तनहुँमा १० दिन थपियो निषेधाज्ञा

पोखरा न्यूज । तनहुँ प्रशासनले फेरि १० दिन निषेधाज्ञा थपेको छ । सोमबार बसको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले ३१ भदौसम्म जिल्लामा निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

प्रशासनले अधिकांश क्षेत्र खुल्न दिने निर्णय गर्दै १० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । थपिएको निषेधआज्ञा भौतिक रूपमा उपस्थित भएर गरिने सभा, सम्मेलन, प्रर्दशन, भेला, जात्रा, महोत्सव संचालन नगर्न भनिएको छ । तर, कानुनअनुसार गर्नै पर्ने सभा, सम्मेलन, अधिवेशन गर्न जिल्ला कोभिड व्यवस्थापन समितिलाई जानकारी गराएर स्वास्थ्यको मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।

शैक्षिक संस्था पनि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा स्थानीय तहको निर्णयअनुसार खोल्न पाइनेछ ।

२५ जनाभन्दा कम सहभागी गराएर तालिम, प्रशिक्षणका कार्यक्रम गर्न पाइने, कुल क्षमताको ५० प्रतिशतभन्दा बढी नहुने गरी पार्टी प्यालेस खोल्न र राति ९ बजेसम्म होटेल, रेस्टुरेन्ट खोल्न दिइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

जिल्लामा संक्रमणको जोखिम घट्दो भएकाले निषेधाज्ञा खुकुलो बनाएको प्रजिअ आचार्यले बताउनुभयो । ‘सक्रिय संक्रमित बढी नै छन् । संक्रमितको संख्या दैनिक घट्दो छ । अबको निषेधाज्ञा केही खुकुलो भएजस्तो हो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन सम्झौता हुँदैन । हामी अनुगमनमा जान्छौँ’, उहाँले भन्नुभयो । थपिएको निषेधाज्ञाको अवधिमा पनि संक्रमतिको संख्या बढेमा कडाइ गरिने उहाँले बताउनुभयो । २२ वैशाखदेखि जिल्लामा निषेधाज्ञा निरन्तर जारी छ ।

सोमबार तनहुँमा १७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा १० महिला र सात पुरुष संक्रमित थपिएका छन् । हाल जिल्लामा २४० जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button