घटेन आत्महत्या दर, गत आवमा गरे सात हजार ११७ जनाले आत्महत्या

पाेखरा न्यूज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत विभिन्न संघसंस्थाले आत्महत्या रोकथामका लागि कार्यक्रम संचालन गरिरहेका भए पनि बर्सेनि आत्महत्या बढ्दै गएको पाइएको छ ।

आज विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मानसिक अस्पताल पाटनका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. वासुदेव कार्कीले एक वर्षमा सात हजार ११७ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गर्नुभएकाे छ ।

उहाँका अनुसार एक वर्षको फरकमा ५.५८ प्रतिशतभन्दा बढीले आत्महत्या गरेका पाइएको छ । सरकारी तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७७/०७८ मा सात हजार ११७ जनाले आत्महत्या गरेका छन्, जबकि आव २०७६/०७७ मा छ हजार २४१ जनाले मात्र आत्महत्या गरेका थिए ।

२०७५/०७६ मा पाँच हजार ७५४ जना, २०७४/०७५ मा पाँच हजार ३१७ जना र आव २०७३/०७४ मा पाँच हजार १२४ जनाले आत्महत्या गरेको पाइएको छ ।

सरकारले दिगो लक्ष्य हासिल गर्नका लागि सन् २०३० सम्म आत्महत्याको दर ४.७ मा झार्ने बताइरहँदा नेपालमा दैनिक १६ जना मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक आएको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशत व्यक्तिमा आत्महत्याको सोच र योजना हुने गरेको पाइएको छ । मृत्युका कारणमध्ये १.४ प्रतिशत आत्महत्या हुने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले आत्महत्याको रोकथाम गर्नका लागि कार्यक्रम संचालन गरे पनि परिणाम निस्कन नसकेको बताउनु भयाे ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. आरपी बिच्छाले २०० भन्दा बढी शय्या भएका १३ वटा अस्पतालमा १० शय्याका दरले मानसिक रोगीका लागि बनाउन थालिएको बताउनु भयाे ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का नेपाल प्रमुख डा. राजेश संभाजिराव पाण्डवले नेपालले आत्महत्याको रोकथाम गर्न नसक्ने हो भने नसके दिगो विकासका लक्ष्य र डब्लूएचओको विश्व मानसिक स्वास्थ्य कार्ययोजना हासिल गर्न नसक्ने बताउनु भएकाे थियाे ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सरकारले आत्महत्या रोकथाम गर्नका लागि प्रयास गरिरहेको भए पनि परिमाण भने नआएको बताउनु भयाे। विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ ।

१० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ । यस्तै २.३ प्रतिशत वयस्कमा र ०.६ प्रतिशत किशोरकिशोरीमा उदासीनताको समस्या देखिएको र ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको पाइएको मन्त्रालयले सार्वजनिक गरेको अध्ययनमा देखाइएको छ ।

१.१ प्रतिशत वयस्क र ०.७ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ ।

विश्वमा बर्सेनि एक करोड ६० लाख जनाले आत्महत्या गर्ने गरेका छन् । झण्डै ९५ प्रतिशत व्यक्तिहरू, जसले आत्महत्याको प्रयास वा आत्महत्या गर्छन्, उनीहरुमा मानसिक समस्या रहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button