बंगलादेशविरुद्ध डेब्यु गर्न सक्ने ५ महिला फुटबलर

रमेश सुवेदी/ न्युज कारखाना । एएफसी एसिया महिला कप छनोट तयारीस्वरुप नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुइमध्ये एक आज रहेको छ भने अर्काे खेल आइतबार हुनेछ । दुबै खेल अपरान्ह ५ बजे हुनेछ ।

नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेश र एसिया कप महिला २०२२ छनोटका लागि २३ सदस्यीय टोली घोषणा यसअघि नै गरेका थिए । घोषित टोलीमा अष्ट्रेलियन नागरिक ग्यारीले ७ नयाँ अनुहारलाई स्थान दिएका छन् । पहिलो पटक राष्ट्रिय टोलीमा प्रीति राई, सविता राना मगर, विमला विक, रजनी थोकर, रश्मी घिसिङ र सृजनासिंह ठकुरीले स्थान बनाएका हुन् ।

गत वर्ष पोखरामा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)यता नेपाली महिला टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ । साग खेलेका स्ट्राइकर निरु थापा र डिफेण्डर मनमाया लिम्बुले सन्यास लिइसकेका छन् भने सावित्रा भण्डारी, शर्मिला थापा, रेखा पौडेल टोली बाहिर छन् ।

घुँडाको एन्टेरिएल क्रुसियल लिगामेन्ट (एसिएल) च्यातिएपछि शल्यक्रिया गरेकी साम्बा टोलीमा उपलब्ध हुने छैन । यस्तै कोरोना पोजिटिभका कारण रेखा पौडेल पहिलो चरणमै बाहिर रहिन् ।

प्रशिक्षक ग्यारीले सार्वजनिक गरेको २३ सदस्यीय टोलीमा अनुभवीसहित नयाँ खेलाडी रहेका छन् । केही अनुभवी खेलाडी चोट लाग्नु, कोही भर्खरै कोरोना संक्रमणमुक्त हुनु, केही खेलाडीले आफ्नो लय अझै फर्काउन नसक्दा बंगलादेशविरुद्ध नयाँ खेलाडीले मौका पाउने छन् । जसमा केही डेब्युसमेत हुने सम्भावना छ ।

प्रशिक्षक ग्यारीले डिफेण्डर, मिडफिल्डर र स्ट्राइकर तिनै पोजिसनका खेलाडीलाई डेब्यु दिन सक्छन् । ग्यारीले नयाँ ७ बाट मिडफिल्डर प्रीति राई र सविता राना मगरलाई सुरुवाती–११ मै डेब्यु दिने सम्भावना छ ।

दोस्रो हाफमा भने स्ट्राइकर रश्मी घिसिङ र डिफेण्डर निशा थोकरले डेब्यु गर्न सक्छन् । यदि नेपालले गोल संख्या बढाएको खण्डमा स्ट्राइकर रजनी थोकर र डिफेण्डर सृजनासिंह ठकुरीले पनि पहिलो मैत्रीपूर्णमै डेब्यु गर्न सक्छन् ।

बंगलादेशविरुद्ध डेब्यु गर्न सक्ने ५ खेलाडी :

प्रीति राई

मिडफिल्डर प्रीतिले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । गत राष्ट्रिय लिगमा एपीएफबाट खेलेकी प्रीतिले दोस्रो प्रयासमा राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । लिगमा उनले दुई गोल गरेकी थिइन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम प्रशिक्षणमा रहेकी प्रीति भुटानमा भएको साफ यू–१५ खेल्न पुग्दा राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनन् । काठमाडौं निवासी प्रीति उमेर समूह यू–१५ को कप्तान हुन् । उनले यू–१९ टोलीबाटसमेत खेलेकी छन् । प्रीति हालको राष्ट्रिय टोलीको कान्छी सदस्य हुन् । प्रितीले बंगलादेशविरुद्ध सुरुवाती–११ मै डेब्युको सम्भावना छ । मुख्य स्ट्राइकर सावित्रा भण्डारी घुँडाको एन्टिरियल क्रियसिल लिगामेन्ट (एसिएल) शल्यक्रियापछि टोलीमा उपलब्ध नहुँदा प्रीतिले सावित्राको स्थान लिन सक्छिन् । प्रशिक्षक ग्यारीले प्रीतिलाई मिड लाइनसँगै अट्याकमासमेत परीक्षण गराएका थिए ।

