पोखरा र शुक्लागण्डकी जोड्ने झोलुङ्गे पुल जग भत्कन थाल्यो

पोखरा न्यूज। वर्षासँगै खोलाले गरेको कटान र माटो खस्ने क्रम बढेपछि कास्कीको पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग नै भत्कन थालेको छ ।

गत वर्षदेखि नै जोखिममा परेको सो पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा पुलको जग नै भत्कन थालेपछि आवतजावतमा समेत असहज भएको छ। सेराबेँसी युवा क्लबका पूर्व अध्यक्ष एवं सेराबेँसी टोल विकास संस्थाका सचिव किशोर घिमिरेका अनुसार केही दिनयताको लगातारको वर्षासँगै कटान र माटो झर्ने क्रम निरन्तर हुँदा पुलको मालेपाटनतर्फको जग नै धरापमा परेको छ ।

जग नै भत्कन थालेपछि आवतजावत गर्नसमेत त्रास भएको बताउँदै उनले यसतर्फ तत्काल राज्यको ध्यान पुग्नुपर्ने बताए। हरेक वर्ष खोलाले पुलको किनारा कटान गर्दै गएको भए पनि यसतर्फ खासै चासो नदिएका कारण थप जोखिम बढेको जानकारी दिँदै उहाँले जोखिमका बाबजुद विकल्प नै नभएपछि सर्वसाधारण आवतजावत गर्न बाध्य भएको बतानुभयो  ।

नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ ११९ मिटर छ। कूल रु ४१ लाख २५ हजार ५२८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गरेपछि जोखिममा पर्दै गएको हो ।

कास्की पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकलगायतका स्थानका बासिन्दाका लागि आवतजावतमा बहुउपयोगी बनेको पुल जोखिममा परेका कारण तत्काल अन्य वैकल्पिक उपायको खोजी हुनु अपरिहार्य भएको उहाँको भनाइ छ ।

कास्कीको मालेपाटनतर्फको पुलको जगमा धेरै समस्या देखिएको बताउँदै उनले यस सम्बन्धमा कास्कीको पूर्वाधार विकास कार्यालयका साथै सम्बन्धित जनप्रतिनिधिलाई समेत जानकारी गराइएको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रवीचन्द्र पौडेलले जानकारी दिनुभयो  ।

पुलको अभावमा मालेपाटनका साथै तनहुँका सेराबेँसीलगायतका यस क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित हुने भएकोले यसतर्फ बेलैमा सबैको ध्यान जानु आवश्यक भएको उहाँले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button