कोरोनाबाट एक बालिकासहित पोखरामा उपचाररत थप ८ जनाको मृत्यु

पोखरामा होम आइसोलेसनमा बसेका एकसहित गण्डकीमा थप १० जनाले ज्यान गुमाए

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण  पछिल्लो २४ घण्टामा पोखरामा थप ९ जनाको ज्यान गएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  पोखराका विभिन्न अस्पतालमा उपचाररत आठ जना र  होम आइसोलेसनमा रहेका एक जना गरी नौ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक १६ वर्षीया बालिकासमेत रहेकी छन् ।  कोरोना संक्रमण पुष्टि भई पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत स्याङ्जा पुतलीबजार २ की १६ वर्षीया बालिकाको उपचारकै क्रममा आज शनिबार मृत्यु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार उहाँमा हिजो शुक्रबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भइ पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गोरखा भीमसेनथापा गाउँपालिका – ८ का ७२ वर्षीय पुरुष र बागलुङ नगरपालिका १२ की ६४ वर्षीय संक्रमित महिलाको शुक्रबार तथा पोखरा – १० का ९० वर्षीय पुरुष र  पोखरा -१६ का ४८ वर्षीय पुरुषको शनिबार उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले उल्लेख गरेको छ ।

त्यस्तै मणिपाल अस्पतालमा उपचाररत पोखरा -२८ का ६० वर्षीय संक्रमित पुरुष र सरुवा तथा संक्रामक रोग अस्पतालमा उपचाररत पोखरा – ५ का ९२ वर्षीय पुरुषको शुक्रबार  उपचार कै क्रममा निधन भएको छ । कोरोना संक्रमित म्याग्दी, बेनी – ३ की ८२ वर्षीया महिलाको मेडिप्लस अस्पताल पोखरामा उपचारकै क्रममा शनिबार मृत्यु भएको छ ।

साउन २६ गते कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका पोखरा १७ का ६० वर्षीय पुरुषको शुक्रबार आइसोलेसन मै मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी  नवलपुर देवचुली १० की ५० वर्षीय कोरोना संक्रमित महिलाको २८ गते पुरानो मेडिकल कलेज चितवनमा उपचार कै क्रममा मृत्यु भएको निर्देशनालय ले आज पुष्टि गरेको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १८० पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button