पोखरामा परीक्षा दिन हिँडेकी छात्रालाई जेब्रा क्रसमा ठक्कर दिएर मोटरसाइकल फरार

पोखरा न्यूज । पोखरामा जेब्रा क्रसमा बाटो काट्न लागेकी छात्रालाई ठक्कर दिएर मोटरसाइकल फरार भएको छ ।

पर्वत राम्जा चित्रे घर भई जिरो किलोमिटर बस्दै आएकी १८ वर्षीया अरुणा विकलाई पोखरा महानगरपालिका ५ जिरो किलोमिटर चोकमा रहेको जेब्रा क्रसमा ठक्कर दिएर मोटरसाइकल भागेको हो ।

वाराही स्कुल मालेपाटनमा कक्षा १२ को परीक्षा दिन हिँडेकी अरुणालाई ग २० प ४१९२ नम्बरको मोटरसाइकलले ठक्कर दिएर भागेको प्रत्यक्षदर्शी रमेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जरेवर तर्फबाट तीव्र गतिमा आएको दुई जना सवाररत मोटरसाइकलले विपरीत दिशामा आएर जेब्रा क्रसमा बाटो काट्न लागेकी छात्रालाई ठक्कर दिएको हो ।

उहाँले भन्नुभयो ‘ तीव्र गतिमा बाङ्गोटिङ्गो गर्दै चलाएर आएको थियो । चोकमा धन्न अरू ५/६ वटा सवारीसाधनलाई ठोकेन । पछाडि युवती बोकेर हिँडेको १८/२० वर्षको जस्तो युवकले चलाएको मोटरसाइकलले दायाँ तर्फको लेनमा आएर ठक्कर दिएर भाग्यो ।’

पोखराको व्यस्त मध्येको चोकमा सधैँ ट्राफिक र प्रहरी हुने भए पनि घटना घट्ने समयमा त्यहाँ कोही नभएको स्थानीय विजय श्रेष्ठले बताउनुभयो । छात्राको ११ बजे फाइनल परीक्षा रहेकाले थप चेक जाँच परीक्षा सकेर गर्ने गरी स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् परीक्षामा सामेल हुन् पठाइएको श्रेष्ठले बताउनुभयो । उहाँले जेब्रा क्रसमा समेत सवारीसाधन तीव्र गतिमा चलाउने गर्दा पैदल यात्री असुरक्षित हुने गरेको बताउनुभयो ।

पोखरा महानगरपालिका ५ को कार्यालयको सहयोगमा अध्ययनरत अरुणाका बाबुआमा अशक्त रहेको र आर्थिक अवस्था कमजोर रहेको भन्दै अरुणाकी ठुलीआमा लीला विकले ठक्कर दिने मोटरसाइकललाई पत्ता लगाएर आवश्यक उपचार लगायतमा सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button