पोखरा – मुग्लिन सडकखण्ड चार लेनकाे हुने

पूर्वी खण्डमा काम सुरु

पाेखरा न्यूज । गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडकखण्ड चार लेनको बन्दै छ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बन्न लागेको हो ।

८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिट सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको होे ।

हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले बताउनु भएकाे छ ।

सर्भे डिजाईन सकाएर फाइनल गर्ने चरणमा रहेको उहाँले बताउनुभयाे । ‘बर्खाको बेला हाम्रो सेड्युलमा नै थिएन कन्सट्रक्सनको काम । दशैँ अगाडि खाल्डाखुल्डी पुर्ने काम सुरु गर्छौँ । कन्सट्रक्सनको काम दशैँ पछाडि सुरु हुन्छ’, सुवेदीले भन्नुभयाे। ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा यो खण्डको ठेक्का सम्झौता भएको हो ।

मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आइपुगे । १३ भदौमा यनहुइका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिनुभयाे ।

२७ भदौमा निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरेको उहाँले बताउनु भयाे । कार्यक्षेत्र हस्तान्तरण भए पनि मर्मत सम्भारको कामका लागि भने सडक डिभिजन कार्यालयलाई अनुरोध गरेको खत्रीले बताउनु भयाे । निर्माण कम्पनीका प्रतिनिधि आएपनि कामदार भने आइनपुगेको उहाँको भनाइ छ ।

‘कामदार ल्याउनलाई भिसा प्रक्रियामा छन् । नेपाल आएका प्रतिनिधिले अस्थायी कार्यालय खडा गरेका छन् । कार्यालय बनाउनलाई डिजाइन गर्ने, निर्माणस्थलको निरक्षण, बिमा र पेस्की लिनका लागि कागजात तयार पार्ने काम प्रतिनिधिले गरिरहेका छन्’, खत्रीले भन्नुभएकाे छ । यो प्याकेजको सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाइएको हो ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो वस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ बनाउनुपर्ने हुन्छ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डका योजना प्रमुख अधिकारीले जानकारी दिनुभयाे‍ ।
३१ मध्ये दमौलीस्थित मादी नदी र पोखरास्थित सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको उहाँले बताउनु भयाे । अरु २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्का अन्तर्गत नै निर्माण हुने उहाँले जनाउनु भयाे । २९ मध्ये पनि सात पुल ठूला हुनेछन् ।

सडक चार लेन बनाउँदा दायाँवायाँका आठ हजार रुख काटिनेछन् । तनहुँ खण्डमा ६ हजार ७ सय ५० रुख काटिनेछ । यो खण्डमा रुख काट्नलाई वन विभागले स्वीकृति दिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनु भयाे ।

काफ्लेका अनुसार योजनाले रुख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा एक हजार दुई सय पचास रुख कटानका लागि विभागबाट स्वीकृत लिने प्रक्रियामा रहेको जनाइएको छ । ८० किलोमिटरमध्ये हालसम्म तनहुँको गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ ।

आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत गृह रहेको छ । जलविद्युत गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको छ ।

चालु आर्थिक वर्षमा संघीय सरकारले मुग्लिन पोखरा चार लेन सडक योजनाका लागि चार अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गत आर्थिक बर्षमा दुई अर्ब नौ करोड ५४ लाख चार हजार रुपैयाँ विनियोजन भएको थियो । चालुतर्फ विनियोजन भएको ४२ लाख सात हजार रुपैयाँमध्ये १८ लाख २६ हजार ६ सय ८५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जानकारी दिएको छ ।

कार्यालयका अनुसार पूँजीगततर्फ दुई अर्ब नौ करोड ११ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ३६ करोड ७५ लाख ६९ हजार ८ सय ७३ रुपैयाँ मात्र खर्च गर्न सफल भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button