तनहुँमा अस्पताल : कहीँ जग्गा सम्याउँदै, कतै जग्गा नै पाइएन

पाेखरा न्यूज । गत वर्ष १५ मंसिरको दिन, तनहुँकाे शुक्लागण्डकी नगरपालिका–११ राईपुर बिसौनामा बाजागाजासहित हर्ष बढ्याइँ थियो । गाउँमा १५ शैय्याको नगरस्तरीय अस्पताल शिलान्यास हुने भएकाले खुसीको माहोल थियो ।

गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले तामझामका बीच अस्पतालको शिलान्यास गर्नुभयाे । सबै नगरवासीलाई पायक नपर्ने ठाउँमा एक्लौटी ढंगले अस्पताल शिलान्यास भएको भन्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी कोही कार्यक्रममा सहभागी भएनन् । वडाका जनप्रतिनिधि र कर्मचारी भने सहभागी भए ।

स्थानीयको निरन्तर दबाब, लामो समयको छलफलपछि शिलान्यास भएकै ठाउँमा १५ शैय्याको अस्पताल बनाउन २६ जेठमा बसेको शुक्लागण्डकीको नगर कार्यपालिका बैठकले निर्णय गरेको छ । तर शिलान्यास भएको उक्त अस्पताल खाल्डोमै सीमित छ ।

‘अस्पताल शिलान्यासको खाल्डो मात्र छ । खाल्डोमा पनि घाँसपात उम्रेर भरिएको छ । काम सुरु होला भनेर जग्गामा खेती लगाइएको छैन । अब विस्तारै काम होला’, निर्माण उपभोक्ता समितिका सचिव जीवन पोखरेलले भन्नुभयाे।

अस्पताल निर्माणका लागि टेन्डर आह्वान गर्नै बाँकी रहेको नगर उपप्रमुख सविता रसाइलीले बताउनु भयाे । संघीय सरकारले बजेट पठाएपछि टेन्डर आह्वान हुने उहाँको भनाइ छ ।

‘डीपीआर बनाएका छौँ । माथिबाट बजेट आएपछि काम सुरु हुन्छ’, उहाँले भन्नुभयाे। गत वर्ष संघबाट आएको एक करोड रुपैयाँमध्ये डीपीआर निर्माणमा १२ लाख रुपैयाँ मात्र खर्च भएको नगरपालिकाले जनाएको छ ।

शुक्लागण्डकीसँगै सोही दिन भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे र देवघाट गाउँपालिकाले पनि अस्पताल शिलान्यास गरेका हुन् । पालिकास्तरीय अस्पतालको काम कुनै पनि स्थानीय तहमा सन्तोषजनक भएको छैन ।

शिलान्यासको १० महिने अवधिमा जग्गा सम्याउने र जग राख्ने कामबाहेक अरु देखिँदैन । कुनै स्थानीय तहमा शिलान्यास त परको कुरो जग्गा व्यवस्थापनसमेत हुन नसकेको पाइन्छ । नगरपालिकाले १५ र गाउँपालिकाले १० शैय्याको अस्पताल शिलान्यास गरेका थिए ।

भिमाद नगरपालिकामा शिलान्यास गरिएकोे अस्पताल पनि खाल्डोबाट माथि उठ्न सकेको छैन । भिमाद नगरपालिका–६ भिमाद बजारको भिमाद प्राथमिक स्वास्थ्य चौकी परिसरमा शिलान्यास गरिएको अस्पतालको काम भएको पाइँदैन । यहाँ पनि शिलान्यास गरेको खाल्डोमा घाँसपातले भरिँदै छ ।

‘कोरोनाको कारणले काम हुन पाएन । केही दिनअघि निर्माण कम्पनी फिल्डमा आएको थियो । अब छिट्टै काम सुरु हुन्छ होला’, जनस्वास्थ्य अधिकृत मुनिराज बरालले भन्नुभयाे । ११ करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँमा ठेक्का लागेको अस्पतालको काम अगाडि बढेको छैन । पेश्की स्वरुप १० प्रतिशत रकम भुक्तानी गरिसकिएको छ ।

