मेरो जागिर र पेशा पुस्तक नपल्टाई चल्दैन : पराजुली

‘मिथ्या’ उपन्यास असोजको दोस्रो साताबाट पाठकमाझ आउँदै

पोखरा न्यूज । उपन्यास ‘मिथ्या’का लेखक हुनुहुन्छ दीपक पराजुली । पोखरा–१ बगरमा जन्मिनुभएका उहाँको ‘मिथ्या’ उपन्यास असोजको दोस्रो साताबाट पाठकमाझ आउँदै छ । बाल्यकालदेखि नै साहित्य तर्फ रुचि राख्ने पराजुली विभिन्न लेख, नाटक सहितका सृजना मार्फत पाठकमाझ परिचित हुनुहुन्छ ।

उहाँले लेखेको ‘यो कस्तो महाभारत’ नाटकलाई रङ्गमञ्चका दर्शकले रुचाएका थिए । यसै गरी रेडियो नाटकहरू अवसाद, गुमनाम, वन्स अपअन अ टाइम ईन प्लेटो गुफा, अतृप्त आत्माले श्रोताका मन जिते । यसका अलावा विभिन्न लेख मार्फत पाठक माझ आफूलाई स्थापित गराइसक्नुभएको छ ।

पराजुलीले साहित्यको क्षेत्रमा मात्र हैन प्राध्यापन र वकिल पेशा मार्फत समेत आफ्नो बेग्लै परिचय बनाउन सफल हुनुभएको छ । पृथ्वीनारायण क्याम्पस, माउन्ट भ्याली र करुणानिधि एजुकेसन फाउन्डेसनमा अध्यापन गराउनुहुन्छ भने अधिवक्ताको रूपमा समस्यामा परेका सर्वसाधारणको सारथि बन्नुभएको छ । उहाँ तार्किक क्षमतामा समेत अब्बल हुनुहुन्छ । पराजुलीसँग यसपालि हामीले पुस्तक अध्ययनसँग सम्बन्धित रहेर केही प्रश्न सोधेका छौँ ।

कस्ता पुस्तक मन पर्छन् ?
मन नपरेका पुस्तक त कम नै छन् । फेरि कस्ता पुस्तक मन पर्दैनन् भनेर नसोध्नुहोला । जे होस्, आख्यान पढ्दा भाषा बेरसिलो नहोस् र गैर आख्यानका तथ्य र तर्कहरू कमजोर नहुन् भन्ने लाग्छ । पुस्तक रोज्नुपर्दा इतिहास, राजनीति र धर्म पहिलो प्राथमिकतामा पर्छन् । आख्यानमा यिनको सान्दर्भिक प्रयोग छ भने खुसी हुन्छु ।

कलेजमा कोर्सका किताब पढाउनुहुन्छ । कोर्सका र कोर्स बाहिरका पुस्तक अध्ययन गर्दा हुने फरक ?
कोर्सका किताबमा पढ्ने–पढाउने विषयवस्तु निश्चित प्रकृतिका हुन्छन् । विश्वविद्यालयले तोकेको ढाँचा र पद्धतिमा हामी बाँधिएका हुन्छौँ । बाहिरका पुस्तकमा प्रशस्त विविधता हुन्छन् । दुवैको आफ्नै महत्त्व छ । म त कोर्सका र कोर्स बाहिरका पुस्तकलाई एक अर्काको परिपूरकको रूपमा लिने गर्छु । कुनै विषय, शब्द वा सन्दर्भको ठिक अर्थ खोट्याउनको लागि कोर्सको किताब जति उपयोगी हुन्छ, त्यसको अभ्यासलाई विस्तृतमा जान्न बाहिरी पुस्तक त्यति नै उपयोगी हुन्छन् भन्ने लाग्छ ।

तपाइलाई मन पर्ने पुस्तक कुन कुन हुन् ?
त्यो त धेरै छ । यो धेरैलाई धेरै पटक सोधिएको प्रश्न पर्‍यो । कति त अझै पढ्न बाँकी होला जो भोलि मन पर्ने वाला छ । त्यस्ता अरू पुस्तक जो कुनै लेखकले लेख्नै बाँकी पनि होला । हा हा हा… (हाँसो) । तैपनि कसैले पढ्नको लागि सिफारिस मागे भने झट्ट सम्झनामा आउने नाम भनेको नन्दलाल दशोराले व्याख्या गरेको ‘अष्टावक्र गीता’, हर्मन हेसको उपन्यास ‘सिद्धार्थ’, खलील जिब्रानको ‘द ब्रोकन विङ्स’, वानिरा गिरीको उपन्यास ‘कारागार’, बिपी कोइरालाको उपन्यास ‘मोदीआइन’, पुरुषोत्तम शमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’, नयनराज पाण्डेको उपन्यास ‘लू’, सरुभक्तको उपन्यास ‘समय त्रासदी’ र कुमार नगरकोटीको कथा सङ्ग्रह ‘मोक्षान्तः काठमान्डु फीभर’ आदि हुन् ।

