साहूसँग ऋण काढेर चामल किन्न दुई दिनको यात्रा

नपाएपछि आँशु झार्दै घर फर्किन् जुनकला

पाेखरा न्यूज । बाजुराको हिमाली गाउँपालिका-२ बिच्छँयाकी जुनकला बुढा साहूसँग सयकडा पाँच रुपैयाँ ऋण काढेर चामल किन्न दुई दिन लगाएर कवाडी डिपो पुग्नुभयाे ।

विपन्न परिवारकी बालिका जुनकलाले महँगो ऋण काढेर जाँदा पनि चामल किन्न पाउनु भएन । कवाडी डिपोमा एक दाना पनि चामल थिएन । दुई दिन पैदल हिँडेर चामल किन्न जानुभएकी जुनकला चामल नपाएपछि रुँदै घर फर्किनु भयाे । पाँचजनाको परिवार रहेको जुनकलाका बुवा बिरामी हुनुहुन्छ । आमा अशक्त हुनुहुन्छ । त्यसैले उहाँ आफैं चामल लिन टाढाको डिपोमा पुग्नुभएकाे हाे ।

‘आमा हिँड्न सक्नु हुन्न । बिरामी बुवा आउन सक्नुभएन, त्यसैले म आएँ । तर डिपोमा चामल नै रहेनछ,’ उहाँले आँखाभरि आँशु झार्दै भन्नुभयाे । रित्तो हात घर जानुपर्दा उहाँ निकै दुःखी हुनुहुन्छ । ‘कोल्टी डिपो पुग्न त्यहाँबाट अझै एकदिन लाग्छ, उतै बास बस्नुपर्छ । अब कसरी रित्ता हात लिएर घर जानू ?’ उहाँले भन्नुभयाे।

जुनकला जस्तै धर्मा बुढा पनि चामल नपाएपछि खाली हात घर फर्कनु भएकाे छ । ‘हाम्रो दुःख सरकारले हेर्दैन, पैसा छ, तर चामल किन्न पाइएन,’ उहाँले भन्नुभयाे। चामल नपाएपछि सिस्नोले छाक टार्ने उहाँले बताउनु भएकाे छ।

समयमै खाद्यान्न ढुवानी गर्दैनन् ठेकेदार

ठेकेदारले समयमै चामल ढुवानी नगर्दा बाजुराको हिमाली गाउँपालिकामा खाद्य संकट उत्पन्न भएको छ । गत असोजमै ठेकेदारले हिमाली गाउँपालिकाको कवाडी डिपोमा चामल ढुवानी गरिसक्ने ठेक्का सम्झौता गरेका थिए । तर अहिलेसम्म ल्याउन नसक्दा चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–५ का वडाध्यक्ष अम्मलाल कार्कीले बताउनु भयाे ।

बिच्छँयामा मात्र चार हजार जनसंख्या छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन । हिमाली गाउँपालिका बाजुराको सर्वाधिक विकट गाउँपालिका हो । गाउँपालिका पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गर्छ ।

आर्थिक वर्ष ०७७–७८ मा मार्तडी शाखाका लागि नौ हजार एक सय चार क्विन्टल, कोल्टी शाखाका लागि आठ हजार क्विन्टल, कवाडी डिपोका लागि २२ सय क्विन्टल चामलको कोटा थियो । गत आर्थिक वर्षको सबै चामल बिक्री गरेकाले संस्थानमा ताला लगाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडी शाखा प्रमुख मेखराज ओझाले बताउनु भयाे ।

यो आर्थिक वर्षमा मार्तडीका लागि ६ हजार, कोल्टीका लागि सात हजार र कवाडी डिपोका लागि तीन हजार क्विन्टल स्वीकृत भएको छ । तर ढुवानीको प्रक्रिया कुनै अगाडि नबढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताउनु भयाे । दशैंमा पनि चामल आउने सम्भावना नरहेको उहाँको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button