‘मुटु दुख्छ गिट्टी कुट्दाकुट्दा’

पाेखरा न्यूज । टाउकोमा नेपाली टोपी, ऊनीको बाक्लो स्विटर, दिउँसोको उखरमाउलो गर्मी, छडीमा छाता अड्काएर दिउँसोको गर्मी छल्दै गिट्टी कुट्दै गरेकाे भेटिनुहुन्छ उहाँ ।

कोभिड महामारीको भन्दा भोकको चिन्ता छ उहाँलाई । गिट्टी कुट्दै साँझ चुह्लो बाल्नु उहाँको दैनिकी हो । कोरोनाभन्दा पेटको आगो कसरी बुझाउने भन्ने चिन्ता छ उहाँलाई ।

उमेरले ७७ वर्ष पुगे पनि उहाँका दुःख ज्यूँका त्यूँ छन् । कोभिडका कारण जारी निषेधाज्ञाको परवाह छैन उहाँलाई, परवाह छ त भोक-प्यास मेटाउन कामको अनि थोरै आम्दानीको ।

दैलेख ठाटीकाँध- १ का आउँसे सुजी यसरी नै गुजारा गरिरहनु भएकाे छ । वडा- १ को मुख्य आवतजावत हुने ठाउँ भैरवथान नजिकै बसेर उहाँले गिट्टी कुटेरै दैनिकी चलाएको निकै समय भयो ।

सुनसान बिहान भालेको डाकसँगै आउनु हुन्छ र दिनभरि गिट्टी कुट्नु हुन्छ उहाँ । बिहानको खाना खाएर ३० किलोको एक बोरा गिट्टी कुटेबापत प्रति बोराको ७० रुपैयाँ पाउनु हुन्छ आउँसे ।

‘कोभिडको समयमा घरमै बसे हुने म बूढाले’, उहाँ भन्नुहुन्छ, ‘के गरौँ बाबै ! काम नगरी साँझ चुह्लो बल्दैन काम गर्नै पर्‍यो । गिट्टी कुट्दाकुट्दा बूढेसकालमा मुटु दुख्छ, हात-खुट्टा गलेर खाइना छन् ।’

गिट्टी कुट्दाकुट्दा फुटेका हात देखाउँदै उहाँ भन्नु हुन्छ, ‘आँखा पनि राम्रोसँग देख्दैन, हथौडा गिट्टीमा बजार्दा उल्टै हातमा बाजारिन्छ, म बूढाका दुःख !
पहिले श्रीमती हुँदा यति दुःख गर्नुपर्दैन थियो । दुई बूढाबूढी भैँसी पाल्थ्यौँ, घीउ बेच्थ्यौं,अहिले श्रीमतीले छाडेर गैहाली ।’

उहाँकी श्रीमतीको मृत्यु भएको छ वर्ष पुग्यो । श्रीमतीको मृत्युपश्चात दुःख नै दुःख भएको बताउनु हुन्छ उहाँ । ‘श्रीमती भएकी भए बरु आफैँ काम गर्थें, श्रीमतीलाई घरमै खाना बनाउन भन्थेँ, यतिका दुःख त हुन्थेनन्’, उहाँले भन्नु भयाे ।

बिहानदेखि साँझसम्म गिट्टी कुट्दाकुट्दा कहिले साँझ परेको पत्तै पाउनु हुन्न उहाँ । ‘छामछुम गरेर अँध्यारोमा घर जान्छु’, उहाँ भन्नु हुन्छ।

घरमा उहाँसहित १६ वर्षीय नाति रहेकाे उहाँले बताउनु भएकाे छ । नातिले पानी ल्याएर आगो बाले बल्छ, नत्र त्यसै सुत्ने उहाँ सुनाउनु हुन्छ । दिउँसोको उखर्माउलो गर्मीमा गिट्टी कुट्दा फुटेका हात देख्दा नातिले ‘बाज्या, मेरो लागि हजुरलाई बूढेसकालमा यसरी हात फोर्नुपरेको छ है ! हजुरको नातिले केही गर्न सकेन है !’ भनेर झन् भावुक बनाएर टुप्लुक्क आँसु खसाल्दै अँगालोमा आउने उहाँले बताउनु भयाे ।

‘क्या गर्नु बाबै ! तरुनै हुने बेला बरु सुख पाइएका हुन् । ऊ बेला सुख पाएर हो कि अहिले बूढेसकालमा यसरी दुःख गर्नुपरेको छ । हाम्रा पनि सुखका दिन आउलान् नि भनेर मन बुझाउँछु’, उहाँले निराशा पाेख्नु भयाे ।

गाउँगाउमा सिंहदरबार आयो भन्छन् तर आफू जस्ता बूढाले यसरी दु:ख पाएको ती सिंहदरबारले किहले देख्लान् ? भन्ने लागेको छ उहाँलाई ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button