कास्कीगण्डकीमुख्य खबरसमाचार

पोखरामा करोडौँ ठगी प्रकरण ! प्रहरीलाई ८३ जनाले बुझाए ठगिएको प्रमाण

पोखरा न्यूज । सामाजिक सञ्जाल फेसबुक मार्फत विज्ञापन गर्दै आकर्षक जागिर मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्दै आएका स्याङजा फेदीखोला गाउँपालिका ४ आरुखर्कस्थित लप्सिवोटका केशव पौडेल भनेर चिनिने २२ वर्षीय कृष्ण पौडेल हाल प्रहरी हिरासतमा छन् ।

पोखरा महानगरपालिका २७ स्थित ताल चोकमा पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्रालि नामक कम्पनी स्थापना गरेर सम्पर्कमा आउनेसँग जनही २५/२५ सयका दरले ठगी गरेका पौडेल विरुद्ध जाहेरी परेसँगै कास्की प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

उनले आफ्नोमा जागिर खोज्दै पुग्ने कसैलाई आफूहरूले ठुलो लगानीमा कम्पनी खोल्न लागेकोले त्यसमा जागिर लगाइदिने भन्दै त कसैलाई औद्योगिक क्षेत्रमा रहेका आफ्ना विभिन्न कम्पनीमा जागिर लगाइदिने भन्दै ठग्दै आएको पीडितहरूको भनाई छ । पौडेलले यसरी नै चार हजार ५०० जना भन्दा बढीलाई ठगेको पीडित युवाहरूको आरोप छ ।

पीडित युवाहरूको दाबीलाई आधार मान्ने हो भने उनले जनही २५ सयको दरले मात्र पनि एक करोड १२ लाख भन्दा बढी ठगी गरेको देखिन्छ । पीडित युवाहरूकै अनुसार कतिपयलाई त उनले भिन्न भिन्न पदका लागि दुई / तीन पटकसम्म पनि फारम भर्न लगाएर पैसा असुलेका छन् ।

तर जागिरको खोजीमा रहेका व्यक्तिहरूको ठुलो सङ्ख्यालाई पौडेलले ठगी गरेको भए पनि हालसम्म प्रहरीकोमा ८३ जनाले मात्र आफू ठगिएको प्रमाण पेस गरेका  छन् । यद्यपि जिल्ला प्रहरी कार्यालय कास्कीको गेट अघि दिनहुँ सयौँको संख्यामा पीडितहरू आफू ठगिएको भन्दै पुग्ने गरेका छन् । आइतबार मात्र जिल्ला प्रहरी कार्यालय अघि दुई / तीन सयको हाराहारीमा पीडित उपस्थित भएका थिए ।

कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालका अनुसार आइतबार, सोमबार र मंगलबार तीन दिनमा जम्मा ८३ जनाले मात्र प्रमाण स्वरूप पौडेलले पैसा लिएको रसिद र कागजात प्रहरीसमक्ष पेस गरेका छन् । ‘आजसम्म हामीलाई ८३ जनाले आफू ठगिएका प्रमाणहरू पेस गर्नुभएको छ’, डिएसपी हमालले भन्नुभयो, ‘ यदि कोही आफू ठगिएको हुनुहुन्छ भने अबको तीन सातासम्म आएर हामीलाई सम्पर्क गरेर आफूसँग भएका प्रमाण पेस गर्न सक्नुहुन्छ ।’

डिएसपी हमालका अनुसार ठगिएकामध्ये ३ जनाको मात्र आइतबार जाहेरी लिइएको हो। प्रहरीले यही जाहेरीको आधारमा कारबाही प्रक्रिया अघि बढाउने हमालको भनाई छ । उहाँले भन्नुभयो, ‘ हामीले सबैलाई जाहेरी दिन पर्दैन भनेका छौँ, जाहेरी दिँदा खर्च हुन्छ बरु तपाइहरूले ठगिएको प्रमाण स्वरूप बिल भौचर लगायतका कागजात पेस गर्नु भनेका छौँ ।’

हालसम्म भएको अनुसन्धानले पौडेलले सञ्चालन गरेको कम्पनी कानुनसम्मत रहेको पाइएको डिएसपी हमालको दाबी छ । उहाँले पोखरा न्यूजसँग भन्नुभयो, ‘ हामीले अनुसन्धानका क्रममा लिएका कम्पनीका कागजात ओर्जिनल छन् । काम कानुनसम्मत नै गरेको हो । खालि उनीहरूलाई जागिर मात्र लगाउन नसकेको हो ।’

उसले पीडितहरूलाई जागिर लगाइदिन्छु भनेर उल्लेख गरेका विभिन्न कम्पनीको बारेमा सम्बन्धित कम्पनीलाई पत्राचार गरिएको डिएसपी हमालको भनाइ छ । ती कम्पनी सञ्चालनमा रहे नरहेको र रहेको भए पौडेलले त्यस्ता कम्पनीसँग जागिर बारे सम्झौता गरे नगरेको भन्ने बारे सम्बन्धित कम्पनीले पत्राचारको जवाफ दिएपछि मात्र थाहा हुने डिएसपी हमालले उल्लेख गर्नुभयो ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments
Back to top button
0
Would love your thoughts, please comment.x
()
x