नेपालमा नृत्यतर्फको आर्कषण बढेको छः अमन तामाङ

नृत्य क्षेत्रसँग सम्बन्धित चलचित्र निर्माण गर्ने सपना छ

राजाराम पौडेल । नृत्यकार अमन तामाङ नृत्य क्षेत्रमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ । पोखरा महानगरपालिका वडा नं. ४ नालाकोमुखमा जन्मिनुभएका तामाङ पोखरामा नै रहेर नृत्य क्षेत्रमा निरन्तर अगाडि बढ्नु भएको व्यक्ति हुनुहुन्छ । २०५७ सालबाट नृत्य क्षेत्रको यात्रा प्रारम्भ गर्नुभएका उहाँले नृत्य क्षेत्रमा लागेर विभिन्न पुरस्कार तथा सम्मान हात पारिसक्नुभएको छ ।

उहाँ नयाँ प्रतिभालाई अवसर प्रदान गर्न उस्तै तल्लिन हुनुहुन्छ । हालसम्म ५० भन्दा बढी नृत्य सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरिसक्नुभएको छ । लामो समयदेखि नृत्य प्रशिक्षण पेशालाई अगाल्दै आउनुभएका तामाङले अहिलेसम्म १५ हजार भन्दा बढी प्रशिक्षार्थीलाई नृत्य प्रशिक्षण दिइसक्नुभएको छ । नृत्य प्रशिक्षण गरेका धेरैलाई नृत्यको क्षेत्रमा अगाडि बढ्न प्लेटफर्म समेत प्रदान गरिसक्नुभएको छ ।

नृत्यकार तामाङ नेपाल चलचित्र नृत्य संघ कास्कीको अध्यक्ष, मिरर किङ एनिमेसन स्टुडियोको निर्देशक, विटुडि डान्स स्कुलको मेनेजिङ डाइरेक्टर हुनुहुन्छ । विभिन्न नृत्य प्रतियोगितामा निर्णायकको भूमिका उहाँले निभाउनुभएको छ । नृत्यमा नै आफ्नो भविष्य देख्ने नृत्यकार अमन तामाङसँग यसपाली नृत्यक्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईको नृत्य यात्रा कसरी शुरु भयो ?
मेरो नृत्य यात्रा २०५७ साल बैशाख ४ गते आदर्श कला केन्द्रबाट प्रशिक्षण लिदै शुरु भयो । त्यसपछि अनवरत रुपमा नै यही क्षेत्रमा लागिरहेको छु ।

नृत्यको कुन विधा मनपर्छ ?
हुनत म प्रशिक्षक, कोरियोग्राफर भएकोले नृत्यका सबै विधालाई उतिकै माया गर्छु । तर विशेषगरी म आफूलाई व्यक्तिगत रुपमा पश्चिमेली नृत्य बढी मनपर्छ ।

बाल्यकालमा आफ्नो इच्छा कसरी पुरा गर्नुहुन्थ्यो ?
मलाई आफ्ना रहरहरु पुरा गर्न खासै गाह्रो भएन । किनकि बाल्यकालमा हरेक इच्छाहरु मेरो परिवारबाट पुरा हुन्थ्यो ।

तपाईलाई मनपर्ने नृत्यकार ?
मलाई मनपर्ने नृत्यकार माइकल ज्याकसन, रितिक रोशन र श्रीकृष्ण श्रेष्ठ हुनुहुन्छ । उहाँहरुको नृत्यकलाबाट प्रभावित छुँ ।

 

नृत्य क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
किन नसक्नु अवश्य सकिन्छ । त्यसको लागि आफूले मेहनत तथा संर्घष भने गर्नुपर्छ ।

तपाईले देखेको सपना ?
सपना धेरै छन् । केही पुरा गरे । केही पुरा गर्न खोज्दैछु । अहिले मैले पालेको सपना भनेको नृत्य क्षेत्रसँग सम्बन्धित चलचित्र निर्माण गरेर नयाँ पिँ‌ढीलाई अवसर प्रदान गर्ने हो ।

