तारानाथ आचार्यको मौलिक तीज गीत ‘नारी–२’ सार्वजनिक (भिडियो)

‘जन्मदिने बाबु आमालाई कहिल्यै हेला गर्नुहुन्न भन्ने गीतको सन्देश’

राजाराम पौडेल । नेपाली नारीहरुको महान् पर्व तीजलाई लक्षित गरेर सांगीतिक क्षेत्रमा स्थापित बनिसक्नुभएका श्रष्टा तारानाथ आचार्यले मौलिक तीज गीत ‘नारी–२’ दर्शक श्रोता माझ पस्कनु भएको छ । गीतमा आवाज गायिका जुना श्रीस मगरले भर्नु भएको छ ।

डिजिटल स्टार स्टुडियोमा रेकर्ड भएको गीतको शब्द, लय संकलन सहित एरेन्ज समेत जिम्मेवारी तारानाथ आचार्यले नै पूरा गर्नुभएको छ । गीतको मिक्सिङ खड्क बाजुराली स्टुडियो मालश्रीमा गर्नुभएको हो ।

गीत मार्फत छोराको खुशीको लागि बाबुआमाले गरेका सर्घषलाई देखाउन खोजिएको छ । आफ्ना रहरलाई मनमै राख्दै छोराको रहर पूरा गर्न दुःख गरेका बाबु आमालाई ठुलो भएपछि छोराले वेवास्ता गरेको प्रसंगलाई उठाइएको छ ।

भिडियोको निर्देशन श्रष्टा आचार्यले नै गर्नुभएको हो । भिडियो मार्फत गीतको भाव बुझाउन आचार्य सफल हुनु भएको छ ।

गीत तथा भिडियोको बारेमा श्रष्टा आचार्यले पोखरा न्युजसँग भन्नुहुन्छ ‘छोरो ठुलो बनाउने रहरमा बाबा आमाले बेलुका बिहान आफुले भरीपेट खाइ नखाइ हुर्काएका हुन्छन्। ऋण धन गरेर छोरालाई पढाउँछन् । ऊ ठुलो डाक्टर नै हुन्छ । तर, पछि बाबा आमालाई नचिनेको व्यवहार गरेर घरबाट बाहिर निकालिदिन्छ । ती बाबा आमा रुदै हार गुहार माग्दै सामुदायिक प्रहरी सेवा केन्द्र पुग्छन् । सामुदायिक प्रहरी सेवा केन्द्रबाट छोरालाई फोन गरेर बोलाइन्छ । तहाँ छोरालाई बाबु आमाको महत्व तथा उहाँहरुले गरेका दुःखको बारेमा बुझाइन्छ । अन्तिममा उसले रियलाइज गर्दछ । छोरामा बाबा आमा सर्वस्व हुन भन्ने अनुभूति गराउनु गीतको मुलभाव हो’ ।

भिडियोको छायाकंन प्रमोद गुरुङ, सम्पादन तथा रंग संयोजनको काम समिर रामदाम, मेकअप राजकुमार गुरुङ र प्रकाशको काम सन्दिप गुरुङले पूरा गर्नुभएको हो ।

भिडियोमा जीवन साहनी, माया गिरी, बुद्धि खनाल, सरगम पौडेल, प्राश्ना ठकुरी, लिला पौडेल, बलराम अधिकारी, शिव पौडेलको अभिनय हेर्न पाइन्छ । उहाँहरुको अभिनयले भिडियोलाई जीवन्तता प्रदान गर्न सघाएको छ ।

पोष्ट प्रोडक्सन डिजिटल स्टार पोखरामा गरिएको ‘नारी–२’ डिजिटल स्टार युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ । गीतले दर्शक श्रोताको सकारात्मक प्रतिक्रिया पाएकोमा निर्माण टिम उत्साहित बनेको छ ।

भिडियो हेरेर प्रतिक्रिया दिन श्रष्टा आचार्य सबैमाझ आग्रह गर्नुहुन्छ । समाजमा घटी रहने घटना उतार्न खोजेको उहाँको भनाई छ । गीतले जन्मदिने बाबु आमालाई कहिल्यै हेला गर्नुहुन्न भन्ने सन्देश दिन सघाउने आचार्यको विश्वास छ ।

त्यसोत श्रष्टा आचार्य नेपाली लोक संगीतको क्षेत्रमा बेग्लै पहिचान बनाएको व्यक्ति हुनुहुन्छ । २०३६ सालमा अमलाचौर– ६, बागलुङमा बुबा घनश्याम र आमा नन्दकला शर्माको कान्छो सन्तानको रुपमा जन्मिएका उहाँ बाल्यकालमा चञ्चले स्वभावको हुनुहुन्थ्यो । सानैदेखि लोक दोहोरी गीतप्रति रुचि राख्ने आचार्यको स्कूल तथा गाउँमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिईहाल्ने बानी थियो । त्यतिबेला उहाँले भजन समेत गाउनुुहुन्थ्यो ।

बाग्लुङबाट २०५८ सालमा उहाँको आगमन पोखरामा भयो । त्यसपछि उहाँले संगीतको बारेमा धेरै कुरा बुझ्ने मौका पाउनुभयो । संगीतको बारेमा जानकारी पाउँदा उहाँमा संगीतप्रति मोह बढेर गयो । फलस्वरुप २०५९ सालमा ‘आँखाबाट आँशु झर्‍यो नि’ गीत रेकर्ड गरी औपचारीक रुपमा नेपाली गीत संगीतको क्षेत्रमा यिनको यात्रा सुरु भयो । उहाँले २०६० सालमा लोक तथा दोहोरीगीत समावेश गरी ‘शंका लाग्छ झन्’ एल्बम बजारमा ल्याउनुभयो । त्यसपछि निरन्तर उहाँ सांगीतिक क्षेत्रमा अगाडि बढिरहनुभएको छ ।

उहाँका भजन गीतलाई समेत दर्शक श्रोताले रुचाएका छन् । उहाँले निखारता थप्न भारतको मन्द्रासमा गएर संगीत सिक्नुभएको थियो । यसका अलावा पोखराका विभिन्न संगीत पाठशालामा समेत संगीत सिकेर आफूमा निखारता थप्नुभयो । फलस्वरुप लोक दोहोरीगायन, शब्द संकलन तथा म्यूजिक एरेन्ज, भिडियो निर्देशनमा उहाँको पृथक पहिचान बनेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य रहनुभएका उहाँ पोखराको डिजिटल स्टार रेकडिङ स्टुडियोको सञ्चालक हुनुहुन्छ । उहाँको स्टुडियोमा यो वर्ष २४ वटा तीज गीत रेकर्ड भएका थिए ।

भिडियो लिंकः

https://www.youtube.com/watch?v=izm1bP-QwbY

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button