फिल्मको खास पहिचान गीतमा हुन्छः गीतकार सुमन श्रापित

राजाराम पौडेल । गीतकार सुमन श्रापित फिल्मको खास पहिचान गीतमा हुने बताउनुहुन्छ । विगतमा सरदर ४, ५ वटा गीत एउटा फिल्ममा समावेश गर्ने गरिएको भएपनि अहिले फिल्ममा राख्ने गीतको संख्या घटेको उहाँको भनाई छ ।

पछिल्लो समयमा नयाँ–नयाँ प्रयोगमा नेपाली फिल्म निर्माण गर्न खोज्नुलाई उहाँ सुखद पक्ष मान्नुहुन्छ । पोखरा न्यूजसँग कुरा गर्दै गीतकार श्रापितले गीत संगीतको उन्नयनका र संगीतकर्मीको रोजिरोटीका हिसाबले पनि फिल्ममा गीत समावेश गर्नुपर्ने तर्क हुनुहुन्छ ।

नयाँ प्रयोगमा फिल्म बन्न थाले

पहिले फिल्महरु फरम्याट र फर्मुलामा बन्ने गर्थे । जस्तो फिल्म तीन घण्टा भन्दा लामो हुनु पर्ने, ४, ५ ठाउँमा फाइट राख्नै पर्ने, ४, ५ वटा गीत हुनै पर्ने, लभ अनि ट्राजिटी हुनु पर्ने आदि आदि । तर अचेल फिल्म न बिषयबस्तुका हिसाबले न कुनै फरम्याट र फरमुलाका हिसाबले बन्छन् । बरु नयाँ नयाँ प्रयोगमा फिल्म बन्न थालेका छन् । यो बढो सुखद कुरा हो ।

नेपाली फिल्ममा गीत समावेशको कुरा हेर्नुपर्दा पहिले कम्तिमा पनि ४, ५ वटा हुनै पर्छ भन्ने थियो । अझै गीतिनाटकहरुमा त झन गीतै गीतबाट कथा बोलिन्थ्यो । तर अहिले कथा, पात्र, बिषय हेरिकन १, २ वा २, ३ गीत राख्ने गरिन्छ ।

हिजोका फिल्महरु हेर्दा छुट्टै आनन्द र रौनकता प्राप्त हुन्थ्यो

फरम्याट र फर्मुलामा बनेता पनि आजभोलिका फिल्महरुको तुलनामा हिजोका फिल्महरु हेर्दा छुट्टै आनन्द र रौनकता प्राप्त हुन्थ्यो । त्यो रौनकता दिने मुख्य चीज भनेको गीत नै हो । गीत, संगीत जन्म, जीवन र मृत्यु हरेकपलमा उत्तिकै महत्वपूर्ण छ । सुख, दुःख, मिलन, बिछोड, हर्दम गीत सहारा बन्छ । यस्तो महत्वपूर्ण भूमिका रहेको गीत संगीतको फिल्ममा पनि निकै महत्व हुन्छ ।

जस्तो मानिसको पहिचान उस्को देशको नागरिकता हो । मानिसको शरीरको पहिचान उसको अनुहार हो भने फिल्मको पहिचान गीत हो । तसर्थ फिल्मको पहिचानको लागि भएपनि फिल्ममा गीत हुनै पर्छ । हामीले जिन्दगीमा थुप्रै फिल्महरु हे¥यौ । हेरेका फिल्मका नाम बिर्सेका हुन्छौ तर गीत सम्झेका हुन्छौ ।

फिल्मको पहिचान एउटा कुरा भयो अर्को गीत संगीतको उन्नयनका र संगीतकर्मीको रोजिरोटीका हिसाबले पनि फिल्ममा गीत समावेश हुनु पर्छ । भलै पहिले जस्तै संख्यामा यति हुनै पर्ने भन्ने चाहिँ होइन ।

