हलको क्रेज घट्दैन, दर्शकको चार्म कायमै छ : निकेश द्वा

डिजिटल प्लेटफर्ममा हलकै जस्तो मज्जा पाइँदैन

पोखरा न्यूज । कोरोना महामारीका कारण नेपालका सिनेमा हल लामा समयदेखि बन्द छन् । कहिले सिनेमा हल खुल्छन् अनि पहिलाकै झैँ निर्धक्कका साथ रमाउँदै फिल्म हेर्न पाइएला यसै भन्न सक्ने अवस्था छैन । केही समयपछि अवस्था सहज हुने आशा भने धेरैको छ । धेरैजसो हल बन्द भएको १७ महिना भइसक्यो ।  पहिलो चरणको कोरोना कहरको पछि दोस्रो भेरिअन्ट आउनु अगाडि केही समय ५० प्रतिशत अकुपेन्सीमा केही हल सञ्चालनमा आए । तर, त्यसरी हल सञ्चालनमा आउँदा दर्शक सहभागिता राम्रो भएन । अपरेटिङ कष्टका कारण हललाई झनै घाटा भयो ।  यही बिचमा ऐतिहासिक महत्त्व बोकेका धेरै हल सदाको लागि बन्द समेत भए । फिल्म क्षेत्रको लागि यो सुखद पक्ष होइन ।

विगतमा जसरी हुन्छ सिनेमा हल सञ्चालन गर्नुपर्छ भन्ने हल सञ्चालक र फिल्मकर्मीहरूको सोच अहिले परिवर्तन भएको छ । दर्शकले सुरक्षित महशुस गर्ने वातावरण बनेपछि मात्र हल सञ्चालन गर्नुपर्नेमा उनीहरुको जोड छ । यसरी हल सञ्चालन गर्दा पहिलाको झैँ ५० प्रतिशत अकुपेन्सीमा नभई फुल अकुपेन्सीमा फिल्म हल सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको आशा हो ।  यस्तै दिन आउने प्रतीक्षामा उनीहरू धैर्य गरी बसेका छन् ।

मीड टाउन सिनेमा पोखराका व्यवस्थापक निकेश द्वा पहिला ५० प्रतिशत अकुपेन्सीमा हल खोल्दा झनै घाटा भएको अनुभव सुनाउनुहुन्छ । ‘अब सिनेमा हल खोल्दा ५० प्रतिशत अकुपेन्सीमा नभई फुल अकुपेन्सीमा खोल्नुपर्छ । बल्ल फाइदा हुन्छ । पहिलाको झैँ जसरी हुन्छ हल खोलौँ भनेर हुँदैन । त्यसरी खोल्दा अपरेटिङ कष्ट बढी भयो । बन्द गर्नुभन्दा बढी घाटा भयो । फुल अकुपेन्सीमा हल चलाउन  सिच्युयसन राम्रो हुनुप¥यो’  व्यवस्थापक द्वाले पोखरा न्युजसँग भन्नुभयो ।
उहाँ पछिल्लो क्रममा चर्चामा रहेका ओटीटी प्लेटफर्मले  सिनेमा हललाई खासै असर नगर्ने दाबी गर्नुहुन्छ । सिनेमा हलप्रति दर्शकको चार्म कायमै राख्न हलहरूले सुविधा थप्दै जानुपर्ने उहाँको बुझाई छ ।

नयाँ प्लेटफर्मले हललाई असर गर्दैन
हामीले सन् २०१७ मा मीड टाउन सिनेमाजको रणनीति बनाएका थियौ । त्यो बेला नै डिजिटल प्लेटफर्मको बारेमा हामीलाई थाहा थियो । यो कहीँ छ, यहाँ आउँछ भनेर हामीलाई थाहा थियो । डिजिटल प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न तयार भएरै हल सञ्चालन गरेका थियौ । हामीले कहिल्यै मुभी थिएटरको मार्केटिङ गरेनौ । तर, दर्शकको माया पायौ । हलको वातावरणले उहाँहरूलाई आकर्षित ग¥यो ।

