बागलुङमा गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुरु

पोखरा न्यूज, ८ असोज । नेपाल आईटीएफले बागलुङमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुरु गरेको छ । शुक्रबारदेखि बागलुङको ढोरपाटन नगरपालिका बोबाङमा शुरु भएको प्रतिस्पर्धा शनिबारसम्म चल्नेछ ।

प्रतियोगितामा गण्डकीका छवटा जिल्ला सहभागी छन् । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले खेलको विकासका लागि गण्डकी सरकार निरन्तर लागिरहेको बताउनुभयो  । ‘पहिले छुट्टै मन्त्रालय थिएन । अहिले खेलकुद हेर्ने मन्त्रालय छुट्टै छ । हाम्रो अधिकतम प्रयास खेलकुदको विकासमै छ’, उहाँले भन्नुभयो, ‘युवाहरूलाई खेल र रोजगारीसँग जोड्नुपर्छ । युवा बेरोजगार हुनु भनेको देश दुर्घटनामा फस्नु जस्तै हो ।’ उहाँले  ग्रामीण क्षेत्रमा खेल मैदानहरू निर्माण गर्ने र स्वरोजगारका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो  ।

गण्डकी खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङले देशले नै खेल क्षेत्रलाई महत्त्व नदिएका कारण समस्या भोग्नुपरेको बताउनुभयो  । ‘हाम्रो जस्तो देशमा खेलकुदलाई महत्त्व दिएको छैन । गण्डकीमा पनि धेरै अप्ठ्यारा परिस्थितिहरू छन् । खेल खेल्यो भने के हुन्छ भन्ने ज्ञान अभिभावकलाई छैन’, उहाँ भन्नुहुन्छ , ‘पूर्वाधार र खेल सामग्रीको अभाव छ । यही अभावबाट पनि व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेछ । गण्डकीले केही शुरुवात गरेको छ ।’

खेलाडी दुर्घटना भए त्यसको उपचार नि:शुल्क गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो  । ‘कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीलाई सत प्रतिशत नि:शुल्क उपचार हुन्छ । राष्ट्रिय खेल खेलेकालाई ५० प्रतिशत छुट गरेका छौँ’, उहाँले भन्नुब हयो , ‘यो सुरुवात मात्र हो तर खेलाडीका लागि सुखद पक्ष हो ।’

उहाँका  अनुसार सरकारले गाउँघरमा भएका विद्यालयका खेल मैदानलाई स्तरोन्नति गर्न लागेको छ । ‘सरकारी विद्यालयमा जग्गा भए सेभेन ए साइडको फुटबल खेल्ने मैदान बनाउन लागिरहेका छौँ । सूचना निस्किसकेको छ’, गुरुङले थप्नुभयो, ‘युवा स्वरोजगारका लागि पनि खेलाडीले उद्यम गर्न चाहन्छ भने प्याकेज ल्याएका छौँ ।’

निशीखोला र तमानखोला गाउँपालिकाका अध्यक्षहरूले ग्रामीण पूर्वाधारमा साथ दिन आग्रह गरे । बागलुङबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भए पनि त्यसअनुसार पूर्वाधार नभएको उनीहरूको गुनासो छ । आईटीएफका गण्डकी अध्यक्ष घमबहादुर थापाले सबैखाले एकताको स्रोत खेलकुद भए पनि खेल क्षेत्रमा राज्यको नजर नपुगेको बताउनुभयो ।

‘विश्वभर विभाजन छ विभिन्न नाममा तर खेल क्षेत्र मात्र यस्तो हो, जहाँ एकता मात्र हुन्छ’, उहाँले भन्नुभयो, ‘हामी एकताका लागि मिहिनेत गरिरहेका छौँ । धेरै युवाहरू कुलतमा फसिरहेका छन् । उनीहरूलाई खेल क्षेत्रमा जोड्न सके समाज राम्रो बन्छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button