नगरपालिकाद्वारा छोरीहरुको खातामा वार्षिक चार हजार

बालिकाहरुले १५ वर्षपछि मात्र निकाल्न पाउने व्यवस्था

पाेखरा न्यूज । छोरीको सम्मान र प्रोत्साहनमा खोटाङकाे हलेसी तुवाचुङ नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको छ । छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरूप नगरपालिकाले आर्थिक वर्ष ०७७–७८ बाट ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको हो ।

‘बालिका बचत’ कार्यक्रमअन्तर्गत नगरपालिकाले १ साउन ०७७ देखि असार मसान्तसम्ममा जन्मिएका छोरीको नाममा खाता खोलेर र तीन वर्षको उमेर पुग्दासम्म वार्षिक चार हजारका दरले खातामा रकम जम्मा गरिदिने गरी कार्यक्रम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राईले बताउनु भएकाे छ ।

आव ०७७–७८ भित्र जन्मिएका ४६ जना छोरीको नाममा खाता खोलेर ‘बालिका बचत’ कार्यक्रमअन्तर्गत मासिक चार हजारका दरले रकम जम्मा गरिदिएको नगरपालिकाले जनाएको छ । ११ वडा रहेको नगरपालिकालाई बालिकामैत्री नगर बनाउने लक्ष्यका साथ आव ०७७–७८ को वार्षिक नीति तथा कार्यक्रमबाटै बजेट व्यवस्था गरेर कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमअन्तर्गतको सहयोग पाउन गर्भावस्थामा आमाले चारपटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्ने प्रावधान छ । कार्यक्रमका माध्यमबाट छोरा र छोरीमाथिको विभेदको अन्त्य गर्दै बचत गर्ने बानीको बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको उपमेयर राईले बताउनु भएकाे छ ।

कार्यक्रमका लागि नगरपालिका र सालपा विकास बैंकको हलेसी शाखाबीच वार्षिक ९ प्रतिशतले ब्याज उपलब्ध गराउने गरी हकवाला आमालाई राखेर बालिकाको नाममा १५ वर्षे मुद्धति खाता खोल्ने सम्झौता गरिएको छ । बैंक खातामा नाममा जम्मा भएको रकम बालिका १५ वर्षपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले जम्मा गरिदिएको खातामा स्वयं बालिकाको परिवारले समेत रकम बचत गर्नसक्ने छन् । लामो समयसम्म नगर बाहिर बसिरहेको अवस्थामा गाउँमा आएर गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराएकाको हकमा भने यो कार्यक्रम लागू नहुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गत २४ फागुनबाट औपचारिक रूपमा ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको हो । हलेसीमा आयोजित कार्यक्रममा पूर्वजलस्रोत राज्यमन्त्री तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मंगलटारकी लिलाकुमारी दमाईकी छोरी सुनिला परियारलाई ‘बालिका बचत’ कार्यक्रमअन्तर्गतको चेक हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गर्नुभएकाे थियाे ।

‘बालिका बचत’ कार्यक्रम सुरु गरेपछि हलेसी तुवाचुङ नगरपालिकामा नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने संख्या वृद्धि भएको छ । सो कार्यक्रमले व्यक्तिगत घटना दर्तामा समेत योगदान पु¥याएको उपमेयर राईले बताउनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button