आफ्ना सरकारी कागजात गोप्य राख्नुहोस्, नत्र फस्नुहोला है !

पाेखरा न्यूज । प्रीति तुम्बापो लोवा आफ्नो नाममा पक्राउ पुर्जी जारी भएको सुनेपछि छाँगाबाट खसेजस्तै हुनु भयाे । पाँचथरकाे हिलिहाङ गाउँपालिका-५ चतुरेबजार घर भएकी प्रीति झापाको दमकमा बस्दै आउनु भएकाे थियाे ।

कहिल्यै नामसमेत नसुनेका व्यक्तिले आफूविरुद्ध ठगीको आरोपमा मुद्दा दायर गरेपछि उहाँ अत्तालिनु भयाे ।

दूधे नानीसँग झापामा बस्दै आउनु भएकी श्रीमतीका नाममा ठगी गरेको भनि पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि विदेशमा रहनु भएका प्रीतिका श्रीमान् राजेन्द्रविक्रम लोवा हतार हतार बिदा मिलाएर नेपाल आउनु भयाे । कल्पना नगरेको विषय भए पनि मुद्दा चलिसकेको अवस्थामा उहाँहरूले एक अधिवक्ताको सहयोग लिई प्रतिउत्तर दिनु भयाे ।

ठगी गरेको आरोप लागेर मुद्दा लड्नुपर्ने भएपछि लोवा परिवारले सबै कुरा खोज्न थाल्यो । सो क्रममा भने उहाँहरू झनै आश्चर्यमा पर्नु भयाे । पक्राउ पुर्जी जारी भएको ठगीको मुद्दा पर्साकी नुरजहान खातुनले आफू लोवाबाट ठगीमा परेको भनि दायर गरेको पत्ता लाग्यो । मुद्दा अदालतमा विचाराधीन छ । मुद्दामा खातुनले आफूलाई अपरिचित व्यक्तिले बारम्बार मोबाइल एप इमोमा फोन गरी चिठ्ठा परेको बताएको, चिठ्ठाको रकम लिन ७० हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने र उक्त रकम प्रीति तुम्बापो लोवाका नाममा ९८२९२६०८९८ नम्बरबाट खोलिएको आइएमई पेमा पठाउन भनिएकाले आफूले उक्त रकम पठाएको र रकम पठाएपछि सम्बन्धित व्यक्ति सम्पर्कविहीन भएकाले आफू ठगिएको दाबी गरिएको छ । खातुनले जिल्ला अदालतमा गत ५ जेठ अभियोगपत्र दर्ता गरेको पाइएको छ ।

आइएमई पे एप्लिकेसन सञ्चालन गर्न नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने हुँदा ठगी गरेका व्यक्तिले लोवाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रयोग गरेको खोजीका क्रममा पत्ता लाग्यो । तर, लोवाको नागरिकताको प्रमाणपत्र प्रयोग गरेर गरिएको ठगी यतिमा सीमित थिएन ।

लोवा परिवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रयोग गरी आइएमई पे एप्लिकेसनमार्फत थप ठगी भएको हुनसक्ने र आफूहरू फस्न सक्ने आशंकामा उक्त एप्लिकेसनको झापाको बिर्तामोडस्थित सम्पर्क कार्यालय आइएमी डिजिटल सोलुसन लिमिटेडमा निवेदन दियो । त्यसपछि थाहा भयो, लोवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्रयोग गरी खोलिएको आइएमई पे एप्लिकेसनबाट २८९ वटा कारोबार भएका रहेछन् । अनि प्रिती तुम्बापो लोवाका नाममा ११ लाख ३५ हजार ५० रुपैयाँ पठाइएको रहेछ । उक्त एपमार्फत २० लाख ५२ हजार २५ कूल कारोबार भएको विवरण लोवा परिवारले पाउनु भएकाे छ ।

७ वैशाख ०७७ मा लोवाको नाममा खोलिएको आइएमई एपको अकाउण्टमा सोही वर्षको फागनुसम्म सक्रिय भएको पाइएको छ । अहिले आइएमई पे एपको उक्त अकाउण्ट बन्द छ भने अकाउण्टका लागि तथा चिठ्ठा प-यो भनि सम्पर्क गर्ने गरिएको मोबाइल नम्बरसमेत बन्द छ । तर, यति गम्भीर अपराधबारे तबसम्म लोवा परिवार बेखबर थियो, जबसम्म पक्राउ पुर्जी आएको थिएन ।

‘कसरी यस्तो भयो हामी अचम्मित छौँ’, पीडितका श्रीमान् राजेन्द्रविक्रम लोवा भन्नुहुन्छ, ‘नागरिकताको प्रमाणपत्र विभिन्न कामका लागि फोटोकपि र स्क्यान गर्नबाहेक अन्यत्र प्रयोग भएको पनि छैन् ।’

झापामा बस्ने उहाँहरू न त पर्सा पुग्नुभएकाे छ, न त्यहाँ अन्य कुनै सम्बन्ध नै छ । तर, उक्त एप्लिकेसनमा आर्थिक कारोबार भने अत्यधिक रूपमा पर्सा जिल्ला आसपासमै भएको देखिएका छन् । आफूहरूलाई जानकारी नै नभएका विषयमा मुद्दा परेको तथा नागरिकताको प्रमाणपत्र प्रयोग भएकाले अनुसन्धान गरी सहयोग गरिदिन लोवा परिवारले सोमबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा निवेदन दिनु भएकाे छ ।

उक्त विषयमा प्रहरीलाईसमेत जानकारी दिन आवश्यक परे उजुरी दिने तयारीमा लोवा परिवार छ । उक्त मुद्दा र लोवाको नागरिकताको प्रमाणपत्र प्रयोग गरी ठगी गरिएको विषय गम्भीर रहेको लोवाका कानुन व्यवसायी टीका तिम्सिनाले बताउनु भएकाे छ । ‘यो निकै गम्भीर अपराध हो । यस्ता घटना दोहोरिन नदिन सचेतना जरुरी छ”, तिम्सिना भन्नुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button