चलचित्र ‘तमुस्यो’ ‘पे–पर–भ्यु’ को आधारमा देखाइदै

‘मैंरिमो’ले ५० हजार रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन गर्‍यो

राजाराम पौडेल । गुरुङ चलचित्र ‘तमुस्यो’ शुक्रबारबाट म्याक्स टिभि मार्फत प्रदर्शन सुरु भएको छ । मेगा म्याक्स टेलिभिजन प्रालि र मुनाल फिल्म प्रालिबिच गत असार १३ गते मेगा म्याक्स टेलिभिजनमा गुरुङ चलचित्रहरु तथा नेपाली चलचित्रहरु देखाउने सम्झौता भए अनुसार नै यो चलचित्र प्रदर्शन हुन लागेको हो ।

सो सम्झौता अनुसार गत साउन १ गतेबाट चलचित्र प्रदर्शन गर्ने तय भएको थियो । जसको सुरुवात भोजबहादुर गुरुङ निर्देशित गुरुङ चलचित्र ‘मैंरिमो’ भन्ने चलचित्र प्रदर्शन गरेर भयो । जुन चलचित्र हिजो बिहिबारसम्म प्रदर्शन गरियो ।

म्याक्स टिभि मार्फत एकपटक चलचित्र हेर्नको लागि एउटा ग्राहकले ३ सय ५० रुपैयाँ तिनुपर्ने हुन्छ । त्यसको लागि मेगा म्याक्स टेलिभिजनको च्यानल नम्बर ७७७ मा जानुपर्छ । जसलाई सिनेमा हल ७७७ भनेर नामाकरण गरिएको छ । फिल्म हेर्नको लागि रकम मेगा म्याक्सको शाखाहरुबाट ग्राहकहरुले पैसा बुझाउन सकिनेछ । साथै इसेवा को माध्यमबाट अनलाइनबाट समेत पैसा तिरेर चलचित्र हेर्न पाइनेछ ।

चलचित्रको प्रदर्शन दैनिक चार सो मार्फत हुनेछ । जसअनुसार मध्यान्न १२ बजे, दिउँसो ३ बजे, साँझ ६ बजे विहान ९ बजे प्रर्दशन हुनेछ । आज शुक्रबारबाट जति समयसम्म यसको डिमाण्ड आउँछ त्यतिदिनसम्म प्रदर्शन गर्ने तयारी गरिएको छ ।

गुरुङ फिल्म एशोशिएशन नेपाल जिफानको रेकर्ड अनुसार ‘तमुस्यो’ चलचित्र २०७३ पौषमा २० मा निमार्ण भएको चलचित्र हो । माओत्सेतुङ गुरुङले निर्देशन गरेको यो चलचित्रको निर्मातामा प्रदिप कुमार गुरुङ, ईश्वर गुरुङ, अर्जुन गुरुङ रहनुभएको छ ।

विवेक गुरुङ, अर्जुन गुरुङ, सुमित गुरुङ, उर्मिला गुरुङ, रोशनी गुरुङ, प्रेमा गुरुङ आदि कलाकारको अभिनय चलचित्रमा हेर्न पाइन्छ । चलचित्रको कथा माओत्सेतुङ गुरुङलेले लेख्नुभएको हो । छायाकंन खिम गुरुङले गर्नुभएको यो चलचित्रमा समावेश गीतको गीतकार तेजेन्द्र गुरुङ हुनुहुन्छ । चलचित्रमा नृत्य निर्देशन लब्सन गुरुङ गर्नुभएको हो भने सम्पादनको काम छवि राना मगरले पुरा गर्नु भएको छ ।

पाइला फिल्मस् प्रालिले निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘तमुस्यो’ को बारेमा जानकारी दिनका लागि निर्माण युनिटले बिहिबार पोखरामा पत्रकार सम्मेलनको समेत आयोजना गर्‍यो । कार्यक्रममा गुरुङ फिल्म एशोशिएशन नेपालका अध्यक्ष भोजबहादुर गुरुङ, चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरी, म्याक्स टेलिभिजन गण्डकी प्रदेशको प्रतिनिधि मनोज गुरुङ, म्याक्स टेलिभिजन गण्डकी प्रदेशको प्राविधिक प्रमुख सतेन्द्र तिवारी, चलचित्र तमुस्योको कलाकार, पोखराका रंगपत्रकारहरुको सहभागिता रहेको थियो ।

‘तमुस्यो’ चलचित्रले राम्रै ग्रस कलेक्सन गर्ने उहाँहरुको आशा छ । महामारीकाे समयमा अपनाइएको नयाँ बाटोले गुरुङ चलचित्रको क्षेत्रमा सकारात्मक सन्देश दिएको उहाँहरुकाे भनाइ थियो ।

कोरोना महामारीको समयमा यसरी चलचित्र प्रदर्शन गर्न उपयोगी देखिएकोले अन्य गुरुङ चलचित्र समेत यहीं माध्यमबाट प्रर्दशन गर्ने जिफानको तयारी रहेको गुरुङ फिल्म एशोशिएशन नेपाल जिफानका अध्यक्ष भोज बहादुर गुरुङले पोखरा न्युजसँग बताउनुभयो ।

म्याक्स टेलिभिजनको च्यानल नम्बर ७७७ मा गत श्रावण १ गतेबाट मुनाल फिल्म प्रालिले निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘मैंरिमो’ पे–पर–भ्यु मार्फत प्रदर्शन हुँदै आएको थियो । बिहिबारसम्म आइपुग्दा ‘मैंरिमो’ चलचित्रले ५० हजार रुपैयाँ भन्दा बढी ग्रस कमाइसकेको छ ।
नेपालमा चलचित्रको बक्स अफिस जिरो भैराख्दाखेरी यसरी गुरुङ चलचित्र टेलिभिजन मार्फत यसरी ५० हजार भन्दा बढी निर्माताको हातमा पर्नु भनेको एकदमै सुखद कुरा हो । महामारीका कारण दर्शकको रुचि र मनोविज्ञान सबै चेञ्ज हुँदैछ । त्यही अनुसार हामी चलचित्र निर्माता निर्देशकहरु समेत अपडेट हुदैछौ । जसको कारण चलचित्र प्रदर्शन गर्ने माध्यम पनि परिवर्तन गर्दैछौ । पहिला गुरुङ चलचित्रहरु विशेष गरेर च्यारिटि सो तथा भिआइपी सो गरेर पार्टी प्यालेसमा खाना खुवाएर खादा माला अबिर जात्रा गरेर कोचाकोच दर्शककाबिच चलचित्र देखाइन्थ्यो । तर अहिले भने महामारीले आफ्नै घरमा सपरिवार फिल्म हेर्ने वातावरण सिर्जना गरिदिएको छ । हरेक महामारीले एउटा उपाय पनि लिएर आउने रहेछ भन्ने मलाई लागिरहेको छ । चलचित्र मैंरिमोकोे निर्देशक समेत रहनुभएका जिफानका अध्यक्ष गुरुङले भन्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button