गण्डकी प्रदेशसभा बैठक दुई महिनापछि बस्दै, कार्यसूचीमा के छ ?

पाेखरा न्यूज । गण्डकीको प्रदेशसभा बैठक आज मंगलबार बस्दै छ । ३० असारमा प्रमुख प्रतिपक्षीको विरोधका बीच मार्सल लगाएर बजेट पास भएपछि स्थगित सदन मंगलबारबाट सुरु हुन लागेकाे हाे ।

संसद् सचिवालयमा पाँच वटा विधेयक दर्ता भएका छन् । एउटा विधेयक सामान्य छलफलपछि दफाबार छलफलका लागि विधायन समितिमा पठाइएको छ भने चार वटा विधेयक मंगलबारको बैठकमा ‘टेबुल’ हुनेछ । आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक संसदमा प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।

आज दुई समितिमा सभापति चयन हुने

मंगलबारको बैठकले दुईवटा समितिको सभापति चयन गर्ने छ । प्रतिपक्षी सत्ता र सत्तापक्ष प्रतिपक्षी बनेपछि समिति पनि हेरफेर हुन लागेको हो । तत्कालीन सत्तापक्ष एमालेले सम्हाल्दै आएको विधायन समितिको सभापति अब कांग्रेसले पाउने छ भने तत्कालीन प्रतिपक्षी कांग्रेसले सम्हालेको सार्वजनिक लेखा समिति एमालेले पाउने छ ।

स्राेतका अनुसार कांग्रेसबाट विष्णुप्रसाद लामिछाने विधायन समितिको सभापति बन्नेछन् भने लेखा समिति सभापति एमाले सांसद रोशन गाहा थापालाई बनाउन लागिएकाे छ । दुबै नवलपुरका हुन् ।

सत्तारुढ र प्रतिपक्षबीच के सहमति भयो ?

एमाले सरकारले अघि सारेका विकास निर्माणका आयोजना अहिलेको सरकारले रोकेको भन्दै सदन अवरुद्ध हुँदै आएको थियो ।

गण्डकीमा पहिलो पटक प्रतिपक्षी बनेको एमाले २७ सांसदसहित बलियो छ । चार पार्टी मिलेर बनेको सत्ता गठबन्धनलाई प्रतिपक्षी निकै भारी परेको छ । बैठकको अघिल्लो दिन सोमबार कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तयार पारेको छ ।

अब बैठकमा प्रतिपक्षीले अवरोध नगर्ने सहमति भएको समितिका एक सदस्यले बताउनु भएकाे छ । संसद खुलाउन आइतबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङबीच वार्ता भएको थियो ।

सरकार छोड्ने बेलामा एमालेले स्राेतको सुनिश्चितता बिना १४ वटा आयोजनामा पाँच अर्बभन्दा बढीको टेण्डर गरेको आरोप सरकारका प्रवक्ता कुमार खड्काले पत्रकार सम्मेलनमा लगाउनु भएकाे थियाे ।

अहिले सबै आयोजना पुनः कार्यान्वयनमा लैजाने सहमति अनुसार मन्त्रिपरिषदबाट निर्णय पनि भइसकेको छ । चालू वर्षमा मोबिलाइजेसन रकम दिएर योजनाको काम अघि बढाउने निर्णय भएको खड्काले बताउनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button