सिनेमा हलका लागि संकटकालिन समय शुरुः घनश्याम लामिछाने

अबको बजार डिजिटल नै हुने दावी

राजाराम पौडेल । निर्देशक घनश्याम लामिछानेले अबको फिल्म बजार डिजिटल नै हुने दावी गर्नु भएको छ । पोखरा न्यूजसँग कुरा गर्दै निर्देशक लामिछानेले हलमा चल्ने फिल्मको बजार झण्डै ८० प्रतिशतले घटिसकेको बताउनुभयो ।

‘कोराना कहरका कारण नेपाली फिल्म क्षेत्रमा अतुलनीय प्रभाव परेको छ जस्का कारण सायद पहिलाको स्थितिमा नेपाली सिनेमाको बजार आउन अर्को ५ देखि १० बर्ष लाग्ने देखियो । अहिलेको अवस्थाले हलमा चल्ने सिनेमाको बजार ७०–८० प्रतिशतले घटिनै सक्यो’ उहाँले भन्नुभयो ।

कोरोना कहर मत्थर भएर हलमा फिल्म चलाउने अवस्था सिर्जना हुँदा समेत दर्शकको संख्या हलमा कम हुन सक्ने उहाँको चिन्ता छ । ‘अबका नयाँ पुस्तालाई हलमा ल्याउन फेरि अर्को फट्को नै मार्नुपर्ने देख्छु’ लामिछानेले भन्नुभयो ।

अहिलेको पुस्ताको आर्कषण डिजिटल प्रविधिमा भएको कारण अबको बजार डिजिटलनै हुने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ–‘अबको बजार डिजिटल नै हो । सिनेमा निर्माणका लागि भन्दा पनि सिनेमा हलका लागि चाहिँ अब साच्चैकै संकटकालिन समय शुरु भयो भन्ने लाग्दछ ।’

लामिछानेको कला क्षेत्रमा आगमन भने नाट्य क्षेत्रबाट भएको हो । २०५१ सालमा ‘मूर्ख मान्छेको’ नाटकबाट कलाकारिता क्षेत्रसँग सामिप्यता विधिवत रुपमा सुरु भएको थियो । उहाँ फिल्म निर्देशन पेशामा बिगत दुई दशकदेखि सक्रिय हुनुहुन्छ । लामिछानेले २०५७ सालमा पोखराबाट ‘प्रेम मिलन’ फिल्मको लेखन निर्देशन गरी नेपाली फिल्मी क्षेत्रमा आफ्नो अस्तित्व खोज्न संघर्ष सुरु गर्नुभएको थियो ।

उहाँले २०५८ सालमा ‘प्रेम पागल’ फिल्मको लेखन निर्देशन गर्नुभयो । २०५९ सालमा गुरुङ फिल्म ‘रोधी’ को पटकथा संवाद र निर्देशन गर्ने मौका पाउनुभयो । २०६० सालमा गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘च्यागी’ को निर्देशन गर्नुभयो भने ‘कर्मधी’ फिल्म लेख्नुभयो । उहाँले निर्देशन गरेका नेपाली फिल्म धौली, पन्चेबाजा र अग्निदहन दर्शकले रुचाए । यसका अलावा वृत्तचित्र, म्युजिक भिडियो तथा टेलि सिरियलको उहाँले निर्देशन गर्नुभयो । आफ्नो रचनामा केही गीत दर्शक श्रोतामाझ पीसकसक्नुभएका लामिछानेले गीतकारको परिचय समेत बनाउनु भएको छ ।

आफू यतिबेला नयाँ प्रोजेक्टको तयारीमा जुटेको उहाँले पोखरा न्यूजसँग बताउनुभयो । पोखराबाटै नयाँ र पुराना कलाकार राखेर एउटा सिरियल गर्ने तयारीमा जुटेको उहाँको भनाई छ । ‘एउटा नयाँ टिमका साथ काम गर्ने तयारी भएको छ । जुनमा नितान्त प्रतिभाशाली ब्यक्तिहरुलाइ समेटिएको हुनेछ’ लामिछानेले भन्नुभयो । श्याम शुक्ला फिल्म प्रोडक्सनले निर्माण गरेपनि निर्देशन भने आफ्नो नहुने उहाँले जानकारी दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button