गाईजात्राको कोसेली ‘घुडै सिती’लाई दर्शकको सकारात्मक प्रतिक्रिया (भिडियो)

राजाराम पौडेल । हाँस्यकलाकार युवराज भण्डारीले यसपालीको गाईजात्रालाई लक्षित गरेर ‘घुडै सिती भाग पाँच’ सार्वजनिक गर्नुभएको छ । एक महिना अगाडि सार्वजनिक गरिएको यो गाईजात्रे कोसेलीप्रति दर्शकले सकारात्मक प्रतिक्रिया दिएको कलाकार भण्डारीले बताउनुभयो ।

‘हाम्रो गाईजात्राको कोसेली घुडै सितीलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिनुभएको छ, कोरोना महामारीको अवस्थामा स्वास्थ्य मापदण्ड पुरा गर्दै गाईजात्राको कोसेली तयार पार्न हामीलाई चुनौती थियो, अहिले दर्शकको साथले सन्तुष्टी मिलेको छ’ भण्डारीले भन्नुभयो ।

हरेक वर्ष गाईजात्राको अवसरमा हास्यँसामाग्री सार्वजनिक गर्दै आउनुभएका कलाकार भण्डारीले समसामयिक विषयवस्तुमा व्यङ्ग्य प्रहार गर्दै ‘घुडै सिती पाँच’ तयार पार्नुभएको हो । यसअगाडि सार्वजनिक घुडै सिती घुडै सिती, घुडै सिती २, घुडै सिती ३ र घुडै सिती ४ लाई दर्शकहरुले रुचाउनुभएको थियो ।

घुडै सिती पाँच गाईजात्रा कोसेलीको लागि स्क्रिप्ट नवराज भण्डारीले तयार पार्नु भएको हो । भण्डारी तथा अर्का हाँस्य कलाकार राजेन्द्र नेपालीको निर्देशनमा भिडियो तयार भएको छ ।
भिडियोमा युवराज भण्डारी, दीपक थापा, बुद्धि खनाल, शंकर कार्की मिङ मिङ, श्रृष्टि तिमिल्सिना, सुनिल मग्राती, शान्ती पुलामी मगर, पोखरली फिस्टे, हरिषचन्द्र तिमिल्सिना, विष्णुमाया पराजुलीको अभिनय हेर्न पाइन्छ ।

साथमा राजन कार्की, कृष्ण सुवेदी, अनिल थापा, श्रीराम अधिकारी, वर्षा भुगाई, लिला पौडेलको गायन तथा समर गायकले बजाएको सारङ्गीको धुनले गाईजात्राको कोसेलीलाई आर्कषक बनाउन सघाएको छ । यो कोसेली नमस्ते पोखरा बोर्डकास्टिङ स्टुडियो पोखरामा रेकर्ड भएको हो । झण्डै २८ मिनेटको यो गाईजात्राको कोसेली पोखरेली माग्नेबुढा धुर्मुस युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

त्यसोत कलाकार भण्डारीले पहिलोपटक दमन रुपाखेतीले तयार पार्नुभएको गाइजात्रे कोसेलीमा बाबुराम भट्टराईको क्यारिकेचर गर्नुभएको थियो । त्यसबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण उहाँले आफै गाइजात्राको अवसरमा सामाग्री तयार पारेर दर्शक श्रोतामाझ पुग्ने योजना बनाउनुभयो । फलस्वरुप हरेक वर्षको गाइजात्रामा उहाँले यसरी हास्यँ प्रस्तुति सार्वजनिक गर्ने गर्नुभएको छ ।

गतवर्ष सार्वजनिक गरिएको गाइजात्राको कोसेलीलाई ११ लाखको हाराहारीको दर्शकले युट्युब मार्फत हेरर सकारात्मक प्रतिक्रिया दिएको कारण आफ्नो चार्मलाई जोगाउन उहाँलाई चुनौती थपिएको छ । सोही कारण धेरै मेहनत गरेर पाँचौ संस्करणको गाइजात्राको कोसेली ‘घुडैसिती २०७८’ लाई उत्कृष्ट बनाइएको उहाँको दावी छ ।

