सफल हुन मेहनत आवश्यक पर्छ: गायिका सीता रानामगर

मौलिक अनि यथार्थपरक गीत गाउँदा सन्तुष्टि मिल्छ

राजाराम पौडेल । गायिका सीता रानामगरको जन्म गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा भएको हो । लोक दोहोरी प्रतियोगीतामा भाग लिएर सांगीतिक यात्रा प्रारम्भ गर्नुभएकी रानामगरले हालसम्म डेढ दर्जन एल्बम दर्शक श्रोतामाझ पस्कि सक्नु भएको छ ।

उहाँका नौतुनाको रेल, सरी ल, मलाई केटा चाहिएको पैसा वाला हो, मेरो वैश, दिल बस्यो आदि गीत चर्चामा छन् । हालै उहाँको तीज गीत ‘हिस्सी परेकी’ समेत सार्वजनिक भएको छ ।

पछिल्लो समय काठमाण्डौमा बसेर सांगीतिक यात्रालाई अगाडि बढाइरहनुभएको छ । उहाँ लाईभ दोहोरीमा उतिकै सक्रिय हुनुहुन्छ । उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्य समेत हुनुुहुन्छ । यसपाली गायिका सीता रानामगरसँग सांगीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
म सानैदेखि गीतसंगीतप्रति आर्कषित थिए । गीत संगीत धैरै मन पराउथे । मेरो सांगीतिक यात्राको प्रारम्भ प्रतियोगितामा भाग लिएर भएको हो । विशेषगरी २०६१–०६२ सालमा लोक दोहोरी प्रतियोगितामा भाग लिएर गाउन सुरु गरे । त्यसपछि निरन्तर यसै क्षेत्रमा अगाडि बढिरहेको छु ।

कस्ता गीत गाउन मनपर्छ ?
मलाई विशेषगरी लोक प्यार्टनका गीत गाउन मनपर्छ । मौलिक अनि यथार्थपरक गीत गाउँदा सन्तुष्टि मिल्छ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
हाम्रो बाल्यकालको समयमा अहिलेको जस्तो गीतसंगीत सुन्नको लागि सहज अवस्था थिएन । सिमित माध्यम थिए । त्यस्ता सिमित माध्यममा पहुँच पुग्न समेत उतिकै गाह्रो थियो । रेडियो नेपाल तथा एफ एम रेडियो मार्फत गीत सुन्ने गर्थे । यसरी गीतसंगीत सुन्दै गर्दा मलाई विशेषगरी लोकसंगीततर्फनै बढी रुचि हुन्थ्यो । सोही कारण लोक प्यार्टनका गीत सुन्ने अनि गुनगुनाउने प्रयास गर्थे ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
मलाई मनपर्ने गायक गायिका धेरै हुनुहुन्छ । किनकि म सबै गायक गायिकाप्रति मेरो उच्च सम्मान छ । सबैजना मलाई उतिकै प्यारो लाग्नुहुन्छ । सबैजना आ–आफ्नो क्षेत्रमा अब्बल हुनुहुन्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
यो क्षेत्रमा लागेर जीवन धान्न गाह्रो हुन्छ जस्तो मलाई लाग्दैन । यसको लागि मेहनत, धैर्यता, लगनशिलता आवश्यक पर्दछ । मेहनत गर्न सक्यो दर्शक श्रोताको मागलाई ध्यान दिदै कोसेली पस्कन सके अवश्य सफलता मिल्दछ । गीतसंगीतमा मात्र नभएर हरेक क्षेत्रमा सफल हुन मेहनत आवश्यक पर्छ ।

