पर्यटकीय सम्भावना बोकेको पर्वतको बराहताल ओझेलमा

पोखरा न्यूज। पर्यटकीय सम्भावना बोकेको बराहताल ओझेलमा परेको छ। पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँस्थित सो ताल आवश्यक संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको हो ।

पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा यो ताल ओझेलमा परेको स्थानीयवासीको भनाइ छ। समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित बराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको छ ।

बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराहताल पर्यटक र पूर्वाधार विकासको पर्खाइमा छ। पर्यटकीय सम्भावना बोकेको भए पनि तीनै तहका सरकारले तालको प्रचारप्रसार गर्न नसकेका कारण ताल ओझेलमा परेको स्थानीवासीको भनाइ छ ।

“यो ताललाई प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको ओइरो लाग्छ”, स्थानीयवासी पूर्णबहादुर बरुवाले भन्नुभयो। जलजला गाउँपालिकाको पर्यटकीयस्थल भनेको यही ताल यही हो। छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ। अहिले मोटरबाटोको समेत सुविधा पुगेको छ ।

बेनी–मालढुङ्गा सडकबाट झण्डै एक घण्टाको समयमा सवारी साधनबाट तालमा पुग्न सकिन्छ। तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ। हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । जनै पूर्णिमाको अवसरमा बराहतालमा विशेष मेला लाग्छ ।

गत वर्ष र यस वर्ष भने भक्तजनहरुको न्यून उपस्थिति रहेको स्थानीय लालबहादुर अधिकारीले जानकारी दिनुभयो। यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। घर्ती क्षेत्रीको कुलपूजासमेत यही तालको नजिकैमा रहेको मन्दिरमा गरिने भएकाले पनी यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेको स्थानीय युवा नवीन जिसीले बताउनुभयो  ।

“छेउमै रहेको ढुङ्गे धारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन्”, उहाँले भन्नुभयो । तालको बीचमा रहेको मन्दिर र बरको रुखले समेत यो ताललाई आकर्षक बनाएको छ । बराहताल अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ। अङ्ग्रेजी अक्षरको सी आकारको तालको सौन्दर्य र विशेषता मल्लाजमै सीमित बनेको छ ।

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै सुक्दैन। तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो। सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ। ताल परिसरमा घर्ती, क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छ। गाईभैँसीले तालमा फोहर गर्ने समस्या भने रोकिएको छ ।

ताल परिसरमा सुरक्षाका लागि भित्री भागमा तारजाली तथा बाहिरी भागमा घेरबार लगाइएको जलजला गाउँपालिका–२ का अध्यक्ष गोविन्द खत्रीले बताउनुभयो। “हामीले गाउँपालिकाभित्र ठूलो ताल भनेको यही हो, अघिल्लो वर्ष केही घेराबार गरिएको छ”, उहाँले भन्नुभयो।

गत आर्थिक वर्षमा पनि ताललाई गहिरो बनाउने र तालको वरिपरि पर्खाल लगाउने काम गरेका छौँ। ताललाई व्यवस्थित गरेर यहाँ पुग्ने पर्यटकका लागि पौडी खेल्ने व्यवस्थापन गर्न गाउँपालिकाले गृहकार्य गरेको जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button