नेपाली नृत्य क्षेत्रमा सकारात्मक सोचको विकास

नृत्यलाई करियरको रुपमा लैजानेहरु बढ्दै

राजाराम पौडेल । नाच्ने एउटा कला हो । यो कला सबैमा हुदैन । केहि वर्ष अघिसम्म नृत्य कला देखाउनु वा नृत्य कला सिक्नु राम्रो मानिदैनथ्यो । किनकि त्यतिबेला नृत्यतर्फको बुझाई सकारात्मक थिएन । नृत्यतर्फ रुचि राख्ने व्यक्तिले प्रगति गर्दैन विग्रन्छ भन्ने खालको धारणा राखिन्थ्यो । नृत्य क्षेत्रमा अगाडि बढ्न खोज्ने रहर भएकालाई निकै गाह्रो थियो । सिक्न रहर हुनेहरु लुकेर सिक्न पुग्नु पर्ने थियो ।

तर अहिले समयको परिवर्तनसँग यसप्रतिको बुझाइमा सकारात्मक परिवर्तन आएको छ । नृत्य कला भएको व्यक्तिलाई अगाडि बढ्न प्रोत्साहन गरिन्छ । प्रतिभा देखाउनका लागि नयाँ–नयाँ प्लेटफर्महरुको विकास भएको छ ।

फलस्वरुप यसतर्फ रुचि राख्नेहरु बढ्दैछन् । आफूमा निखारता ल्याउन नृत्यको बारेमा अध्ययन गर्ने, सिक्ने क्रममा व्यापकता आएको छ । नृत्य विधाको बारेमा जानकारी लिई नियमित अभ्यास गर्न सके नाच्ने कलामा परिपक्कता आउँदछ ।

अहिले नृत्य कलाप्रतिको आर्कषण बढ्नुको एउटा कारण भनेको सामाजिक सञ्जालमा आफ्नो प्रस्तुती राख्ने क्रममा आएको वृद्धिलाई पनि मान्न सकिन्छ । अहिले सामाजिक सञ्जालमा उत्कृष्ट नृत्य गरेको भिडियो राख्दै लाइक्स, कमेन्ट र फलोवर्स बटुल्ने रहर धेरैलाई हुने गरेको देखिन्छ । यसका साथै साँस्कृतिक कार्यक्रम तथा विभिन्न नृत्य प्रतियोगीताको आयोजनाले समेत नृत्य तर्फको आर्कषण बढाउन सघाएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश संगीत बिभाग प्रमुख तथा नृत्य निर्देशक संघ गण्डकी प्रदेश उपाध्यक्ष नृत्य निर्देशक होम गुरुङ नेपालमा नृत्य क्षेत्र तर्फको आर्कषण राम्रो भएको बताउनुहुन्छ । आर्कषण राम्रो छ । बिभिन्न कार्यक्रमहरुमा सहभागी हुनेहरुको भिड हेर्दा, बिद्यालयमा बिद्यार्थीहरुको रुची हेर्दा र हामीकहाँ सिक्न आउनेको सँख्या हेर्दा आर्कषण छ । यो कोरोनाको कारणले सिक्न र सिकाउन पाईएको छैन तर सिक्न खोज्ने र नाच्न खोज्नेको कमी देख्दिन । उहाँले भन्नुभयो ।

नृत्यमा बिबिधता नै नेपाली नृत्यको सकरात्मक पक्ष भएको नृत्य निर्देशक गुरुङको भनाई छ । नेपाली संगीत विश्व संगीत भन्दा फरक छ । हाम्रो आफ्नै संगीत छ । मौलिकता छ पहिचान छ । त्यही संगीतमा आधारित भएर हामी नृत्य गछौं । त्यसले नेपाली संगीतका साथै नृत्यको संरक्षण गर्छ । अर्को कुरा नेपाली संस्कृती भित्र समेत आफ्नै संस्कार छन् । त्यसभित्रको संगीत र नृत्य पनि फरक छ । हरेक क्षेत्र जाती, ठाउँ र परिवेश अनुसारका नेपाली नृत्य हामी देख्न र गर्न सक्छौं । नृत्यमा विविधता नै हाम्रो सकरात्मक पक्ष हो । उहाँले थप्नुभयो ।

सोलो डान्सर तथा नृत्य प्रशिक्षक स्वजन रघुवंशी अभिभावकहरुले नृत्य क्षेत्रमा अगाडि बढ्न खोज्ने आफ्नो नानीहरुलाई धेरै नै सर्पोट गर्न खोज्नु सकारात्मक पक्ष भएको सुनाउनुहुन्छ ।
पहिलेभन्दा नृत्य क्षेत्रको एकदम विकास भएको कुरालाई सकारात्मक रुपमा लिन सकिन्छ । हरेक विद्यालयमा नृत्यलाई अनिवार्य रुपमा राखेको पाइन्छ । सरकारले विद्यालयमा कोर्सको रुपमा समेत नृत्यलाई राख्ने तयारी गरेको छ । नेपालमा नृत्यमा महिलाहरुको लागि

