एमालेले गाँजालाई वैधानिकता दिन प्रयास गर्ने नेता स्थापितको भनाई

गाँजालाई औषधिको रूपमा प्रयोग गर्नुपर्ने भन्दै वैधानिकता दिन माग

पोखरा न्यूज, ८ असोज । नेकपा एमालेका नेता तथा बाग्मती प्रदेशका सांसद केशव स्थापितले गाँजालाई वैधानिकता दिन माग गर्नुभएको छ  ।

उहाँले  गाँजालाई औषधिको रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभएको हो  । गाँजालाई लागुऔषधका रूपमा भन्दा पनि औषधि प्रयोजनका लागि वैधानिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो  ।

‘नेपालमा रहेका युवाहरूलाई गाँजाको सही प्रयोग गरी रोजगारी सिर्जना गर्नुपर्छ’, उहाँले भन्नुभयो ।  गाँजालाई औषधिको रूपमा प्रयोग गर्नेबारे माधव नेपाल एमालेका महासचिव हुँदा कुरा गरेको उहाँले  बताउनुभयो  ।

तर, माधव नेपालले गाँजाको प्रचार नगर्न भनेकाले आफूले प्रचार नगरेको उहाँको  भनाइ थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस विषयमा आवाज उठाउन आग्रह गर्दा आफ्नो पार्टीमा लाग्न प्रस्ताव गरेको उहाँले सुनाउनुभयो  ।

गाँजालाई सकारात्मक रूपले प्रयोग गरे देशको कायापलट हुने नेता स्थापितले बताउनुभयो  । आफ्नो पार्टीले गाँजालाई वैधानिकता दिन प्रयास गर्नेसमेत उहाँको भनाइ थियो ।

गाँजा वैधानिक अभियानका अभियन्ता राजीव काफ्लेले आफू गाँजालाई वैधानिकता दिलाउन निरन्तर लाग्ने बताउनुभयो । ‘गाँजा खाने वा ड्रग्स खानेलाई थुनेर राखे मात्र यसको नियन्त्रण हुन्छ भन्ने छैन । यसलाई खुला गरे मात्र यसको उपभोक्तामा कमी आउनेछ’, उहाँले भन्नुभयो  ।

अधिवक्ता साम्युन कार्कीले लागुऔषध नियन्त्रण ऐन, २०३३ मै रहेका विभिन्न दफा र प्रकरणमै गाँजालाई वैधानिकता दिनेबारे ठाउँ राखिएको बताउनुभयो ।

गाँजा उद्यमी र अभियन्ता इसा क्षेत्रीले देशमा गाँजा भन्नेबित्तिकै समाजले हेर्ने दृष्टिकोणमा फरक परिरहेको बताउनुभयो । ‘महिलाहरूलाई महिनावारी हुँदा गाँजाको तेलले पेटमा मालिस गर्‍यो भने केही हदसम्म पेट नदुख्ने, राति सुत्दा दूधमा गाँजालाई राखी खाए पेट दुखाइ कम हुने हाम्रो अभ्यास छ’, उहाँले भन्नुभयो  । गाँजाको निकै फाइदा रहेको र यसमा निकै प्रोटिनसमेत पाइने गरेको उहाँको  भनाइ रहेको छ । चिकित्सक सम्बोधन आचार्यले गाँजालाई वैधानिकता दिनुपर्ने र यसमा पाइने पद्धार्थले रोगबाट बचाउने बताउनुभयो  ।

गाँजा वैधानिक महाअभियानका अभियन्ता जोसेफ मदन कोइरालाले संसद्‌मासमेत गाँजाले वैधानिकता पाउनुपर्ने विधेयक आइसकेको र त्यसलाई चाँडोभन्दा चाँडो संसद्‌मा टेबुल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले  गाँजाले वैधानिकता नपाएसम्म आफूहरूले अभियान जारी राख्ने पनि बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button