यसपालीको गाईजात्राको कोसेली मार्फत समेत देशमा वर्षभरि देखिएको विकृति विसंगतिलाई समेट्ने प्रयास गरेको पोखरा न्यूजलाई बताउनुभयो । ‘राजनीतिसँगै देशमा वर्षभरिमा देखिएका विभिन्न विकृति, विसंगति प्रति आर्कषक ढंगले प्रहसन र गीत मार्फत व्यंग प्रहार गर्ने प्रयास गरेको छु’ उहाँले भन्नुभयो । भिडियोमा भण्डारीले केटीको अभिनय गर्दै गाइजात्रा भट्याउनु भएको देख्न पाइन्छ ।

कास्कीको भदौरेतामागीमा जन्मिनु भएका हाँस्यकलाकार भण्डारी बाल्यकालमा साह्रै चञ्चले स्वभावका हुनुहुन्थ्यो । त्यसैले उहाँलाई सबैले चतुरे भनेर बोलाउथे । यसरी बोलाएका उहाँलाई भने मन पर्दैनथ्यो । स्कूल पढ्दा सरहरुलाई समेत गिंज्याउँने र सरहरुकै जस्तै नक्कल गर्ने भण्डारीको बानी थियो । यसो गर्दा कैयाैंपटक पिटाइ खाएको उहाँले अझैसम्म भुल्नु भएको छैन । अहिले भण्डारीलाई धेरै दर्शकले पोखरेली माग्नेबुढाको नामबाट धेरै चिन्नुहुन्छ । उहाँले गरेको अभिनयलेनै यो परिचय दिलाएको हो ।

उहाँले मेरी गंगा फिल्मबाट फिल्ममा अभिनयको यात्रा सुरु गर्नुभयो । किडन्याप, पञ्चेबाजा, सेन्टीभाइरस, रामकहानी आदि फिल्म खेलिसक्नुभएका भण्डारीले आफैले समेत थुप्रै सर्ट फिल्म बनाइसक्नु भएको छ । केही फिल्ममा अभिनयको अफर यतिबेला समेत आएको छ ।
सिरियलमा समेत उतिकै व्यस्त हुनुहुन्छ । उहाँकै लेखन निर्देशन गडबडी सिरियल १ सय २० भाग पुगिसक्यो । एके ४७ सत्तरी भाग पुगेको छ ।

यसका अलावा मुन्द्रेको कमेडी क्ल्ब, मेरी बास्सै, कहिले होला लगायतमा काम गर्नुभयो । हुनत उहाँलाई रेडियो कार्यक्रम खिचडी र एके ४७ ले समेत हास्यव्यङ क्षेत्रमा आउन र चिनाउन महत्वपूर्ण भुमिका खेलेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखारामा आवद्ध उहाँले अर्का हाँस्यकलाकार राजेन्द्र नेपालीसँग निरन्तर १२ वर्षदेखि साथसाथै यात्रा गर्दै आउनुभएको छ । यो जोडीलाई समेत उतिकै दर्शकको साथ छ । निरन्तर कलाकारिता क्षेत्रमा लाग्ने योजना हाँस्य कलाकार भण्डारीको छ ।

यसपालि सार्वजनिक गरिएको गाइजात्राको कोसेलीलाई हेरेर प्रतिक्रिया दिन दर्शक समक्ष उहाँको आग्रह छ । कोरोना महामारीका कारण गाईजात्राको अवसरमा कार्यक्रम मार्फत दर्शक श्रोतालाई प्रत्यक्ष रुपमा उपस्थित भएर मनोरञ्जन प्रदान गर्ने कार्यक्रम भने कोरोना कारण यो वर्ष तय नभएको उहाँले बताउनुभयो । कोरोना महामारीको यो समयमा घरमानै बसेर गाईजात्राको भिडियो हेर्न दर्शकलाई उहाँको अनुरोध छ ।

भिडियो लिंकः

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button