लगातारको वर्षापछि पोखराको छोरेपाटन चौतारानजिकै डुबान

डुबानकै कारण एक घर परिवार विस्थापित, ३० घर प्रत्यक्ष जोखिममा

पोखरा न्यूज । लगातारको वर्षाको कारण पोखराको छोरेपाटन चौतारानजिकैको स्थान डुबानमा परेको छ ।

पोखरा महानगरपालिका -१७ स्थित छोरेटापन चौताराको उत्तर तर्फको भागमा पानी जम्मा भएर थुनिदा  तालमा परिणत भएको हो ।

झन्डै ३६ घण्टा भन्दा लामो वर्षापछि जम्मा भएको पानीले निकास नपाउँदा तालको रूप धारण गरेको स्थानीय बद्रीनाथ बरालले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्गको छेउमा पर्ने उक्त स्थानमा पोखरा २२ तर्फबाट सिद्धार्थ राजमार्ग हुँदै बगेर आउने पानी जम्मा हुँदा वर्षेनी डुबान भई तालमा परिणत हुने गरेको बरालले बताउनुभयो ।

पोखरा १७ र २२ जोडिने उक्त स्थानमा छोरेटापन हुँदै शान्ति स्तुपा जाने मोटर बाटो निर्माण भएपछि त्यस तर्फबाट आएको ढुङ्गा माटो सहितको पानीले निकास पुरिदा झन्डै २ दशकदेखि डुबानको समस्या भोग्नुपरेको बरालको भनाई छ ।

बरालका अनुसार त्यस क्षेत्रको १२ रोपनी भन्दा बढी क्षेत्रफल वर्षेनी हुने डुबानमा पर्ने गरेको र कम्तीमा ३० घरहरू प्रत्यक्ष रूपमा जोखिममा पर्ने गरेका छन् ।

गत असार १ गते वर्षापछि भएको डुबानबाट डेढ तले पक्की घर छाडेर स्थानीय कमल क्षेत्रीको ४ जनाको परिवार विस्थापित नै हुनुपरेको बरालले बताउनुभयो । डुबानकै कारण पोखरा महानगर भित्रको आफ्नो पक्की घर छाडेर क्षेत्रीको परिवार भाडामा बस्नु परेको भन्दै बरालले दुःख व्यक्त गर्नुभयो ।

गत वर्ष डुबान बढेर बाटो सम्मै आइपुग्न लागेको र उक्त समयमा मध्यरातमा घरको  कोठाको तल्लो तलाका सामानहरू सारेर कोठा खालि गरेर जोगिएको भन्दै वर्षेनी हुने यस्तो समस्यामा जनप्रतिनिधि लगायत सरोकारवाला कसैले ध्यान दिन नसकेकोमा बरालले गुनासो समेत व्यक्त गर्नुभयो ।

‘विगत १८ /२० वर्ष देखि वर्षेनी यस्तो समस्या छ, हामी स्थानीयले भोग्नुपरेको यो समस्याका बारेमा कहीँ कसैले चासो   देखाउँदैनन्’, उहाँले पोखरा न्यूज सँग भन्नुभयो- ‘ घर जग्गाको वर्षेनी कर तिर्दै आएका छौँ , नागरिकको पिर मर्का बुझिदिए हुन्थ्यो ।’

उक्त स्थान छेउमा रहेको  सिद्धार्थ राजमार्गको दुई तर्फबाट नाला कटाएर पानीलाई निकास दिए मात्र पनि डुबानको समस्या धेरै हदसम्म समाधान हुने बरालको भनाई छ । सुरुङ खनेर फुर्सेखोला तर्फ पानी खसाल्न सकेमा भने यसको स्थायी समाधान हुने उहाँको तर्क छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button