पोखराको छोरेपाटनमा भासियो, दुई घर जोखिममा

डुवान समस्यापछि दुई घर बिस्थापित

पोखरा न्यूज । पोखराको छोरेपाटन चौतारानजिकै भासिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित  शीतल चौतारापछाडि अस्थायी प्रहरी पोष्ट नजिकै बिहीबार राति भासिएको हो ।

बिहीबार राति  सडकबाट १५ मिटर छेउमा करिब १२ वर्ग मिटर क्षेत्रफल भासिदा स्थानीय विमला बोगटी र डिल माया गुरुङको घर जोखिममा परेका छन् ।

घर अघि नै भासिएपछि त्यहाँ रहेका भाडा पसल दुई वटा किराना पसल बन्द गरिएको छ भने आकाशको पानीबाट जोगाउन घर र जमिनको भागलाई त्रिपालले छोपिएको छ । उक्त क्षेत्रमा रहेको सौर्य बत्तीको पोल रहेको जमिन समेत एक मिटर तल दबिएको छ ।

गए राति करिब १०:३० बजेको समयमा ठुलो आवाजसहित उक्त स्थान भासिएको छोरेपाटन प्रहरी चौकीका प्रहरी नायव निरीक्षक महेन्द्र पौडेलले जानकारी दिनुभयो ।

आफूहरू ड्युटीमा खटिएकै बेलामा उक्त स्थानमा भासिएपछि तत्कालै घरमा रहेका व्यक्तिलाई र पसल सञ्चालकलाई खबर गरिएको र घरमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको पौडेलले बताउनुभयो ।

शुक्रबार विश्वकर्मा पूजा परेकाले सबैले मेसिनरी तथा  यन्त्र उपकरण पूजा गरेर राखेको र सबै  पूजाआजामा भएकोले शनिबार त्यहाँको भौगोलिक अवस्थालाई खोतलेर हेरेर समस्या समाधान तर्फ लाग्ने वडाध्यक्ष तीर्थ राज अधिकारीले बताउनुभयो ।

हाल भासिएको स्थानको १० मिटर दुरी उत्तर स्थित सडक क्षेत्रमा  करिब एक महिना अघि पनि  भासिएको थियो । त्यतिबेला उक्ता स्थानमा ग्रेगरसाहित ढुंगा माटोले पुरिएकोमा हाल सोहि स्थान नजिकै भासिएको हो ।

चौताराको उत्तर तर्फ दामोदर कुना पानी जम्मा भएर थुनिदा वर्षेनी तालमा परिणत हुने गर्दछ । उक्त पानी बाटो र घरहरू भएको स्थान मुनिबाट छिरेर जाने भएकाले उक्त स्थानहरूमा  भासिने गरेको  स्थानीयको भनाई छ ।

दामोदर कुनामा पानीको डुवानबाट भएको समस्याले दुइवटा पक्कि घर परिवार यसअघि नै बिस्थापित भइसकेको स्थानीय बद्रीनाथ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय  कमल क्षेत्रीको ४ जनाको परिवार र सुकबहादुर जिटीको ५ जनाको परिवार बिस्थापित भएका हुन् ।

त्यहाँ आफ्नो संगै सोमनाथ पहारी, हरि प्रसाद बराल, ऋषिराम बराल, बिमला बराल लगायतको घर उच्च जोखिममा रहेको बद्रीनाथ बरालको भनाई छ  । त्यस क्षेत्रको १२ रोपनी भन्दा बढी क्षेत्रफल वर्षेनी हुने डुबानमा पर्ने गरेको र कम्तीमा ३० घरहरू प्रत्यक्ष रूपमा जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित खबर : लगातारको वर्षापछि पोखराको छोरेपाटन चौतारानजिकै डुबान

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button