बालबालिकाले मुख्यमन्त्री समक्ष प्रतिभा मात्र देखाएनन् प्रश्न समेत सोधे

‘मुख्यमन्त्रीसँग बाल साहित्य’ कार्यक्रम हरेक महिना आयोजना हुने

राजाराम पौडेल । मंगलवार बिहान गण्डकी प्रज्ञा प्रतिष्ठानको कार्यालय पोखरा १ वगरमा पुग्दा ड्रेसमा सजिएका केही बालिका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्वागत गर्न कार्यालय परिसर बाहिर लाम लागेका थिए । अन्य बालबालिका माथिल्लो तलामा रहेको हलमा बसेर मुख्यमन्त्रीको प्रतिक्षा गर्दै थिए । उनीहरु उत्साहित देखिन्थे । किनकि उनीहरुले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीलाई भेट्न मात्र होइन आफ्नो प्रतिभा सुनाउन र प्रश्न समेत गर्न पाउँदै थिए ।

यो अवसर जुटाएको थियो गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकी प्रदेश पोखरा, शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेर । राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा बालगृह सञ्जालले सहकार्य गरेको थियो ।

कार्यक्रममा सुरुवाती प्रस्तुति ‘एसोएस बहिनी’बाट राखियो । एसोएस बहिनीका बालिकाहरुले आनी छोइङ डोल्माले गाएको ‘फूलको आँखैमा फूलै संसार’ गीत सामुहिक रुपमा प्रस्तुत गरे । उनीहरुले गीत मात्र गाएनन् । मादल र सारंगी समेत बजाउदै माहोल संगीतमय बनाए ।

अब पालो आयो बाल कल्याण संस्थाकी विपना विकको । उहाँले ‘बालक र अधिकार’ शिर्षकमा कविता सुनाउनुभयो । हिमाली बाल कल्याण संरक्षण मञ्चकी सपना दर्जीले ‘म झुक्दै नझुक्ने’ गीत गाउँदा माहोल पुनः संगीतमय बन्यो ।

थ्रि एन्जल नेपालकी दिपा थापाले आफ्नो संघर्ष, दुःख, रहर र सपनालाई कवितामा बुन्दै ‘मेरो जीवन’ शिर्षकमा व्यक्त गरेका भनाईले सबैलाई छोयो ।
अर्का प्रतिभा हिमाली बाल कल्याण संरक्षण मञ्चका अरविन सिंह धामीको ‘बाल अधिकार’ कविता झनै पेचिलो थियो । उहाँले बालबालिकाका पिडालाई मात्र कवितामा उतार्नु भएको थिएन । बाल अधिकारको बारेमा नेताले भाषण मात्र गर्ने गरेको गुनासो समेत गर्नुभयो । सेमिनार, गोष्ठी, सम्मेलन आयोजना गरेर मात्र बाल अधिकार प्राप्त नुहने उहाँले आफ्नो सिर्जना मार्फत सुनाउनुभयो । बालबालिकाका नाउँमा बनेका कानून नियम समेत लागू नहुने गरेको भन्दै उहाँले सरकार प्रति आक्रोस पोख्नुभयो ।

सृजनशील बाल विकासकी लक्ष्मी घर्तीले ‘आँखैमा राख्छु मेरो देश’ गीतमा नृत्य गर्नुभयो । ७ वर्षकी सुजता विकले ‘ज्ञानी बन्नुपर्छ’ कविता सुनाउनुभयो । सुजताले कविता मार्फत बाल्यअवस्थामा बालबालिकाले ध्यान दिनुपर्ने कुरालाई समेट्नु भएको थियो ।

