ्चालन गर्न सहज भएको  अर्का उपभोक्ता रामचन्द्र पौडेलले बताउनुभयो । ‘हामी जाने क्रममा हाकिमले ट्रान्सफर्मर बनाइदिन्न भनेर धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको थियो’, पौडेलले भन्नुभयो, हामीलाई हेटौडामा ट्रान्सफर्मर बन्छ भनेर पनि महिनौँ सम्म ढाँटियो तर समाचार प्रकाशन भएपछि पोखराको औद्योगिक क्षेत्रबाट दुई दिनमै  ट्रान्सफर्मर आयो, यो उपभोक्तालाई हेप्ने प्रवृत्ति हो’।

हाकिमले आफूहरूलाई मान्छेको व्यवहार नै नगरेको भन्दै पौडेलले  समाचार आएपछि ट्रान्सफर्मर जडान भएर न्याय पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

सोमबार सामुदायिकका प्रतिनिधि र उपभोक्ताहरू सहित पोखरा न्यूजको टोली प्राधिकरणको कार्यालयमा पुगेर मरासिनीलाई घटनाबारे सोध्दा कार्यशैली उस्तै भेटिएपछि पोखरा न्यूजले तत्काल भिडियो सामाग्री प्रस्तुत गरेको थियो भने ट्रान्सफर्मर दिन्न भन्दै प्राधिकरण स्याङ्जा प्रमुख मरासिनीको धम्की, डेढ महिनादेखि उपभोक्ता मारमा शीर्षकमा समाचार समेत प्रकाशन गरेको थियो ।

सम्बन्धित न्यूज

Back to top button