स्याङजामा बाउलाई बोराको पैसाले पुरिदिने आश्वासन, पोखरा बसेर करोडौँ ठगी!

दैनिक ६ हजार तिर्ने गरी स्कार्पियो भाडामा, दिनको १ लाख आम्दानी?

पोखरा न्यूज ।  स्याङजा फेदीखोला गाउँपालिका ४ आरुखर्कस्थित लप्सिवोटका केशव पौडेल भनेर चिनिने २२ वर्षीय  कृष्ण पौडेलको पछिल्लो समय गाउँमा चुरीफुरी निकै बढेको थियो ।

सामान्य कृषक परिवारमा हुर्किएका  र माध्यमिक तहबाटै विद्यालय जान  छाडेका पौडेलले दिनको एक लाख कमाउँछु भनेर आफन्त र साथीभाइ माझ सधैँ गफ दिने गर्दथे । आफ्नो घर र पोखरा आवतजावत गर्न उनले प्रयोग गर्ने सवारीसाधन र लवाई खवाई देख्दा उनको त्यो गफ गफ नभएर साँच्चिकै लाग्थ्यो ।

उनले त्यसअघि पोखरामा व्यापार व्यवसाय सञ्चालन गरेर देशभर शाखा विस्तार गर्ने योजनामा आफ्ना बुबालाई लगानी गरिदिन भनेका थिए । पोखरामा अफिस खोल्न पैसा लगानी गरिदिएको खण्डमा आफ्ना बाउलाई बोराका बोरा  पैसाले पुरिदिने आश्वासन देखाउँदै उनले ऋण झिक्न लगाएको र पुर्खौली घर र केही जग्गा समेत बेच्न लगाएको उनका साथीले नाम नबताउने सर्तमा पोखरा न्यूजलाई बताए । उनले पछि गाउँमै अर्को पुर्खौली जग्गामा घर समेत बनाए ।

महँगा महँगा बाइकमा सोख / दैनिक ६ हजार तिर्ने गरी स्कार्पियो भाडामा

पौडेलले घरबाट आऊ जाऊ गर्न महँगा महँगा सवारीसाधन प्रयोग गर्ने गर्दथे । महिना महिनामा बाइक परिवर्तन गर्ने उनको सोख थियो । उनले गाउँमा देखाउन कै लागि भए पनि  केही बाइक किनेर , केही भाडामा त केही बाइक साथीभाइका लिएर  जाने गर्दथे ।

पछिल्लो लकडाउन सँगै उनले आवत जावत गर्न दैनिक ६ हजार तिर्ने गरी स्कार्पियो भाडामा लिएका थिए । साथी भाइ तथा घर परिवारलाई आफ्नो दिनको कमाइ नै एक लाख हुने बताउँदै आएका उनले त्यही अनुसार साथीभाइलाई पार्टी दिने, मोज मस्ती गर्ने  र  रमाइलो गर्ने गर्दथे  ।

माध्यमिक तहमै  विद्यालय छोडे , सर्टिफिकेटमा डिग्री ?

सानै उमेरमा जाड रक्सीको कुलतमा लागेका पौडेलले आठ नौ कक्षाबाटै  विद्यालय जान छोडेको उनलाई नजिकबाट चिनेका साथीभाइ तथा आफन्त बताउँछन् । विद्यालय जान छाडे पनि उनले आफूले अनलाइनबाट पढेर स्नातक तह उतिर्ण  गरेको र आफूसँग ओर्जिनल सर्टिफिकेट रहेको बताउँदै आएको आफन्तको भनाई छ ।

प्रहरी नियन्त्रणमा परेको खबरले साथीभाइ झस्किए

आफूले पढाइ अनुसार काम शुरु गरेको र आफ्नो व्यवसायले दैनिक एक लाख मुनाफा दिने गरेको बताउँदै आएका पौडेलका साथीभाइ र आफन्त त्यति बेला छाँगाबाट खसे जस्तो भए जति बेला उनी ठगी आरोपमा प्रहरी नियन्त्रणमा रहेको भन्ने खबर सार्वजनिक भयो ।

फेसबुक मार्फत विज्ञापन गर्दै ग्यारेन्टीका साथ् आकर्षक जागिर  मिलाइदिने प्रलोभनमा पारेर  सम्पर्कमा आउनेसँग जनही  २५/२५ सय तिराएर फाराम भराएर ठगी गरेको गुनासो बढेपछि आरोपित पौडेललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पोखरा २७ स्थित अफिसमा बनावटी प्रदर्शन , सयौँ युवासँग करोड बढी ठगी !