सविता राना मगर

राष्ट्रिय लिगमा सविता राना मगरले चौदण्डीगढीविरुद्ध ह्याट्रिकसहित ४ गोल गरेकी थिइन् । सविताले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । उनी दोस्रो अवसरमा टोलीमा अवसर पाउँदै छिन् । सविताले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलेकी छन् । मिडफिल्डर सवितालाई प्रशिक्षकले आवश्यकताअनुसार अट्याकमा पनि बढाउन सक्छन् । तर परीक्षणका क्रममा सविताले धेरै मौका लेफ्ट विंगरबाट पाएकी छन् । अनुभवी खेलाडी अनिता बस्नेत आफ्नो लयमा नरहँदा साविताले सुरुवाती–११ मै डेब्यु गर्न सक्छिन् ।

निशा थोकर

अग्ली कदकी निशाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । महिला फुटबल र एकेडेमीको लागि उर्वरभूमि मानिने रौतहटको खेलाडी हुन् डिफेण्डर थोकर । उनले गत लिग विभागीय एपीएफ क्लबबाट खेलेकी थिइन् । लिगको उपाधिसमेत एपीएफले जितेको थियो । यसअघि डिफेण्डर निशा १३औं साग र हिरो गोल्डकप भारतमा खेल्न जाने टोलीको प्रारम्भिक प्रशिक्षणमा रहेकी थिइन् । निशाले नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छन् । निशालाई प्रशिक्षक ग्यारीले आवश्यकता र धेरै गोल निस्केको खण्डमा दोस्रो हाफमा डेब्यु गराउन सक्नेछन् ।

रश्मी घिसिङ

त्रिभुवन आर्मी क्लबकी रश्मी घिसिङ पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । उनले दोस्रो प्रयासमा टोलीमा स्थान बनाएकी हुन् । गत लिगमा रश्मीले एक ह्याट्रिकसहित ६ गोल गरेकी थिइन् । रौतहटकी रश्मीले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छन् । मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) चोटका कारण टोली बाहिर रहेसँगै रश्मीलाई अट्याक लाइनमा प्रमाणित गर्ने अवसर छ । प्रशिक्षक ग्यारीले रश्मीलाई समेत सुरुवाती एघारमा खेलाउन सक्छन् । उनले हालसम्म सावित्राको विकल्प बताएका छैनन् । प्रशिक्षण क्रममा रश्मीले समेत सेन्टर फर्वाडको भूमिकामा खेलेकी थिइन् । यद्यपि रश्मीले दोस्रो हाफमा डेब्यु गर्न सक्छिन् ।

विमला विक

राष्ट्रिय महिला लिगमा प्रभावशाली प्रदर्शन गरेकी विमलासमेत पहिलो पटक राष्ट्रिय टिमको ढोका खोलेकी हुन् । डिफेण्डर विमलाले आर्मी क्लबबाट प्रतिनिधित्व गर्दै २ गोल गरेकी थिइन् । विमलाले उमेर समूहमा यू–१५, १६ र १९ बाट खेलिसकेकी छन् । उमेर समूहमासमेत अब्बल प्रदर्शन गरेकी विमलाले राष्ट्रिय टोलीमा डेब्यु गर्ने प्रबल सम्भावना रहेको छ । तर सुरुवाती प्रशिक्षणमा प्रमाणित गर्न नसकेपछि राइट ब्याकमा प्रशिक्षकले विमलालाई दोस्रो हाफमा मात्रै डेब्यु दिन सक्छन् । पुजा रानाले यो पोजिसनमा राम्रो गरेकाले विमलालाई डेब्युका लागि दोस्रो मैत्रीपूर्ण कुर्नपर्ने सम्भावना छ ।

२३ सदस्यीय नेपाली टिम

गोलरक्षक : अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ,
डिफेण्डर : अमृता जैशी, बिमल बिक, गिता राना, हिरा कुमारी भुजेल, निशा थोकर, पुजा राना, पुनम जर्घा मगर, इन्दिरा राइ, सृजना सिंह ठकुरी,
मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, प्रिती राई, रेनुका नगरकोटे, सविता राना मगर, बिमला चौधरी,
स्ट्राइकर : अनिता केसी, रजनी थोकर, रश्मि घिरिङ, सरु लिम्बु

नेपालको सम्भावित सुरुवाती ११

गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डर : हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना
मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी
स्ट्राइकर : सरु लिम्बु

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button