कोरोनाका भेरियन्ट : देखियो डेल्टा र अल्फा, बिटा र गामाको चेतावनी

पाेखरा न्यूज । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिएको दुई वर्ष पुग्न लागेको छ । डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वभर देखिएको छ ।

विश्वभर फैलिँदा कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिएका छन् । जुन मानव स्वास्थ्यका लागि निकै घातक सावित भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को भेरियन्ट अफ इन्ट्रेष्टमा अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टलाई सबैभन्दा घातक मानिएको छ । नेपालमा यीमध्ये डेल्टा र अल्फा भेरियन्टको संक्रमण देखिसकिएको छ भने बिटा र गामा भेरियन्ट भित्रिन सक्ने सम्भावना अधिक छ।

चीनको वुहाननजिकै पशुपंक्षी व्यापार हुने एक बजारमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो । उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो । हालसम्म पनि भाइरसको प्रकोप कायमै छ । उक्त भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ हो । यसको संक्रमणबाट हुने रोगलाई कोभिड–१९ भनिन्छ । भाइरसको नाम तीन शब्द कारोना, भाइरस र डिजिजसँगै सन् २०१९को संयोजनमा बनाइएको हो ।

आनुवांशिक संरचनामा आरएनए भएका भाइरसको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस नामाकरण गरे, जसको बाह्य रूप किरीट अर्थात् श्रीपेच आकारको छ । त्यसलाई नेपालीमा ’किरीटाकार विषाणु’ वा ’किरीट विषाणु’ भनिए पनि कोरोनाभाइरस सजिलै बुझिने नाम हो । अहिले यस भाइरसको विभिन्न किसिमका सयौं भेरियन्टहरू विश्वभरिनै देखापरेका छन् ।

तीमध्ये अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टलाई सबैभन्दा घातक मानिएको छ । डब्लूएचओले भेरियन्ट अफ कन्सर्नभित्र परेका यी चार भेरिन्टलाई घातक मानेको छ । यी भेरियन्ट विश्वभरि तीव्र रूपमा फैलिरहेको छ ।

डब्लुएचओको भेरियन्ट अफ इन्ट्रेष्टमा इटा (बी १.५२५), लोटा (बी.१.५२६), कप्पा (बी.१.६१७.१), जीटा (पी.२), थिटा (पी.३) लगायत छन् । जसको उद्गम मुलुक पेरु, कोलम्बिया, फिलिपिन्स, भारत तथा अमेरिका रहेका छन् ।

यस्तै बी.१.४२७, बी.१.४२९, आर १, सी.३६.३, सी.१.२ लगायतका भेरियन्टको चेतावनी डब्लूएचओले दिइसकेको छ । जसको उद्गम देश साउथ अफ्रिका, इन्डोनेसिया, रसिया, इजिप्ट लगायत छन् ।

भारतमा फैलिएको बी.१.६१७.२ कोरोनाभाइरसको प्रकारलाई नाम उच्चारण सजिलो बनाउन सञ्चारमाध्यम तथा मानिसले भारतीय भेरियन्टको नाम दिएका थिए । केही समयपछि भारतले यस नामप्रति आपत्ति जनाएकोले डेल्टा भेरियन्टका रूपमा पहिचान गरियो ।

भेरियन्टको नामाकरणका लागि ग्रीक वर्णमालाका अक्षर अल्फा, बीटा, गामाजस्ता गैरवैज्ञानिक समूह वा उच्चारण तथा छलफल गर्न सजिलो र अधिक व्यावहारिक हुने अक्षरहरू प्रयोग गर्न डब्लूएचओले सिफारिस गरेको हो ।

यस्तै बेलायतमा भेटिएको खतरनाक भेरियन्ट (बी.१.१.७) लाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा नामाकरण गरियो ।अमेरिका, ब्राजिल, फिलिपिन्स र अन्य मुलुकहरूमा भेटिएका कोभिडका नयाँ भेरियन्टलाई क्रमशः एप्सिलन, जेटा, आयोटा र थेटाजस्ता नाम दिइएको छ।

नेपालमा बिटा र गामा आउन सक्ने

नेपालमा भेटिएका भेरियन्ट अफ कन्सर्नमा डेल्टा र अल्फा छन् । टेकु अस्पतालका संयोजक डा.शेर बहादुर पुनका अनुसार नेपालमा भेटिएका दुई भेरियन्टमध्ये डेल्टा सबैभन्दा बढी संक्रामक मानिन्छ। ‘तीमध्ये नेपालमा अल्फा भेरियन्टको मात्र पहिचान गर्न सकिने अवस्था छ’, पुनले भन्नुभयाे, ’भारतमा बिटा र गामा भेरियन्ट देखिएको हुनाले नेपालमा पनि यो भाइरस भित्रिने सम्भावना धेरै छ’।

यी भेरियन्ट पहिलेको स्वरूपभन्दा छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी संक्रमण हुने पाइएको छ। चिकित्सकहरूका अनुसार ज्वरो आउने, झाडापखाला लाग्ने, पेट दुख्ने, श्वासप्रश्वासमा र मुटुमा समस्या लगायत यसका लक्षणहरू हुन् ।

भेरियन्ट प्राकृतिक रूपमा म्युटेन्ट भएर विकसित हुँदै जान्छ । देशको भूगोल र वातावरणले पनि भेरियन्टको प्रकृतिमा कहीँ कतै असर पार्न सक्दछ । भेरियन्टको उत्पत्तिपछि यसले एक किसिमको लहर ल्याउने र त्यस समयमा सो भेरियन्ट घातक बन्ने संयोजक पुनको भनाइ छ।

भाइरसको भेरियन्टको पहिचान गर्नु जरुरी भएकाले भाइरसको उत्परिवर्तनबारे जानकारी लिइ रोग नियन्त्रण नीति तथा प्रतिकार्य गर्न आवश्यक छ । हरेक महिना भाइरसको संक्रमण क्षमता वृद्धि भई समुदायमा फैलन सक्ने संभावना बलियो हुन्छ । अहिलेको अवस्थामा हरेक महिनामा हरेक उमेर समूहको प्रतिनिधित्व हुने गरी १०/१५ वटा भाइरसका नमुनाको अणुवांशिक तत्वहरूको सिक्वेन्सिङ गर्नुपर्छ । तर, नेपालमा अल्फा भेरियन्टको मात्र पहिचान गर्न सकिने अवस्था छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button