हलमा पारिवारिक वातावरणमा फिल्म हेर्न पाइन्छ । घरमा फिल्म हेर्नु र परिवारसँग गएर हलमा फिल्म हेर्नुमा धेरै फरक छ । हलको वातावरण, सुविधा, साउण्ड सिस्टम, तहाँ फिल्म हेर्दा आउने फिलिङ्गसले दर्शकलाई बेग्लै अनुभूति दिलाउँछ । यो हलको सकारात्मक पाटो हो । राम्रो फिल्म अनलाइन थिएटर तिर जाला भन्ने डर हो । त्यस्तो त भई राख्ने नै छ । एउटा लाइन त पहिले नै थियो । खासै असर गर्दैन ।

ठुलो संख्यामा फिल्म हेर्ने दर्शक छैनन्
राम्रो फिल्म पोखराको जनसङ्ख्याको ३ प्रतिशतले हेरेको अनुभव भए पनि  औसत फिल्म हेर्ने दर्शकको संख्या त्यो भन्दा कम रहेको छ । ठुलो संख्यामा फिल्म हेर्ने दर्शक छैनन् । राम्रो फिल्ममा जम्मा ३ प्रतिशतको हाराहारीमा हो । कमसल फिल्ममा त्यो भन्दा थोरै । यो तथ्याकंले गर्दा पनि हलप्रति दर्शकको आकर्षण कायम नै रहन्छ । घट्दैन भन्ने विश्वास छ । बरु दर्शकको लागि सुविधा थप्दै जान्छौ । कसरी राम्रो गर्न सक्छौ भन्नेमा लाग्छौ । डिजिटल प्लेटफर्म मार्फत दर्शकले हलकै जस्तो मज्जा लिन सक्दैनन् ।

हलको वातावरणको मज्जा लिन खोज्ने दर्शक समेत हुनुहुन्छ
फिल्म हल भनेको रमाउन पुग्ने ठाउँ हो । तहाँ गएर कामको थकान र मनको तनाव हटाउन सकिन्छ । कामबाट थाकेका दर्शकलाई एउटा अवसर क्रिएट गर्ने ठाउँ हल बनेको छ । सोही कारण हलमा स्वतः दर्शक पुग्नुहुन्छ । मुभीको लागि मार्केटिङ हामीले खासै गरेनौ । हाम्रो अनुभवमा ३० प्रतिशत दर्शक फिल्मको लागि भन्दा पनि हलको वातावरणको मज्जा लिन पुग्नुहुन्छ ।

फिल्म हेर्न पैसाले मात्रै माने राख्दैन
घरमा बसेर परिवारसँग हाँस्नु र एउटा हलमा सबै दर्शकमाझ बसेर रमाउनुको अनुभव धेरै फरक हुन्छ । मीड टाउन खुलेपछि चार वर्षको अवधिमा हामीले एक सय रुपैयाँको टिकट पनि बेच्यौ ४ सयको टिकट पनि बेच्यौ । फिल्म हेर्न पैसाले मात्रै माने राख्दैन । अझै पनि विन्ध्यवासिनी, श्रीकृष्ण हल रुचाउने दर्शक धेरै हुनुहुन्छ । उहाँहरूलाई मिडटाउनमा हेर्न झ्याउ लाग्छ । यस्ता दर्शक धेरै हुनुहुन्छ । सोही कारण डिजिटल प्लेटफर्मले  केही न केही असर गर्छ तर डराउनुपर्ने अवस्था छैन । बरु हलबाट दिने सुविधामा ध्यान दिनुप¥यो । झारा टार्नु भएन ।

