इपिएल क्रिकेट : चितवन टाइगर्सले विराटनगर वारियर्सलाई हरायो

पाेखरा न्यूज । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्रास्ट्रिय खेल मैदानमा आइतबार बिहान भएको पहिलो खेलमा १५२ रनको लक्ष्य पाएको चितवनले १९ ओभर पाँच बलमा आठ विकेट गुमाएर एक सय ५५ रन बनाएको हो ।

चितवनको जितमा राजेश पुलामी मगरले सर्वाधिक ३८ रन बनाए । उनले ३५ बलमा दुई छक्का र एक चौका प्रहार गरे । भीम सार्कीले ३० रन बनाए । विस्फोटक ब्याटिङ गरेका भीमले ११ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । दिलीप नाथले २३ रन र करिम जन्नतले १९ रन जोडे । कप्तान सोमपाल कामीले नौ रन बनाए ।

विराटनगरका सिकन्दर राजाले दुई विकेट लिए । चार ओभर बलिङ गरेका राजाले ३४ रन खर्चिए । कप्तान करण केसीले दुई विकेट लिए । प्रतिस जिसी, अनिल खरेल, रायन पठानले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५१ रन बनायो । विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रन बनाए । जिम्बाबेका मध्यक्रमका ब्याटर राजाले ४७ बलमा सात छक्का र दुई चौका प्रहार गरे । अनिल शाहले ३२ रन बनाए । उनले ३१ बलमा एक छक्का र तीन चौका हिर्काए । सौरभ खनालले अविजित ३० रन बनाए । उनले १९ बलमा दुई छक्का र तीन चौका प्रहार गरे ।
विराटनगरका ओपनर आसिफ शेख र सुमित महर्जन डकआउट भएका थिए ।

टस जितेर बलिङ गर्ने निर्णय लिएको चितवनका लागि कप्तान सोमपाल कामी, कमल ऐरी, सागर ढकाल र करिम जन्नतले समान दुई–दुई विकेट लिए । शाहब आलमले एक विकेट हात पारे । जितसँगै चितवनले महत्त्वपूर्ण दुई अंक प्राप्त गर्यो ।

आज हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज आमने सामने हुने छन् । भैरहवा शरद भेषवाकर र पोखरा विनोद भण्डारीको कप्तानीमा छ ।
शनिबारदेखि सुरु भएको ईपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सलाई सात विकेटले पराजित गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button