स्नाकोत्तरसम्मको अध्ययन गर्न र पुरुषहरुको लागि स्नातक सम्मको अध्ययन गर्न पाउँछन् । अब स्नातकोत्तर सँगै पिएचडि राख्ने प्रक्रियामा रहेको छ । अभिभावकहरुले नृत्य क्षेत्रमा अगाडि बढ्न खोज्ने आफ्नो नानीहरुलाई धेरै नै सर्पोट गरेको पाइन्छ । ठाँउ–ठाँउमा नृत्यको कार्यशालाहरु भइरहेका छन् । विभिन्न रियालिटि सोहरु आइरहेको छ भने नृत्यलाइ नै करियरको रुपमा लाने हरुको जमातपनि देखिन्छ । यो सबै नृत्य क्षेत्रका लागि सकारात्मक कुरा हुन् । उहाँले भन्नुभयो ।

नेपाल चलचित्र नृत्य संघ कास्कीको अध्यक्ष अमन तामाङ नृत्य क्षेत्र बृहत बन्दै गएको बताउनुहुन्छ । नृत्य क्षेत्र बृहत बन्दैछ । यसको आर्कषण बढ्दैछ । नृत्य गर्नाले सबैलाई शारिरिक र मानसीक रुपमा फाइदा समेत पुर्‍याउँछ । दिनानुदिन नेपालमा नृत्यतर्फको आर्कषण बढेको पाएको छु । नृत्यलाई सकारात्मक रुपमा लिने जमात बढ्दैछ । नयाँ पुस्ताको रुचि झनै बढी देखिन्छ । अध्यक्ष तामाङले भन्नुभयो ।

आर्ट अफ कल्चर पोखराको प्रबन्धक निर्देशक युवराज गुरुङ नेपालमा नृत्यलाई बुझ्नेहरु बढ्दै गएको सुनाउनुहुन्छ । नेपाली नृत्य क्षेत्रमा धेरै सकारात्मक सोच आइसकेको छ । नृत्यलाई बुझ्नेहरु बढ्दैछन् । नेपाली लोक नृत्य भनेको हाम्रो पहिचान हो, चिनारी हो, सान हो, यसलाई जोगाउनुपर्छ । हाम्रो संस्कृती लाई जगेर्ना गर्दै लोप हुनबाट बचाउनु पर्छ भन्नेमा सबै पुगिसक्नुभएको छ । फलस्वरुप अहिले लोकनृत्यलाई माया गर्नुपर्छ भन्ने खालका सकारात्मक सोचहरु आइरहेका छन् । यो राम्रो कुरा हो गुरुङले भन्नुभयो ।

नृत्य सिक्न खोज्नेहरुको संख्या बढ्दै गएको स्टार्स स्टुडियो पोखराका सञ्चालक जसु गुरुङ बताउनुहुन्छ । नृत्य सिक्न खोज्नेहरु बढ्दै गएको देखिन्छ । नियमित रुपमानै नृत्य सिक्न चाहनेहरु पनि छन् । विशेष कार्यक्रमको लागि नृत्य सिक्न खोज्ने उस्तै हुन्छन् । गुरुङ फिल्मको निर्देशक समेत रहेकी जसुले भन्नुभयो ।

नृत्यको प्रशिक्षणले नृत्यतर्फ रुचि भएकालाई यो क्षेत्रको बारेमा जानकारी लिई नयाँ–नयाँ स्टेप सिक्दै नृत्य मार्फत दर्शकलाई आर्कषित गराउने क्षमता वृद्धि गर्ने सघाउँछ । नृत्य जान्दै नजान्नेलाई नृत्य सिकेर स्टेजमा प्रस्तुती राख्ने सपना साकार पार्न सघाउँछ । रुचि र खुबी भएकालाई निखारता प्रदान गरी नृत्यलाई परिपक्क बनाउने मद्दत गर्छ । कतिपय विद्यालयमा छुट्टै शिक्षकको व्यवस्था गरेर नृत्य सिकाइन्छ । केहि भने नृत्य केन्द्रमा पुगेर नृत्यको ज्ञान हासिल गर्छन् ।

अहिले नृत्य कला भएका प्रतिभालाई नृत्य क्षेत्रमा लागेर बाँच्न सक्ने अवस्था समेत देखिन थालेको छ । सोही कारण करियरको रुपमा नृत्य क्षेत्रमा अगाडि बढ्न खोज्नेहरु समेत उतिकै देखिन्छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button