पत्रकार प्रेमलाई ज्यान मार्ने धम्की र सञ्चारकर्मी ललितमाथि हातपात

पाेखरा न्यूज । समाचारको विषयलाई लिएर  कालिकोटस्थित गोरखापत्र संवाददाता प्रेमराज सिम्खडालाई ज्यान मार्ने धम्की दिइएको छ । त्यसैगरी रेडियो नयाँ कर्णाली एफएममा कार्यरत सञ्चारकर्मी ललित विष्टमाथि कार्यालय हाताभित्र हातपात भएको छ ।

सामाजिक सञ्जाल र अनलाइनमा समाचारको स्रोत खुलाइ प्रकाशित गरेको भन्दै कालिकोट जिल्लास्थित शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले सञ्चारकर्मी विष्टमाथि कार्यालय हाताभित्रै हातापात गरेकी थिइन ।

नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अनुसार शाहीका श्रीमान् बखत शाहीले गोरखापत्र संवाददाता सिम्खडालाई ज्यान मार्ने धम्की दिएका छन् ।

कुनै पनि बहानामा स्थानीय निकायमा आसिन रहेका जिम्मेवार व्यक्ति र उहाँका श्रीमान्बाट पत्रकारमाथि यस किसिमको हर्कत हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेसविरोधी काम भएकाे भन्दै महासंघले आपत्ति जनाएकाे छ ।

महासंघका केन्द्रीय महासचिव राेसन पुरीले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारका संवैधानिक स्वतन्त्रता र सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराउनु भएकाे छ । साथै पत्रकार तथा सञ्चारकर्मी पनि पत्रकार आचारसंहिताको पूर्ण पालनासहित सञ्चारकर्ममा जुट्न उहाँले आहृवान  गर्नुभएकाे छ ।

यसैगरी समाचार संकलनका क्रममा भाद्र १० गते आइतबार महासंघ काठमाडौं शाखाका सदस्य एवं नेपाली जनता अनलाइनका सम्पादक यज्ञ ढकालमाथि काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाकालचौरका खरिद प्रमुखसहितका कर्मचारीबाट भएको हातपातको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

महासंघले पत्रकारको संविधानप्रदत्त अधिकारमाथि भएको यो आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै हातपातमा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेकाे छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button