चायल्ड वेयरफेयर एजुकेशनकी कञ्चन गुरुङले आफ्नै कथा सुनाउनुभयो । बाल्यकालमा रामघाटमा लास बोक्नले फालेका पैसा संकलन गरेको अनुभव र बाबा आमाले छोडर हिड्दाका पिडा उहाँले व्यक्त गर्नुभयो । आफ्नो बाल्य अवस्था निकै कष्टकर बनेको, आर्थिक अवस्था कमजोर हुँदा स्कुल जान नपाएको तथा विभिन्न ठाउँमा हन्डर खाँदै अहिले चायल्ड वेयरफेयर एजुकेशनमा रहेको अनुभव सुनाउँदा सबैलाई भावुक बनायो । कार्यक्रममा ७ वर्षदेखि १७ वर्ष सम्मका २५ जना अभिभावक विहिन बालबालिका सहभागी बनेका थिए ।

मुख्यमन्त्रीसँग शोभा नेपाली, सविना विक, सन्तोष पौडेल, वविता दर्जी, विपना घतानेले प्रश्न समेत सोध्नुभयो । उहाँहरुले बाल्यकालमा मुख्यमन्त्रीको रुचि के मा थियो, तपाई जस्तो बन्ने के गर्नुपर्छ भन्ने मात्र नभएर नागरिकता, रोजगारी, शिक्षा, स्वास्थ्य, बालबालिकाको लागि प्रदेशले बनाएका योजना लगायतका गम्भिर प्रश्न समेत सोध्नुभएको थियो ।
उहाँहरुका प्रश्नको जवाफ दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आफ्नो बाल्कयालमा अहिलेको जस्तो अवस्था नभएको बताउनुभयो ।
अहिलेको जस्तो अवस्था त्यतिबेला गाउँमा थिए । चराको बच्चा खोज्ने र पाल्ने गर्थे । कुकुरको बच्चा पाल्न समेत रुचाउथे । पिता गोर्वद्धन शर्मा राजनीति क्षेत्रमा लाग्नुभएको थियो । सोही कारण हामी भारतमा गयौ । भारतमा १० कक्षा पढ्दाबाट राजनीति क्षेत्रमा झुकाब राख्न थाले । मुख्यमन्त्रीले भन्नुभयोे ।

धैर्यता लगनशिलता र इमान्दारीताले सफलता दिने अनुभव आफूसँग रहेको उहाँले सुनाउनुभयो । उहाँले बालबालिकालाई केही आश्वासन समेत दिन भ्याउनुभयो ।

नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्था भएकोले कोही नागरिक नागरिकता विहिन हुन नपर्ने तथा अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले राहतका कार्यक्रम ल्याएको उहाँको भनाई थियो । खोपको प्रदेश सरकारले खोपको प्राथमिकतामा १८ वर्ष मुनिका बालबालिकालाई राखेको समेत उहाँले बताउनुभयो । प्रदेश सरकारले बालबालिका सम्बन्धी कानून मंगलबारनै पेश गर्न लागेको समेत खुलाउनुभयो ।

यसरी बालबालिकासँग भेट्नु आफ्नो लागि नौलो अनुभव भएको उहाँको प्रतिक्रिया थियो । ‘यो कार्यक्रममा सहभागी बन्दा मलाई नौलो अनुभव भएको छ’ मुख्यमन्त्रीले भन्नुभयोे । बालबालिकासँगै बिहानीको खाना खाएर मुख्यमन्त्री पोखरेल तहाँबाट फर्किनुभयो । मुख्यमन्त्रीसँग भेट्न, प्रश्न सोध्न, प्रतिभा देखाउन पाएकोमा सहभागी बालबालिका खुशी देखिन्थे । उनीहरुले मुख्यमन्त्रीसँग सामुहिक तस्विर पनि खिचाए ।

मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम अब हरेक महिना एकपटक आयोजना गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सहभागी हुनुभएका गण्डकी प्रदेश शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मन्त्री मेखलाल श्रेष्ठले बालबालिकालाई अभिभावक विहिन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, महाशाखा प्रमुख जमुना पौडेलले कार्यक्रमको बारेमा थप प्रष्ट पार्नुभएको थियो । यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले विभिन्न प्रसंग निकाल्दै सहभागी बालबालिकामा उत्साह थप्ने प्रयास गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button