
पोखरा न्यूज । कास्की प्रहरीले बिरामीलाई उपचार गर्ने बहानामा पोखरामा चन्दा उठाउने तिन जनालाई पक्राउ गरेको छ ।
मृगौला पीडितलाई उपचार गर्ने बहानामा पोखरामा चन्दा उठाउने झापा बिर्तामोड- ०९ पश्चिम स्ट्यान्ड कि ३४ वर्षीया एलिजा बस्नेत, हल्दिबारी -०१ का ४४ वर्षीय धन बहादुर सेन्चुरी र बिर्तामोड -०१ पश्चिम स्ट्यान्ड का ३२ वर्षीय टेक बहादुर बस्नेत पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।
उनीहरूलाई गोप्य सूचनाका आधारमा पोखरा २६ विजयपुर स्थित न्यु हाई वे स्टाफ होटल एण्ड लजबाट बिहीबार नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
पाल्पाको माथगढी गाउँपालिका ४ का मृगौला पीडित ३५ वर्षीय चूडा बहादुर रुचालको उपचारका नाममा युनिक स्वयम् सेवक नेपाल,धरान सुनसरी नामको संस्थाबाट रसिद छपाई पोखरामा चन्दा उठाउँदै गरेका छन् भन्ने सूचनाका आधारमा उक्त संस्थाकी अध्यक्ष एलिजा तथा दुई सदस्य धन बहादुर र टेक बहादुरलाई नियन्त्रणमा लिइएको डिएसपी हमालले बताउनुभयो ।
डिएसपी हमालका अनुसार प्रहरीले उनीहरुको साथबाट चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा र चार लाख छ हजार ४०६ रुपैयाँ बरामद गरेको हो ।
पक्राउ परेका उनीहरूले समूह बनाई १० वटा अटो ट्याम्पो भाडामा लिई १२ जना बिरामीको नाममा कास्की, तनहुँ, स्याङ्जा, चितवन, दैलेख, सुनसरी, रुपन्देही, नवलपरासी, पाल्पा लगायतका जिल्लाहरूबाट बिना अनुमति चन्दा संकलन गर्ने गरेको हमालले उल्लेख गर्नुभयो ।
उनीहरू विरुद्ध चन्दा ऐन -२०३० अन्तर्गत कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





