बलिउड निर्देशक सुरज बडजात्या नेपाल आउँदै, सोमबार मुस्ताङ पुग्ने

पाेखरा न्यूज । बलिउडका चर्चित निर्देशक सुरज बडजात्या नेपाल आउँदैहुनुहुन्छ । राजश्री फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको ‘उचाइ’ को सुटिङका लागि उहाँ आइतबार नेपाल आउन लाग्नु भएकाे हाे। उहाँ सोमबार मुस्ताङ जाने बताइएकाे छ । बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइनेछ ।

फिल्ममा अमिताभ बच्चनसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहने फिल्मको लोकेसन तय गर्न निर्देशक सुरज आज नेपाल आउन लाग्नु भएकाे हाे । उहाँ आज काठमाडौं बसेर भोलि (सोमबार) बिहान हिमाली भेगमा लोकेसन हेर्न हेलिकाेप्टरमार्फत प्रस्थान गर्नुहुनेछ ।

पहिलो चरणमा लुक्ला, नाम्चे आदि लोकेसन हेरेर फर्किएको टोलीले अब मुस्ताङमा सुटिङ हुने लोकेसन छान्ने भएको छ । पहिलोपटक बडजात्याले अमिताभ बच्चनसँग काम गर्न लाग्नु भएकाे हाे ।

नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताउनु भएकाे छ । उहाँकै कम्पनीले तीन वर्षअघिदेखि भारतीय फिल्म कम्पनीसँग कुराकानी अगाडि बढाएको थियो । ‘मैले बारम्बार नेपालमा पनि विदेशको झैँ लोकेसन छ भनेर बलिउडका फिल्मकर्मीलाई भन्ने गरेको थिएँ,’ सुरजले भन्नुभयाे, ‘कोरोनाले गर्दा केही समय ढिलो भयो ।’

फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी हुनुहुन्छ । यतिबेला सुरज र अरुण हिमाली भेगमा छायांकनका लागि लोकेसन हेर्न ट्रेकिङ गाइड तिलकराम राईसँग पुग्नु भएकाे छ । यही टिमसँग सोमबार निर्देशक बडजात्याको टोलीले ज्वाइन गर्नेछ ।

‘उचाइ’ को छायांकन मनाङ, मुस्ताङ, लुक्लालगायतका हिमाली भेगमा हुनेछ । केही सुटिङ काठमाडौं आसपासमा पनि हुनेछ । ‘हामीले काठमाडौंमा छायांकन गर्दा पनि नेपाली पर्यटनलाई टेवा पुग्ने लोकेसन छानेका छौं,’ रेग्मीले भन्नु भयाे । उहाँले स्वयम्भू, बौद्धलगायतका स्थान छानिएको बताउनु भयाे । चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button