पत्रकार विन्दुकुमारको काेराेना संक्रमणका कारण मृत्यु

पाेखरा न्यूज । काेराेना भाइरस संक्रमणका कारण पत्रकार विन्दुकुमार चौहानको ५३ वर्षको अल्पायुमै असामयिक निधन भएकाे छ ।

कोरोना संक्रमणको लक्षण देखिएपछि होम आइसोलेसनमा रहनुभएका पत्रकार चौहानको स्वास्थ्यमा एक्कासि समस्या आएपछि ५ दिनअघि भैरहवास्थित युसिएम अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा फोक्सोमा समस्या आई निमोनिया देखिएकाे चौहानको उपचाररत अवस्थामा गएराति २ः०० बजे निधन भएको हो । स्वर्गीय चौहानका श्रीमती, तीन छोरी र चार छोरा हुनुहुन्छ ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय चौहानले बुटवलस्थित लुम्बिनी दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको थियो । २०६२/०६३ को जनआन्दोलनमा पत्रकारिताको माध्यमबाट सक्रिय भूमिका निर्वाह गर्नुभएका चौहान पछिल्लो समय एबीसी टेलिभिजन र बुटवल टुडेमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ । उहाँ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य हुनुहुन्छ ।

महासंघका केन्द्रीय महासचिव राेसन पुरीले शाेक विज्ञप्ति जारी गर्दै स्वर्गीय पत्रकार चौहानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएकाे छ । उहाँले शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्नुभएकाे छ ।

महासंघका अनुसार कोरोनाकै कारण हालसम्म २५ जना पत्रकारको निधन भएको छ भने एक हजारभन्दा बढी पत्रकार संक्रमित हुनुभएकाे छ ।  कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न महासंघले सबै पत्रकारमा अपिल गरेकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button