विश्वकै दुर्लभ रोग लागेका बालकको उपचारका लागि २३ लाख सङ्कलन

पोखरा न्यूज। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ निवासी नौ महिने बालक उस्मान अलीको उपचारका लागि रकम जुट्ने क्रम जारी रहेको छ । विश्वकै दुर्लभ रोगमध्येको एसएमए (मस्कुलर एट्रोफी) रोगबाट ग्रसित बालकको उपचारका लागि सहयोग रकम जुट्न थालेको हो ।

बालकको उपचारको लागि हालसम्म करिब रु २३ लाख सङ्कलन भइसकेको बालकका मामा अप्पु मियाँले जानकारी दिए । भान्जाको उपचारका लागि सबै क्षेत्रबाट सक्रिय भएर आर्थिक सङ्कलन कार्य भइरहेकाले नयाँ जीवन पाउने आशा पलाएको उनले बताए । उक्त रोगको उपचार नेपालमा नहुने र उपचारका लागि विदेश लैजानुपर्ने हुँदा खर्चिलो हुने बताइएको छ ।

यस रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने र यो औषधि विश्वकै महँगो पर्ने बताइएको छ । विश्व बजारमा यसको मूल्य अमेरिकी २.१ मिलियन डलर अर्थात् झण्डै रु २६ करोड पर्ने हुँदा यसको उपचार सामान्य नेपालीको पहुँचभन्दा बाहिर छ । जिल्लाका युवायुवती तथा देश विदेशमा रहेका नेपालीको सक्रियतामा उक्त रकम सङ्कलन भएको हो । जिल्लाको दुलेगौडा, खैरेनीटार, दमौली डुम्रेलगायतका स्थानमा घरदैलो गरी रकम सङ्कलन गर्ने कार्य भइरहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button