ऋषिङ गाउँपालिका–४ स्थित भिरकोट स्वास्थ्यचौकीमा शिलान्यास गरिएको अस्पतालको जग्गा सम्याउने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पोखरेलले बताउनु भयाे । पोखरेलका अनुसार ओम बुद्ध हरितारा जेभिले अस्पताल निर्माणको ठेक्का लिएको हो । सात करोड ७७ लाख रुपैयाँमा ठेक्का लगाइएकोमा ८० लाख रुपैयाँ भुक्तानी गरिएको पोखरेलले जानकारी दिनुभयाे ।

देवघाट गाउँपालिका–५ घिनाटारमा बन्ने अस्पतालको काम जग्गा सम्याएर सकिएको छ । गाउँपालिकाका सिनियर अहेब प्रदीपकुमार बुढाथोकीले दिएको जानकारीअनुसार अस्पतालको जग राख्ने काम सुरु भएको छ । सात करोड ६५ लाख रुपैयाँमा अस्पताल निर्माणको ठेक्का लागेको हो ।

म्याग्दे गाउँपालिका– ४ थर्पुमा बन्ने अस्पतालको पनि जगसमेत उठेको छैन । यहाँ पनि अस्पताल शिलान्यासकै खाल्डोमा सीमित छ । यतिबेला कामदार निर्माणस्थलमा आएर काम सुरु गरेको गाउँपालिकाका इञ्जिनियर शिवप्रसाद ढुंगानाले बताउनु भयाे ।

शिलान्यास नै ढिला भएको भानु नगरपालिकामा बन्ने १५ शैय्याको अस्पतालमको भने काम सुरु भएको छ । सुरुमा भानुमा कसले शिलान्यास गर्ने विवाद सिर्जना हुँदा १५ मंसिरमा शिलान्यास हुन सकेको थिएन ।

झण्डै साढे दुई महिनापछि भानु–५ पुरनडिहीमा बन्ने नगर अस्पतालको गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २६ माघमा शिलान्यास गर्नुभएकाे थिाे । ठेक्का सम्झौता भएर काम सुरु भएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले बताउनु भयाे । अस्पताल बन्ने ठाउँको जग्गा सम्याउने काम भइरहेको उहाँकाे भनाइ छ ।

‘हाम्रोमा शिलन्यास नै ढिला भएको हो । ठेक्का सम्झौताको प्रक्रिया नै लामो भएकाले काममा ढिलाइ भएको छ’, उहाँको दाबी छ । घिरिङ गाउँपालिकामा अझै जग्गाको व्यवस्थापन हुन सकेको छैन । घिरिङ–३ सुन्धारामा बन्ने १० शैय्याको अस्पताललाई आवश्यक नौ रोपनी जग्गा प्राप्तीको प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताउनु भयाे ।

आँबुखैरेनी गाउँपालिकामा जग्गा अभाव अस्पताल निर्माणमा तड्कारो बनेको छ । स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय भन्नुहुन्छ, ‘ऐलानी जग्गामा अस्पताल बनाउनलाई स्वास्थ्य मन्त्रालय प्रस्ताव पठाएको स्वीकृत भएन् । दर्तावाला जग्गा खोज्यो । अहिले जग्गा दर्ताको प्रक्रियामा छौँ ।’

बन्दीपुरमा पालिकास्तरीय अस्पताल बनाउन संघीय सरकारबाट बजेट नपरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताउनु भयाे । उहाँका अनुसार गाउँपालिकाले आफ्नै पहलमा बन्दीपुर अस्पताललाई ५० शैय्याको बनाउन लागेको छ । व्यासलाई पनि गत वर्ष संघीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले अस्पताल निर्माणका लागि बजेट नपठाएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button