कालीगण्डकीको छालले १० घरमा क्षति, ३ घाइते

पोखरा न्यूज। म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्याएको छ ।

पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो। कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पुर्याएको जानकारी दिनुभयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनका अनुसार बाढीले घर भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते हुनु भएका र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्याएका थिए। उहाँले अहिलेपनि पहिरो खस्ने क्रम नरोकिएको र कालीपुल बजारका ३० घर थप जोखिममा परेको जानकारी दिनुभयो ।

मध्यरातमा अविरल वर्षासँगै ठूलो आवाजमा पहिरो खसेपछि स्थानीयवासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए। स्थानीयवासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए। “पहिरोसँगै घरभित्रै नदीको बाढी आयो, वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सार्यौं, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ”, स्थानीयवासी सुरेश पुनले भन्नुभयो।

उनका अनुसार बजारमा आएको छालले घरसँगै शौचालय, खानेपानीलगायतमा समेत क्षति पुर्याएको छ। छालले नदी नियन्त्रणको लागि बनाएको पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्णरुपमा भत्काएको छ। यसैबीच, पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

पहिरो खसेर आएको बाढीले पुर्याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button