जागिर, पेसामा पनि हुनुहुन्छ । पुस्तक पठनलाई कति समय दिनुहुन्छ?
हो, जागिर पेसामा आउनुअघि कलेज कालमा मेरो काम भनेको पुस्तक पढ्नु मात्रै थियो । यद्यपि अहिले मेरो जागिर र पेशा पनि पुस्तक नपल्टाई चल्दैन । आफ्ना रुचिका पुस्तकहरू बेलुका सुत्नुअघि र बिहान अलि छिटो उठ्न सकेको खण्डमा पढ्ने गरेको छु । बिदाका दिनलाई पनि सकेसम्म सदुपयोग गर्छु । साहित्यतर्फका पुस्तकहरूलाई कलेज कालमा जस्तो समय दिन सकेको छैन । पहिला भेटे जति पढ्न मन लाग्थ्यो समय पनि थियो । तर अहिले सेलेक्टिभ भएको छु ।

तपाइको पुस्तक पढ्ने माध्यम ?
पेपर ब्याकमा नै पढ्छु । अन्य डिजिटल माध्यममा त्यति बानी परेको छैन । किन्डलमा कोसिस गरूँ भन्ने लागेको छ ।

पुस्तक अध्ययनसँग सम्बन्धित केही रमाइला वा नरमाइला अनुभव सुनाउनु ?
सुनाउन लायक त्यस्तो कुनै प्रसङ्ग सम्झनामा छैन । राम्रो पुस्तक पढ्दा सन्तुष्टि जो मिल्छ त्यो नै मेरो लागि आनन्ददायक क्षण हो र हुनेछ । किशोर कालमा ब्रुस लीको जीवनी पढेर निकै प्रभावित भएको थिएँ । उनी प्रतिभावान् खेलाडी मात्र होइन । एक असल मानव पनि थिए । तिनताका उनको जस्तै कान छोपुवा जुल्फी बनाएर पनि हिँडेँ । अहिले सम्झँदा मुस्कुराउन मन लाग्छ ।

पुस्तक किन पढ्ने ?
कुनै पनि विषयवस्तुलाई ठिकसँग जान्न र बुझ्न पुस्तक नै बढी सहयोगी हुन्छ भन्ने लाग्छ । म त थाहा पाउनको लागि पढ्छु । रुचि हुनेले पढ्ने हो पुस्तक । कसैलाई सङ्गीतमा रुचि होला । कसैलाई चित्रकला, सिनेमा, खेलकुदमा होला । आफ्नो इच्छाको कुरा हो । कोही कसैलाई पढ्नै पर्छ भनेर बाध्य पार्न सकिन्न र त्यसो गर्न पनि हुन्न । पुस्तक पढेर मान्छेलाई केही न केही उपलब्धि भएकै होला । गुमाउन परेको बारे मलाई थाहा भएन ।

अहिले तपाई कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
अहिले म आर्चि ब्राउनको द राइज एण्ड फल अभ् कम्युनिजम पढिराछु । कुनै समय संसारका एक तिहाइ मानिसलाई नियन्त्रण गरेको त्यो विचारधाराको संस्थापना र घटनाक्रम एक रोचक उपन्यास जस्तै लागिराछ ।

नेपाली लेखकले पुस्तक लेख्दा के कुरामा ध्यान दिनुपर्छ ?
यो प्रश्नको उत्तर कुनै परीक्षामा दिनुपर्थ्यो भने मसँग एक सय एक आदर्श उत्तर छन् । व्यवहारतः मैले यो प्रश्नको उत्तर दिने समय आएको छैन होला । दश पन्ध्र वर्ष जति कुरौँ कि ?

पाठकले पुस्तक छनोट गर्ने र पढ्ने तरिकाबारे भन्नु न ?
सबैभन्दा सरल तरिका भनेको पढाकु साथीहरूसँग सिफारिस माग्ने हो । पढाकु साथी छैनन् भने त्यस्तालाई साथी बनाउने हो । साथी बनाउन सकिएन भने पनि चिन्ता गर्नु पर्दैन । मिडियामा अनि सामाजिक सञ्जालमा पनि अनेक सिफारिस आएका हुन्छन् । पुस्तक पढ्दै गएपछि आफ्नो रुचि अनुसार कसरी छनोट गर्नेबारे आफैँलाई पनि बोध होला ।

तपाई आफू चैँ कसरी पुस्तक छान्नुहुन्छ ?
अवश्य, म पनि पढाकु साथीहरूकै भर पर्छु ।

तपाईँको उपन्यास मिथ्या कहिले आउँदै छ ? उपन्यास बारे पाठकलाई केही भन्नु छ ?
यही असोजको दोस्रो सातामा आइपुग्छ । यो एउटा स्वैरकाल्पनिक उपन्यास हो । यसमा पाठकले कतै आफैँलाई भेट्नुहोला या कतै आफ्नालाई भेट्नुहोला या कुनै पराया अनि परचक्रीलाई पनि भेट्नुहोला । यदि त्यस्तो लाग्यो भने उहाँहरूले त्यो एक भ्रम मात्र थियो भनेर बुझिदिनुहोला । यही भन्न चाहन्छु ।

यो उपन्यास तयार पार्दाका केही अनुभव अनुभूति भए सुनाउनु ?
अनुभव अनुभूति केही, थोरै वा धेरै छैनन् । एउटै छ । त्यो हो,’रोमाञ्चक’ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button