धार्मिक पर्यटकीयस्थलका रूपमा विकास हुँदै म्याग्दीको बराहाताल

धुर्वसागर शर्मा । निकै चर्चामा आएको म्याग्दीको मालिका गाउँपालिका–७स्थित बिममा रहेको बराहाताल आकर्षक र धार्मिक पर्यटकीयस्थलका रूपमा विकास हुँदै आएको छ ।अर्को प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी जाने पर्यटकलाई बाटोमै रोकेर केही समय तालमै रमाउनका आकर्षण गर्न सक्ने यो ताल मिथक र रहस्यको एक अनुपम स्थान पनि हो ।

कोरोना महामारी फैलिनुभन्दाअघि यहाँ रमाउनका लागि दैनिक चार÷पाँच सय पर्यटक आउने गरेकामा सङ्क्रमण सुरु भएयता सुनसान देखिन थालेको छ ।जैविक विविधताका कारण ताल प्राकृतिक सुन्दरताका साथै धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिने बिम निवासी नवीन जुग्जालीले बताउनुभयो ।

रहस्यमय ताल

प्राचीनकालमा आमा छोरी बराहक्षेत्रमा घुम्न जाँदा बराह देवताले छोरीलाई लुकाएकाए पछि आमा आफ्नो छोरीको वियोगमा तडपिदै खोज्न थालिन् । धेरै दिनपछि छोरी खोज्दै उक्त ताल नजिक पुगेकी आमाले चिच्याएर बोलाउँदा तालभित्रबाट छोरीले बोलेको आवाज सुनिन् । छोरीलाई बाहिर आउन आग्रह गर्दा आफ्नो बच्चा भैसकेकाले बाहिर आउन अनुमति नभएको बताइन् । आमाले बच्चालाई भएपनि हेर्न चाहन्छु भनी जिद्दी गरेकीले त्यहाँ एउटा सर्प त्यहाँ आयो, यो देखेर आमा भागिन् उता सर्प पनि मरेछ । साँझपख बराह घरमा आउँदा आफ्नो बच्चा मरेको देखेर सोधपुछ गर्दा उनकी पत्नी बनेकी ती छोरीले सबै वृत्तान्त बताइन् ।

यस घटनाले क्रोधित बनेका बरहाले तीर चलाए, त्यो तीर पत्नीको आँखामा लागेर रगतको धारो बग्यो । रगतले केही समयसम्म तालको रङ्ग रातो भएकामा त्यसपछि कहिले निलो त कहिले खैरो हुने हुन थालेको बताइन्छ । तालमा रुखका सुकेका पात खसिरहे पनि त्यहाँ बस्ने एक जोडी चराले टिपेर फ्याँक्ने गर्दथे भन्ने किंवदन्ती छ । तालमा विसं १९२५ देखि पूजाआजा गर्ने परम्परा चलेको स्थानीय वृद्धवृद्धा बताउँछन् । एकचोटी घोडाले पानी पिउँदा केही वर्ष ताल नै सुकेको भन्ने अर्को किंवदन्ती पनि सुनिन्छ । तिर्खाएका एक हलगोरुले तालको पानी पिउन लाग्दा बेपत्ता भएको र कसैले फोहर गरिदिएमा असिना, हुरी, खडेरी पर्ने स्थानीय वृद्धवृद्धा बताउँछन् ।
तालमा हिमाल र मन्दिरको प्रतिविम्ब

उक्त तालमा मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिविम्ब देखिनाका साथै भने त्यहाँबाट गुर्जा हिमाल, सुन्दर ग्रामीण बस्ती, वनजङ्गल र पहाड अवलोकन गर्न सकिने वडा अध्यक्ष रेशम जुग्जाली बताउनुहुन्छ । बाइन्दाफाँट गाउँको माथि रहेको गोलो आकारको ताललाई धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिनेमा कृषि प्राविधिक शिक्षालयका संयोजक करन कँडेल जोड दिनुहुन्छ । आधा रोपनी जमिनमा फैलिएको, तीन मिटर गहिरो र समुन्द्री सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा अवस्थित यस तालको माथिल्लोपट्टी बराहथान छ । सोही थानको नजिकैबाट खसेकोे पानी तालमा मिसिन्छ ।

तालमा रहेका जलबराहाको पूजा तथा भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । गाउँपालिकाको केन्द्र दरबाङदेखि यहाँसम्म आइपुगेको सडकलाई विस्तार गरेर मालिकाधुरीसम्म जोड्न र यहाँको संरक्षण तथा प्रचारप्रसारका लागि एकीकृत योजना बनाइएको वडाध्यक्ष जुग्जाली बताउनुहुन्छ । यहाँ सडक विस्तार भएकाले ताललाई आकर्षक गन्तब्यका रुपमा विकास गर्न गुरुयोजना नै बनाइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button