नेपाली नृत्य क्षेत्रका सकारात्मक कुरा ?
नृत्य क्षेत्र बृहत बन्दैछ । यसको आर्कषण बढ्दैछ । नृत्य गर्नाले सबैलाई शारिरिक र मानसीक रुपमा फाइदा समेत पु¥याउँछ ।

नेपाली नृत्य क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
नेपाली नृत्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा अवसर प्रदान गर्नुपर्ने देखिन्छ । अर्को कुरा कला र संस्कृती संरक्षण र सम्र्वदनका निमित्त सम्पूर्ण नृत्यकारहरुलाई राज्यले हेरचाह गरिदिनुपर्छ । यस्तो गर्न सके भविष्य नृत्यमा देखेर नृत्यकारले झनै मेहनत गर्न पाउथे ।

 

आफुमा निखारता कसरी थप्दै आउनुभएको ?
नृत्य आफैमा अनन्त छ । यो कहिल्यै पूर्ण हुँदैन । नयाँ–नयाँ प्रयोग गर्नैपर्छ । त्यसकारण हरेक दिन अभ्यास गर्दै म आफूमा निखारता थप्ने प्रयास गर्छु ।

नृत्य क्षेत्रबाट पाएको कुरा ?                                                                                        नृत्य क्षेत्रबाट मैले मानसम्मान तथा आत्मसन्तुष्टि पाएको छु । अहिले जे छु नृत्य क्षेत्रबाट नै सम्भव भएको हो ।

नृत्य क्षेत्रबाट गुमाएको कुरा ?
संयोगवस अहिलेसम्म नृत्य क्षेत्रबाट केही गुमाएको भने छैन ।

नृत्य तर्फको आकर्षण कस्तो छ ?
दिनानुदिन नेपालमा नृत्यतर्फको आर्कषण बढेको पाएको छु । नृत्यलाई सकारात्मक रुपमा लिने जमात बढ्दैछ । नयाँ पुस्ताको रुचि झनै बढी देखिन्छ ।

नृत्य क्षेत्रमा लागेर गर्नु भएका उपलब्धीहरु ?
मुख्य उपलब्धी त दर्शकको माया र साथ नै हो । यसका अलावा मैले नृत्य क्षेत्रमा लागेर पुरस्कार समेत हात पारे । खुल्ला नृत्य प्रतियोगीता २०५९ र २०६० मा प्रथम, कास्की नृत्य प्रतियोगीता २०७२ बेष्ट कोरियोग्राफर, प्रथम राष्ट्रि नृत्य प्रतियोगीता २०७२ मा तृतिय, प्लानेट जे डिस्को खुल्ला नृत्य प्रतियोगीता २०५९ मा उत्कृष्ट नृत्यको पुरस्कार, पिस जोन युथ क्ल्वले आयोजना गरेको वेष्ट गुप्र डान्स २०६१ प्रतियोगीताको उपाधि, अनुशिलन गोल्ड अवार्ड २०६५ मा सोलो डान्सतर्फ बिजेता, यही प्रतियोगीतामा गुप्र डान्स तर्फ द्धितीय तथा कमेडी तर्फ तृतीय स्थानको पुरस्कार हात पारेको थिए । नेपाल टेलिभिजनबाट प्रसारण हुने आगन डान्स अम्पिटिसनमा द्धितीय र पधेली युथ क्लब खुल्ला नृत्य प्रतियोगीता २०५८ मा द्धितीय भएको थिए । विभिन्न संघ संस्थाबाट सम्मान समेत पाएको छु ।

अबका योजना के छन् ?
अबका नयाँ पिँढीलाई अवसर प्रदान गर्ने योजना छ । नृत्यको अलावा आर्ट मेरो हबी हो । अब आर्टलाई प्रोफेसन बनाउने समेत सोचमा छु ।

अन्तमा के भन्नुहुन्छ ?
नृत्य क्षेत्रलाई माया गर्नुहोला । आफू भित्रको आफैलाई चिन्ने प्रयास गर्नुहोला । आँफैलाई चिन्नुभयो भने तपाई सफल हुनुहुन्छ । सबैको माया पाइरहेको छु । निरन्तर यसरी नै साथ दिनुहुोला भन्छु । धन्यवाद ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button