बैकंबाट सुविधा पाउने आशा
कोरोना महामारीका कारण हल बन्द छन् । खुल्ने खालको सिच्युएसन बनेको छैन ।  लोन लिएर हलमा लगानी गरेको कारण बैकंले पैसा माग्ने क्रम चलिनै रहेको छ । यो अवस्थाका कारण कर्मचारीलाई पुरा तलब दिन सकेका छैनौ । ४ महिना अगाडिसम्म आधा तलब दिएर राखेका थियौ । अहिले  ननवर्किङ स्टाफलाई ४० प्रतिशतमा झा¥यौ । यसरी पनि कहिलेसम्म धान्छ भन्ने कुरा छ । मीडटाउन सिनेमाजमा फुल टाइम २५ जना र  पार्ट टाइम २० जना कार्यरत हुनुहुन्थ्यो ।
अघिल्लो वर्ष पनि बैंकबाट ऋण तिर्नुपर्ने समय थपेका थियौ । अहिले पनि बैकंबाट यो सुविधा पाउने आशा छ ।

ऐतिहासिक हल सदाको लागि बन्द हुनु दु:खद
अब खुलेपछि के होला भन्दा पनि यो सिच्युएसन कहिले सम्म रहला भन्ने कुराले महत्त्व राख्छ ।  पछिल्लो क्रममा हल खोल्नको लागि भनेर हल सञ्चालकहरूबिच खासै गफ भएको छैन । कोरोनाका कारण केही ऐतिहासिक हल सदाको लागि बन्द भए यो दुखद पक्ष हो ।

श्रीकृष्ण, वाराही, विन्ध्यवासिनी हल भन्दा पनि मिडटाउन, क्युएफएक्स हलहरू लोनमा हुन्छन् । त्यही भएर गाह्रो हुन्छ । हल खोल्नको लागि छलफल खासै गरेका छैनौ । हल खोलेर मात्र भएन । ५० प्रतिशत अकुपेन्सीमा खोलेर त झनै काम छैन । प्रोड्युसरलाई  पनि मैले हलमा फिल्म रिलिज गर्दा हलमा मानिस आउँछन् हुनुपर्छ । नत्र उनीहरू फिल्म प्रदर्शन गर्न तयार हुँदैनन् ।

लास्ट टाइम हामीले हल खोल्न त खोलियो । तर, ५० प्रतिशत मात्र भर्न पाइन्छ भन्नासाथ मानिस घटिहाले । हुन त १५, १६ सो ५० प्रतिशत अकुपेन्सीमा नै चलायौ । गुरुङ फिल्म एसोसिएसन नेपालसँगको सहकार्यमा गुरुङ फिल्म हलमा प्रदर्शन गर्ने काम भयो । यो काम भने केही हदसम्म सक्सेस भयो । कोरोना महामारीको बोरमा गरेका आकलनहरू गलत भएको कारण यति बेला पर्ख र हेरको अवस्था मानै रहेका छौ ।

सिनेमा हल चलाउन ग्रिन जोनमा पर्नुपर्ने
संक्रमण दर १५ प्रतिशतमा झरे फिल्म क्षेत्र खुलाउने गरी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कार्यविधि बनाएको छ । भदौ १ गतेबाट लागू भएको स्मार्ट लकडाउनको कार्यविधिमा संक्रमणको दर हेरेर सोही अनुसार मनोरञ्जन क्षेत्र खुलाउन सकिने उल्लेख गरिएको छ । यसको लागि कोरोना महामारीको संक्रमण दर हेरेर रेड, एम्बर, एल्लो र ग्रिन गरी क्याटागोरी उल्लेख गरिएको छ ।

संक्रमणदर ६५ प्रतिशत माथि भएको क्षेत्र रेड जोनमा, संक्रमणदर  ३१ प्रतिशत देखि ६५ प्रतिशत सम्मको क्षेत्रलाई एम्बर जोन, १६ प्रतिशत देखि  देखि ३० प्रतिशत सम्म संक्रमणदर रहेको क्षेत्र एल्लो जोन र १५ प्रतिशत भन्दा कम संक्रमण दर भएको क्षेत्रलाई ग्रिन जोन भनिएको छ । यसमा ग्रिन जोनमा पर्ने क्षेत्रमा स्वास्थ्य मापदण्डको पालना गर्दै हल सञ्चालन गर्न दिइने उल्लेख गरिएको छ । सोही मापदण्डका कारण सिनेमा हल चलाउन ग्रिन जोनमा पर्नुपर्ने हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button