मुग्लिन-नारायणगढ सडक भासिएपनि अवरोध छैन

पोखरा न्यूज। नारायणगढ–मुग्लिन सडक खण्डको चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध भएको छैन। सो क्षेत्रमा सडक फराकिलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझैँ सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग भासिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सो क्षेत्रमा बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको उहाँले जानकारी दिनुभयो। दुई मिटर गहिराइसम्म सडक भासिएको छ। खनालले भन्नुभयो, “सो ठाउँमा सडक १३-१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएर सडक रोकिँदैन ।”

भासिएको क्षेत्र बाहेकमा दुईतर्फी सवारी सञ्चालन भइरहेको उहाँको भनाइ छ। सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ। नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ । नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले जानकारी दिनुभयो ।

सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा छ । नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बाहिर सञ्चारमाध्यममा आएजस्तो सडक बन्द नरहेको प्रस्ट पार्नुभयो । उहाँका अनुसार सडक भासिएको ठाउँमा यातायात अवरुद्ध भएको छैन। वर्षासँगै एकाएक सो ठाउँमा सडक भासिएको हो। बिहीबारदेखि यो सडक भासिन सुरु भएको र आज पनि थप भासिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button