निजामती दिवसमा कास्की जिल्ला अदालतका पाँच कर्मचारी पुरस्कृत

राजाराम पौडेल । कास्की जिल्ला अदालतमा १८ औं निजामती सेवा दिवस मनाइएको छ । दिवसको अवसरमा अदालतले मंगलबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरेकाे छ ।

कार्यक्रममा वर्षभरिको कार्य सम्पादन मुल्याकंनबाट नायब सुब्बा पदमा कार्यरत किरण गुरुङ सर्वोत्कृष्ट कर्मचारी घोषित भई पुरस्कृत हुनुभयो । यसैगरी नायब सुब्बा पदमा कार्यरत अनिता बोहरा, कम्प्यूटर अपरेटर पदमा कार्यरत यामकान्त ढकाल, डिठ्ठा पदमा कार्यरत सुन्दर तिवारी र कार्यालय सहयोगी पदमा कार्यरत घनश्याम चापागाई निजामत पुरस्कारबाट सम्मानित हुनुभयो ।

उहाँहरुलाई कास्की जिल्ला अदालतका न्यायाधीशहरु श्रीकृष्ण भट्टराई, डण्डपाणी शर्मा, विष्णुप्रसाद उपाध्याय, बाबुराम सुवेदी, देवप्रसाद योगी, र आनन्दप्रसाद श्रेष्ठ तथा स्रेस्तेदार नवराज दंगालले पुरस्कार तथा सम्मानपत्र वितरण गर्नुभएको थियो ।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले वर्षेनी आयोजना हुने पुरस्कार तथा सम्मान कार्यक्रमले कर्मचारीको कार्यसम्पादन स्तरलाई थप प्रभावकारी बनाउन सघाउने बताउनुभयो । सबै कर्मचारी आ–आफ्नो क्षेत्रमा उतिकै अब्बल भएको भन्दै कर्मचारीको उत्प्रेरणाको निमित्त यस्तो कार्यक्रमले थप सहयोग पुर्‍याउने विश्वास गर्नुभयो ।

अदालतका स्रेस्तेदार नवराज दंगालले कर्मचारीमा उर्जा थप्नको लागि कार्यक्रमको आयोजना गरिएको सुनाउनुभयो । ‘अदालतमा कार्यरत कर्मचारीहरुमध्येबाट वर्षभरि सम्पादन गरेको काम, विषयवस्तुको ज्ञान र सीप गोपनियता राख्न सक्ने सीप, निर्देशन अनुसार काम गर्न सक्ने क्षमता, उपस्थिति, समयपालना र अनुशासन, इमान्दारिता र नैतिकता समेतका आधारमा पुरस्कृत गरिएको हो’ स्रेस्तेदार दंगालले प्रष्ट्याउनुभयो ।

सर्वोत्कृष्ट कर्मचारी घोषित हुनुभएका किरण गुरुङले सबै टिमको सहयोगबाट नै आफू सर्वोत्कृष्ट हुन सफल भएको भन्दै सबैप्रति आभार प्रकट गर्नुभयो । पुरस्कारले आगामी दिनमा अगाडि बढ्न उर्जा थपेको उहाँको भनाई थियो । अदालतका कार्यरत न्यायाधीश तथा कर्मचारीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन इजलास अधिकृत युवराज ढकालले गर्नुभएको थियो । नेपालमा २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएका हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button