
पोखरा न्यूज । सत्तारूढ गठबन्धन दलहरू सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा रहेका छन् । अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।
आज बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोही विषयमा छलफल गर्न भन्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) हिजो बिहीबार दुई भिन्नाभिन्न बैठकमा बसेका थिए ।
सरकार गठन भएको करिब दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको गठबन्धनले सम्भवतः आज पूर्ण दिने जनाइएको छ ।एकीकृत समाजवादी पार्टीमा एमालेका जनप्रतिनिधिले सनाखत गरिसकेका हुनाले अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने गठबन्धनबीच सहमति भएको छ । सरकारलाई पूर्णता दिने बारेमा यसअघि गठबन्धनका नेताहरू पटक-पटक छलफलमा जुटे पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन् ।
कांग्रेस सभापति देउवा गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनको मन्त्रिपरिषद्मा अहिले कांग्रेसबाट दुई मन्त्रीसहित एक राज्यमन्त्री र माओवादीबाट दुई जना मन्त्री छन् ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३० असार २०७६ मा प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको एमसिसी पारित गर्ने या नगर्ने भन्ने विषयमा पनि सत्ता गठबन्धनका नेताले बैठकमा साझा धारणा बनाउने बालुवाटार स्रोतले जनाएको छ ।
२०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको सरकार र एमसीसीबीच सम्झौता भएको थियो । ५ सय मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान सहयोग सम्बन्धी उक्त सम्झौता पास गर्ने पक्षमा कांग्रेस र जसपा छन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताहरू संशोधन हुनुपर्ने अडानमा छन् ।
दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन नसकेका बेला एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली पनि बिहीबारदेखि काठमाडौंमा छ ।