तपाईले देखेको सपना ?
गीत संगीतको क्षेत्रमा सफल हुनु नै मेरो सपना हो । सोही सपना पूरा गर्न मेहनतका साथ लागिरहेको छु ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?
सांगीतिक क्षेत्रका सकारात्मक पक्ष धेरै छन् । अनुशासन र मानिस भित्रको सोच विचार नै सकारात्मक पक्ष हुन् । नयाँ–नयाँ सिर्जना पस्किने क्रम निरन्तर जारी छ । प्रतिभावान् कलाकाररले अवसर पाइरहनुभएको छ । मेहनत अनुसारका प्रतिफल लिइरहनुभएको छ । गीतसंगीतले मनोरञ्जनसँगै समाजलाई सन्देश समेत प्रदान गरिरहेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने कुरा ?
सांगीतिक क्षेत्रमा विकृति विसंगति भित्रन नदिई नेपाली मौलिकतामा ध्यान दिदै गीतसंगीत सिर्जना गर्नुपर्छ । छोटो समयमा चर्चामा आउन खोज्नुभन्दा दिगोपना दिनेतर्फ संगीतकर्मी अग्रसर हुनुपर्छ ।

आफूमा निखारता कसरी थप्दै आउनुभयो ?
कलाकारको निखारता भनेकै रियाज हो साधना हो । निरन्तरको प्रयास र अभ्यासले नै निखारता थपिन्छ । मैले निरन्तर अभ्यास गर्दै निखारता थप्ने कोसिस गरिरहेको छु ।

संगीत क्षेत्रबाट पाएका कुरा ?
दर्शक श्रोताहरुको माया र मानसम्मान पाएको छु । जुन मेरा लागि ज्यादै अमुल्य छ । निरन्तर यसरीनै माया पाउने अपेक्षा छ ।

संगीत क्षेत्रबाट गुमाएका कुरा ?
वास्तविक रुपमा भन्दा केही पनि गुमाएको छैन ।

अबका योजना के छन् ?
मुख्य योजना भनेकै गीत संगीतलाई निरन्तर रुपमा अगाडि बढाउने नै हो । कतिपय योजना जीवन भोगाइ सँगै बन्दै जानेछन् ।

अन्तमा के भन्नुहुन्छ ?
यो अवसरका लागि विशेष धन्यवाद तपाई राजाराम पौडेलसँगै सम्पूर्ण टिमलाई । अनि दर्शक, श्रोता र पाठकप्रति धेरै आभारी छु । उहाँहरुकै माया साथ र प्रेरणाका कारण यहाँसम्म आइपुगेको छु । लामो यात्रा गर्न अझै बाँकी छ । आगामी दिनमा समेत यस्तै माया साथ पाउने विश्वास छ । निरन्तर सांगीतिक कोसेली पस्कने छु । सुनेर, हेरेर प्रतिक्रिया दिनुहोला । तपाईले दिने हौसलाले मलाई अगाडि बढ्न हौसला मिल्छ ।

अर्को कुरा तीजको अवसरमा ‘हिस्सी परेकी’ बोलको गीत सार्वजनिक गरेकी छु । गीतमा मेरो र खुमन अधिकारीको आवाज सुन्न सक्नुहुन्छ । गीतको शब्द हुम गैरे र संगीत खुमन अधिकारीकाे  हो भने कृष्ण विकको संगीत संयोजन रहेको छ । गीत मालश्री स्टुडियोमा रेर्कड गरिएको हो । गीतको भिडियोलाई आर्कषक बनाउन खोजेका छौँ । भिडियोको निर्देशन स्मृती तिमिल्सिना गुरुआमाले गर्नभएको छ । सुरेश श्रेष्ठको छायाकंन र नविन घर्तिमगरको सम्पादनमा भिडियो तयार भएको हो । एलिना रायमाझी, विजय पुन मगर, अल्फाज शाहको अभिनय भिडियोमा हेर्न पाइन्छ । भिडियो मेरै युट्युब च्यानल सिता राना मार्फत सार्वजनिक गरिएको हो । मौलिकतालाई ध्यान दिएर तयार पारिएको यो गीत हेरेर सुझाब दिनुहोला । धन्यवाद ।

भिडियो लिंकः

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button