पोखराको सेदीमा १५ करोड लगानीमा ४०० सटरयुक्त ‘वाईयूके सुपरमार्केट’ निर्माण हुँदै

सटर बुकिङ खुल्ला

पोखरा न्यूज । पोखराको सेदीमा १५ करोड लगानीमा ‘वाईयूके सुपरमार्केट’ सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका १८ स्थित सेदी बजार क्षेत्रमा १२ रोपनी जग्गामा युवा व्यवसायी युवराज खतिवडाले सुपरमार्केट सञ्चालनमा ल्याउन लाग्नु भएको हो ।

निर्माणाधीन अन्नपूर्ण केबलकारको नजिकै पर्ने उक्त स्थान २० वर्षका लागि भाडामा लिएर सुपरमार्केट सञ्चालनमा ल्याउन खतिवडाले बताउनुभयो । तीन तला युक्त चार वटा बिल्डिङमा ४०० सटर तयार हुने र ती सटर १०० जना व्यवसायीलाई भाडामा प्रदान गरिने उहाँले बताउनुभयो ।

केबलकारमा पुग्ने पर्यटक तथा लेकसाइडको खपौदी, सेदी, चंखपुर, पामेसम्म पुग्ने पर्यटकलाई लक्षित गर्दै रातमा बास बस्ने १०० कोठाको अत्याधुनिक गेष्ट हाउसदेखि दोहोरी साँझ, नाइट क्लब, रेष्टुरेन्ट लगायत सम्पूर्ण प्रकारका पसल तथा सेवा व्यवसायलाई समेट्ने गरेर सबै सामान एकै ठाउँमा पाउने गरी सुपरमार्केट तयार हुने खतिवडाको भनाई छ ।

मार्केटमा सबै एक/ एक थरीका मात्र पसल तथा सेवा व्यवसाय रहने र एउटा व्यवसाय अर्कोसँग नजुध्ने गरेर मात्र भाडामा प्रदान गरिने उहाँले बताउनुभयो ।

मार्केटभित्र ज्येष्ठ नागरिक कक्ष, बाल उद्यान, पुल एण्ड गेम हाउस, जिम हल, रनिङ ट्र्याक, क्लिनिक र फार्मेसी, स्पा, इञ्जिनियरिङ कन्सल्टेन्सी, ट्राभल एजेन्सी, सहकारी समेत हुनेछन् ।

त्यसै गरी फ्रेस हाउस, तरकारी, डिपार्टमेन्टल स्टोर्स, किराना पसल, फेन्सी, भाडा पसल, ब्युटिपार्लर, वाइन सप, सुन पसल, थान्का, फर्निचर शो रुम, होम डेकोर, इलेकट्रोनिक तथा इलेकट्रिकल आइटम, मोटर पार्टस तथा मेसिनरी पसल जस्ता नुनदेखि सुनसम्मका सेवा व्यवसाय रहने सञ्चालक खतिवडाले उल्लेख गर्नुभयो ।

‘हामीले सुलभ र सस्तो मूल्यमा सबै सेवा व्यवसाय र काम एक ठाम भन्ने उद्देश्यका साथ् नुन देखि सुन सम्मका बस्तु , स्वास्थ्य, खेलकुद, मनोरञ्जन र आराम सबैलाई समेट्दै यस क्षेत्रकै ठुलो सुपरमार्केट सञ्चालन गर्न लागेका हौँ’, खतिवडाले भन्नुभयो ।

स्वच्छ वातावरणमा बजारको प्रत्येक तलाबाट फेवातालको मनोरम दृश्य देख्न सकिने र मार्केटमा आउने सेवाग्राहीको सुविधाका लागि अगाडि र पछाडिको भागमा गरेर ५ रोपनी क्षेत्रफलमा फराकिलो पार्किङ क्षेत्र रहने उहाँले बताउनुभयो ।

खतिवडाले भन्नुभयो – ‘सेदी, खपौदी, पामे जस्ता क्षेत्रमा पुगेर रमाइलो गरी राति फर्कनेहरूलाई प्रहरीले चेकिङ गरी यता न उता बनाइदिने गरेको भन्ने गुनासोपछि त्यस्ता पर्यटकलाई शान्त वातावरणमा सस्तो मूल्यमा बास बस्न सहज होस् भनेर एक सय बेड क्षमताको आकर्षक अट्याच बाथरुमसहितको एक सय कोठाको गेष्ट हाउस हामीले बनाउन् लागेका हौँ ।ु

गेष्ट हाउस तयार भएदेखि ५ वर्ष सम्मलाई एक रातको पाँच सय रुपैयाँमा कोठा उपलब्ध गराइनेछ । त्यसपछि १० वर्षसम्म ७ सय ५०, त्यसपछि १५ वर्षसम्म १ हजार रुपैयाँ कायम गर्ने गरी योजना बनाइएको उहाँले उल्लेख गर्नुभयो ।

नयाँ बर्ष २०७९ को वैशाखमा मार्केट सञ्चालनमा ल्याउने लक्ष्यका साथ वाई यू के कन्स्ट्रक्सन एण्ड सप्लायर्समार्फत निर्माण कार्यलाई तीव्रता दिइएको खतिवडाले बताउनुभयो । बोरिङ मार्फत प्रशस्त पानी मार्केट हातामै तानिने र व्यवसायीलाई पानीको शुल्क नलाग्ने पनि उहाँले बताउनुभयो ।

इच्छुक व्यवसायीको अनुरोधका कारण मार्केटमा सटर बुकिङ खुल्ला गरिसकिएको र हालसम्म १० प्रतिशत सटर बुकिङ भइसकेको उहाँले जनाउनुभयो । खतिवडाले भन्नुभयो, ‘हामीले २०७८ सालभर भाडा नलाग्ने गरी सटर बुकिङ खुल्ला गरेका छौ, आफूले गर्ने व्यवसाय सम्बन्धी स्थान तयार भएपछि व्यवसाय सञ्चालन गर्न सकिनेछ।’ हाल केही व्यवसायीले डेकोरेसनको कार्य शुरु गरेको र केहीले सामान्य तवरले व्यवसाय शुरु गरेको समेत उहाँले बताउनुभयो ।

मार्केटमा ५ वटा सटर बराबरको २५ हजार भाडा कायम गरिएको र उक्त क्षेत्र बुक गर्दा ५ लाख डिपोजिट बुझाउनुपर्ने खतिवडाले उल्लेख गर्नुभयो । २५ हजारदेखि एक लाखसम्म भाडा तिर्ने गरी व्यवसायका लागि स्थान उपलब्ध गराइने र कोभिडका कारण वैदेशिक रोजगारी गुमाएर फर्केका युवायुवतीहरूका लागि बुकिङ र भाडामा २५ प्रतिशत छुट दिइने उहाँको भनाई छ ।

युवा व्यवसायी खतिवडाले पोखरामा मिनी मार्केट,सस्तो बजार’, सिद्धार्थ चोकको ‘फेवा एग्रिकल्चर प्रालि’ र पस्र्याङमा ‘वाईयूके मिनीमार्केट’ सफलतापूर्वक सञ्चालनमा ल्याइसक्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button