सेनाले फड्के बनाएपछि मनाङको चामेमा विद्यालय खुले

पाेखरा न्यूज । गत ३१ जेठ र १ असारमा आएको बाढीपहिरोले हिमाली जिल्ला मनाङ लोकप्रिय विद्यालयको कार्यालय, शिक्षक आवास, चारवटा कक्षाकोठा, डाइनिङ हल बगाएको थियो । मर्स्याङदीको बाढीले बगाएको विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु भएको छ  ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पल्साङ लामाले खेलमैदान र विद्यालय आउने बाटोसमेत बगाएको स्कुलमा आइतबारदेखि विद्यार्थी आउन थालेका बताउनु भएकाे छ ।

नेपाली सेनाले विद्यालय आउजाउ गर्न काठको फड्के बनाउनुका साथै छेउछाउ तारबार लगाएको प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनु भएकाे छ । कोइरालाका अनुसार अर्धवार्षिक परीक्षा सकिएपछि २० वैशाखदेखि स्कुल बन्द थियो । आन्तरिक तथा बाह्य मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशित गरिएको उहाँले बताउनु भयाे । आइतबार नाम दर्ता गरी हाजिर थालिएको र विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको छ ।

बाढीपहिरोका कारण सडक सबै क्षतविक्षत भएपछि बेंसीसहरबाट हेलिकोप्टरमा किताब ल्याइएको हो । गत वर्षको कोरोना संक्रमण जोखिम र १६ वैशाखपछिको निषेधाज्ञाले स्कुल खुलेका थिएनन् । शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख नारायण रेग्मीका अनुसार १ असोजबाट पूर्ण रूपमा विद्यालय खुल्नेछन् ।

चामे गाउँपालिकाभित्रका विद्यालय खुल्न थालेको र अन्य गाउँपालिकाका विद्यालय पनि खुल्ने उहाँकाे भनाइ छ । विद्यार्थी कम रहेको र कोरोना जोखिम पनि कम भएकाले आइतबारदेखि विद्यालय सञ्चालनको सुरुवात गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भएकाे छ । मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । जसमा चारवटा मावि, आठवटा आधारभूत र १४ वटा प्रावि छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button