उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा (तस्बिरसहित)

पाेखरा न्यूज । नेपालमा पहिलोपटक दुर्लभ प्रजाति नयाँ चरा भेटिएको छ । नेपालका लागि उपल्लो मुस्ताङमा ‘ठेउवा’ प्रजातिको नयाँ चरा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय लोमान्थाङले जनाएको छ ।

‘युरोपियन रोलर’ अथवा ‘युरोसियन रोलर’ नाम गरेको सो प्रजाति नेपालमै पहिलोपटक उपल्लो मुस्ताङबाट अभिलेख गरिएको हो । धार्मिक कला, संस्कृति र मौलिकताले भरिएको उपल्लो मुस्ताङको पर्यटकीय गाउँ लोमान्थाङ नजिककै केकीघांङ क्षेत्रमा इलाका संरक्षण कार्यालय’ लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले दुई साताअघि सो प्रजातिको चराका तस्बिर कैद गर्नुभएकाे थियाे ।

पर्यटनकर्मी गुरुङले कैद गरेका तस्बिरहरू सुरुआतमा नेपालमा पाइने ठेउवा हो कि भन्ने आकलन गरिए पनि सो तस्बिरको पहिचानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘इलाका संरक्षण कार्यालय’ जोमसोम-लोमान्थाङका कार्यालय प्रमुख एवं संरक्षण अधिकृत ऋषि बराललाई पठाइएको थियो ।

उहाँ उक्त प्रजातिको चरा ‘युरोपियन रोलर’ नै हो भन्ने विश्वस्त हुनुभयाे । चराको थप पहिचानको पुष्टि गर्न नेपाल र बाहिरका चरा विज्ञहरूलाई चराको विभिन्न तस्बिर पठाइयो । बेलायती चराविद् क्यारोल इन्स्किप, टिम इन्स्किप तथा नेपालका चराविद्हरू डा. हेमसागर बराल, सोम जिसी, सञ्जीव आचार्यलगायतले चरा ‘युरोपियन रोलर’ नै भएको र हालसम्म नेपालमा अभिलेख नभएको बताउनु भएकाे छ ।

चरा अवलोकनमा रुचि राखेर नियमित चरा अवलोकन गर्ने गरेका एक्यापका कर्मचारी गुरुङले सो चरा नेपालमा पहिलो पटक अभिलेख गर्न पाउँदा उत्साहित बनाएको बताउनु भएकाे छ । गुरुङ चरासम्बन्धी अवलोकनमा विशेष रुचि राख्ने गर्नुहुन्छ

संरक्षण अधिकृत ऋषि बरालले अझै पनि नेपालमा नयाँ चराहरू भेटिनु थप अनुसन्धानको आवश्यकता रहेको औंल्याउनु भएकाे छ । ‘नयाँ प्रजातिको चरा कसरी यो क्षेत्रमा आयो ? यिनको अवस्था कस्तो छ ? उहाँले भन्नुभएकाे छ, ‘यसका लागि थप अनुसन्धान गर्नैपर्ने हुन्छ ।’

वरिष्ठ चराविज्ञ डा. हेमसागर बरालले उपल्लो मुस्ताङमा भेटिएको चरा नयाँ प्रजातिको भएको दाबी गर्नुभयाे । ‘वास्तवमा यो चरा नेपालमा पाइन सक्छ भनेर यसमा रुचि राख्ने विज्ञहरूले तराई क्षेत्रमा निकै खोज गरे, अन्ततः चरा उपल्लो मुस्ताङमा पो भेटियो,’ उहाँले भन्नुभयाे, ‘यो चरा नेपालमा पहिलो पटक अभिलेख भएको छ, यो चरा वयस्क चरा भने होइन ।’ थप नयाँ प्रजाति मुस्ताङमा भेटिएसँगै अन्नपूर्ण क्षेत्रमा पाइने चराको संख्या पाँच सय १९ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button