एमालेकै कारण माओवादी र काँग्रेसलाई दियो बालेर खोज्नुपर्ने हुन्छ: किरण गुरुङ

पोखरा न्यूज । नेकपा एमाले स्थाई कमिटी सदस्य एवं निवर्तमान अर्थमन्त्री किरण गुरुङले आगामी निर्वाचनपछि गोरखामा माओवादी र काँग्रेस दियो बालेर खोज्नुपर्ने अवस्था पुग्ने तर्क गर्नुभएको छ ।

गोरखा सदरमुकाममा भएको एमालेको पार्टीको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले एमाले शक्तिशाली पार्टीको रूपमा स्थापित हुँदै गरेको भन्दै यस्तो तर्क गर्नुभएको हो ।

‘मलाई लाग्छ, अब आगामी निर्वाचनमा गोरखामा नेपाली कांग्रेस र माओवादीलाई दियो बालेर खोज्नु पर्ने अवस्था हुन्छ । नेकपा एमाले शक्तिशाली पार्टीको रूपमा स्थापित हुँदै छ’, उहाँले भन्नुभयो ।

एमाले विभाजनलाई रोक्न माधव पक्षका नेताहरूलाई पटक पटक सम्झाई, बुझाई गरे पनि उनीहरू नमानेर अर्को पार्टी खोल्न तर्फ लागेको गुरुङले बताउनुभयो।

‘उहाँहरूलाई के लाग्दो रहेछ भने अव गोरखामा सबै भन्दा बलियो पार्टी माओवादी छ । भोलि माओवादीसँग मिल्ने हो भने चुनाव जित्न सकिन्छ भनेर त्यता गठबन्धन गरेर लागेका हुन् । भ्रममा परेर, लोभ लालचमा परेर एकीकृत समाजवादीमा लागेका नेता, कार्यकर्ताहरूलाई म आग्रह गर्छु, एमालेमा फर्कनुहोस्’, उहाँले भन्नुभयो ।

बाटो बिराएर एमाले छाडेका नेता, कार्यकर्ताहरू फर्कन चाहे सधैँ स्वागत गर्ने उनले बताए । ‘नेकपा एमालेको छाती विशाल छ । यो विशाल पार्टी हो, विशाल नदी हो । त्यो विशाल नदीमा विष घोप्टाए पनि त्यो विषले नेकपा एमालेलाई केही गर्दैन । समुन्द्रमा तपाई जति विष छर्नुस् समुद्रले त्यो विष निल्छ । त्यसै गरी तपाईँ एमालेमा आउनुस्, जेसुकै गरेको भएता पनि आफ्नो गल्ती सम्झेर फर्किनुस्, तपाइहरूलाई हामी माफ दिन सक्छौँ । पार्टीमा स्वागत गर्नेछौँ’, उहाँले भन्नुभयो ।

नेकपा एमालेको शक्तिशाली कम्युनिष्ट सरकार गिराउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर माधव कुमार नेपालको एकीकृत समाजवादी पार्टीले ल्याएको विचार दक्षिणपन्थी अवसरवादी भएको गुरुङले आरोप लगाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button