पौडेलले पोखरा महानगरपालिका २७ स्थित ताल चोकमा पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्रालि नामक कम्पनी स्थापना गरेर जब सेन्टरको रूपमा कारोबार गर्दै आएका छन् । आकर्षक कार्यालय देखाएर कार्यालयमा एक जना सेक्युरिटी गार्डसहित ५/६ जना कर्मचारी राखेर उनले कामको खोजीमा त्यहाँ पुग्ने व्यक्तिको विश्वास जित्ने गरेको पीडितहरू बताउँछन् ।

उनले त्यहाँ जागिरका लागि पुग्ने कसैलाई आफूहरूले  ठुलो लगानीमा कम्पनी खोल्न लागेकोले त्यसमा जागिर लगाइदिने भन्दै त कसैलाई औद्योगिक क्षेत्रमा रहेका आफ्ना विभिन्न  कम्पनीमा जागिर लगाइदिने भन्दै ठग्दै आएको पीडितहरूले बताएका छन् । पौडेलले यसरी नै चार हजार ५०० जना भन्दा  बढीलाई  ठगेको पीडित युवाहरूको आरोप छ ।

पीडित युवाहरूको दाबीलाई आधार मान्ने हो भने उनले जनही २५ सयको दरले मात्र पनि एक करोड १२ लाख भन्दा बढी ठगी गरेको देखिन्छ । पीडित युवाहरूकै अनुसार कतिपयलाई त उनले भिन्न भिन्न पदका लागि दुई / तीन पटकसम्म पनि फारम भर्न लगाएका छन् ।

विश्वास जित्न स्टार होटलमा सेमिनार, कार्यक्रममा मिडिया कै प्रयोग ?

पौडेलले जागिरका लागि आवेदन फारम भरेका व्यक्तिहरूको विश्वास जित्न पोखराको होटल ग्राण्ड जस्ता स्टार होटलमा सेमिनार कार्यक्रम राख्ने गरेको पाइएको छ ।  उनले त्यस्ता कार्यक्रमको सञ्चालनमा  स्थानीय टेलिभिजन र  सञ्चारकर्मीलाई प्रयोग गरेर विश्वास दिलाउन खोजेको पीडितहरू बत्ताउँछन् । ‘मैले २० हजारको जागिर दिलाइदिने आश्वासनमा फारम भरे  । बिचमा तिन पटक आऊ जाऊ गरे, साउनको २९ गते जव शुरु हुन्छ भनियो तर भएन । पछि पोखराको होटल ग्राण्डमा सञ्चारकर्मीले नै कार्यक्रमको सञ्चालन गर्दा कम्पनी राम्रै रहेछ भन्ने भयो’,असारको २१ गते फारम भरेका लमजुङ भोर्लेटारका  २२ वर्षीय सुशील सुबेदीको भनाई छ ।

आफ्नो जागिर शुरु हुने दिन मै जाहेरी दिँदै पीडित

भोर्लेटारका २२ वर्षीय सुशील सुबेदी सँगै अर्का ४० वर्षीय पूर्ण प्रसाद सुबेदीलाई पौडेलले  भदौ २७ गते अर्थात् आज आइतबार जागिरमा जोइन हुने भनेर पोखरा बोलाएका थिए । सोही अनुसार सुबेदी द्वय पोखरा झर्दै छन् । आफूले आज जागिरे नयाँ जीवनको शुरुवात गर्ने सपना देखेका उनीहरूले आज  नै जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर पौडेल विरुद्ध जाहेरी दिने भएका छन् ।

‘हामीलाई दुई महिना भन्दा लामो समय देखि झुलाइयो, उ पक्राउ परेको भन्ने सुनेका छौ ।  जागिर शुरु हुन्छ भनेकै दिनमा जाहेरी दिनपर्ने भयो’ सुशील सुबेदीले  भने ‘हामीलाई यहाँदेखि तीन/तीन पटक आवतजावत गर्न दुख त दियो आउने जाने गर्दा पैसा समेत खर्च भयो  , आश्वासन देखाएर त्यसरी नै समय समेत बरबाद पारेको छ ।’

के भन्छ प्रहरी ?

जागिर लगाउने भन्दै एक वर्ष भन्दा अघिदेखि पैसा उठाउन शुरु गरेका पौडेलले केही पीडितलाई  भदौ २५ गतेसम्म जागिरमा लगाइसक्ने भनी दिएको अन्तिम भाका नाघ्दा पीडितहरूको गुनासो  प्रहरीसमक्ष पुग्यो ।

जब सेन्टरबाटै  जागिर लगाइदिन्छु भनी शुल्क लिएर रसिद काट्दै गर्दा पौडेललाई इलाका प्रहरी कार्यालय शिशुवाले शुक्रबार  पक्राउ गर्‍यो । पौडेल पक्राउ परे लगतै आफूहरू ठगिएको भन्दै शुक्रबार र शनिबार सयौँको संख्यामा आफै उपस्थित भएर र फोन मार्फत पीडितहरूले  जानकारी  गराएका छन् ।

आरोपी पौडेललाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।  आरोपी पौडेलमाथि आइतबार जाहेरी परेपछि मात्र अनुसन्धान अघि बढ्ने कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले बताउनुभयो  । डिएसपी हमालले भन्नुभयो ‘ शुक्रबार सोधपुछका लागि नियन्त्रणमा लिँदा अबेर भइसकेको थियो, शनिबार बिदा भयो, आइतबार  पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button