६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ?

कार्यदलले दिएको जिम्मेवारी शीर्ष नेताले सकेनन्

पाेखरा न्यूज । असार २९ गते पद तथा गोपनियताको सपथ लिनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाउनु भएका देउवाले त्यसमा एक जना राज्यमन्त्री थप्नुभयाे । अहिले २५ वटा मन्त्रालय यिनै ६ जनाले चलाइरहनु भएकाे छ । मन्त्रिपरिषद् विस्तार गर्न पटक पटक बैठकहरु नबसेको होइन । तर हालसम्म टुंगो लागेको छैन ।

बिहीबार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्यो । बैठकमा मन्त्रालयका विषयमा सहमति जुट्न सकेन । लामो प्रयास गर्दा पनि शीर्ष नेताले मन्त्रालयको बाँडफाँड टुंग्याउन नसकेपछि सरकार सञ्चालनमा सहजीकरण गर्न गठन गरिएको कार्यदलको जिम्मा लगाइएको छ । ‘मन्त्रालयको संख्या कुन दलले के आधारमा कति लिने भन्ने विषय टुंगो लगाउने कार्यदललाई नै दिएका छौं,’ बैठकमा सहभागी एक शीर्ष नेताले भन्नुभएकाे छ ।

यसअघि कार्यदलले मन्त्रालयको बाँडफाँड तथा मन्त्री टुंग्याउने जिम्मा शीर्ष नेतालाई नै दिएको थियो । तर शीर्ष नेताहरु कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले टुंगो लगाउन नसकेपछि फेरि यसको जिम्मेवारी कार्यदलमा नै फर्केर आइपुगेको छ ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा मीनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देव गुरुङ, राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्य हुनुहुन्छ । अब यो कार्यदलले मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउनेछ ।

किन ढिलाई?

कांग्रेस नेता प्रदीप पौडेल गठबन्धनका दलहरुबीच समझदारी हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताउनु हुन्छ । ‘कांग्रेसभन्दा गठबन्धनका आबद्ध दलहरुका बीचमा समझदारी हुन नसकेको, दलहरुले आपसमै मन्त्रीको चयन गर्न नसकेको, दलसम्बन्धी अध्यादेश निष्क्रिय हुन नसकेको अवस्था हो,’ उहाँ भन्नुहुन्छ, ‘मुख्यगरी कांग्रेसभन्दा सरकारमा आबद्ध दलहरुको समस्याका कारण ढिलाई भएको हो ।’ तत्काल मन्त्रिपरिषदले पूर्णता पाउनुपर्नेमा पौडेलको जोड छ ।

माओवादी केन्द्रका नेता चन्द्रपाणी खनाल दलहरुबीच सहमति नभएकैले विस्तार हुन नसकेको बताउनु हुन्छ । ‘छलफल चलिरहेको छ । दलहरुको बीचमा सहमति हुनुपर्‍यो । केही अफ्ठ्याराहरुको समाधान गरौं भनेर ढिलाई भएको हो,’ उहाँले भन्नुभएकाे छ । अलिकति भागवण्डामा पनि समस्या देखिएको उहाँको स्विकारोक्ति छ । तर छिटोभन्दा छिटो विस्तार गर्नेगरी छलफल भइरहेको उहाँले बताउनु भयाे । ‘दलहरुको पार्टीभित्रको आन्तरिक समस्या हो । अन्य केही कारणले गर्दा पनि रोकियो । अब छिट्टै एकाध दिनभित्र हुन्छ,’ उहाँ भन्नुहुन्छ ।

खनालले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा माओवादी केन्द्रभित्र समस्या नभएको दाबी गर्नुभएकाे छ । कांग्रेसभित्र पनि समस्या नभएको तर माधव नेपाल र उपेन्द्र यादवको पार्टीभित्र समस्या देखिँदा ढिलाई भएको उहाँको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button