हामीकहाँ त बरु लोक, आधुनिक विभिन्न खाले गीतहरु हिजो एल्बम सिडीहरुमा आउथे र अचेल फुटकररुप आउछन् । तर बलिउडमा गीत प्रायः आउने भनेको फिल्मद्वारा नै हो । यसबाट पनि बुझ्न सकिन्छ कि फिल्ममा गीतको समावेश अपरिहार्य र महत्वपूर्ण छ ।

सम्भावना बोकेको गीतकार

त्यसोत गीतकार श्रापितले नेपाली सांगीतिक फाँटमा सम्भावना बोकेको गीतकारको रुपमा आफूलाई उभ्याउन सफल हुनुभएको छ । उहाँले रचना गरेका गीतमा उदित नारायण झा, विवि अनुरागी, प्रशान्त तामाङ, दिपा झा, रामकृष्ण ढकाल, हेमन्त शर्मा, अञ्जु पन्त, देवीका बन्दना, स्वरुपराज आचार्य, राजु परियार, सुनिता दुलाल, माण्डवी त्रिपाठी, मिलन अमात्य, अन्जना गुरुङ, मेलिना राई आदी कलाकारले आवाज भरेर जिवन्तता दिइसक्नुभएको छ ।

सबै विधाका गीत रचना गर्नसक्ने खुबी श्रापितमा छ । उहाँको पोखरामा एकल साँझ समेत सम्पन्न भइसकेको छ । पत्रकारिता र साहित्य क्षेत्रमा समेत उहाँको उतिकै रुचि छ । उहाँले गीत रचना मात्रै नभएर आवाज समेत भर्नुभएको छ ।

उहाँका रेकर्डेड गीत मध्ये मिलन अमात्यले गाउनु भएको ‘जसलाई मुटुको अंश’, उदित नारायण झा, दिपा नारायण झा, अन्जु पन्त र प्रशान्त तामाङले गाउनु भएको फिल्म परदेशीको ‘सिरिमा सिरी बतासै चल्यो’, त्यसै गरि स्वरूपराज आचार्यले गाउनु भएको ‘मेरो धड्कन तिमी’ फिल्म जीवनलीलाको ‘कहिले ओराली झर्छ जिन्दगी’, फिल्म निशानीको झ्याउरे गीत ‘सोल्टी ज्यू’ र ‘अच्छा लेकिन क्या बात’ डासिन्ङ गीत ‘दिलराजा दिलरानी’, ‘यसपालीको तीज कत्ती रमाइलो’, ‘तारे भीर बुकी फुल्यो’, ‘मायाको फुर्लुङ’, ‘बदनाम गरेर’ आदि चर्चित बनेका छन् ।

निरन्तर गीत संगीत सिर्जनामान लाग्ने प्रण

शुरु–शुरुमा गीतसंगीतमा रुचि भएपनि उहाँले पेशा पत्रकारिता बनाउनुभयो । पछि अन्य व्यापार व्यवसायमा समेत उहाँले हात हाल्नुभयो । तर व्यापार ब्यवसाय गर्दा गीत संगीतको पाटो ओझेल पर्न थालेको उहाँलाई महशुस भयो । अनि गीत संगीतलाई छोड्न नसकेपछि व्यापार ब्व्बसायलाई ओझेल पार्नुभयो । अहिले पूर्ण रूपले गीत संगीत सिर्जना र सांगीतिक गतिबिधिमै उहाँ लागिरहनु भएको छ ।

उहाँले हालसम्म झण्डै १६ सयको हाराहारीमा गीत लेख्नुभयो । उहाँले रचना गरेका गीत मध्ये दुई सय को हाराहारीमा गीत रेकर्ड भएका छन् । निरन्तर गीत संगीत सिर्जनामानै लाग्ने प्रण उहाँ गनुृहुन्छ । भारतको सिलोङमा जन्मनुभएका गीतकार श्रापितको स्थायि ठेगाना बाग्लुङ नगरपालिका–९, तित्याङ हो । हाल पोखरा १८ मा बस्नुहुन्छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button